अर्थमन्त्रीद्वारा थप सहयोगका लागि विश्व बैंकका उपाध्यक्षलाई आग्रह

डिसी नेपाल
५ भदौ २०७७ १९:४०

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रम निरन्तरताका लागि थप सहयोगको गर्न विश्व बैकलाई अनुरोध गरेका छन्।

शुक्रबार बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँग भएको भिडियो कन्फरेन्समा अर्थमन्त्री खतिवडाले स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले थप सहयोगको लागि आग्रह गरेका हुन्। ‘नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको छ’ उनले भने, ‘त्यसका लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएकाले थप सहयोगको अपेक्षा गरेका छौं।’

अर्थमन्त्रीले कोरोनाको कारण नेपालको पर्यटन, उत्पादन मूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले आर्थिक वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको दावी गरे।

प्रतिकूलताकावावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अरब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको उल्लेख गरे।

वित्तीय दबाबकाबावजुद नेपालले विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइ.एफ.सी.) को शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैंक बीच समूहबीच थप मजबुत बनाएको खतिवडाले दावी गरे। बैंकसँग हालै संझौता भएको रणनैतिक सडक आयोजना हालसम्मकै ठूलो एकल आयोजना रहेको र गतबर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना संझौता भई करिव १ अर्व डलर थप प्रतिवद्धता प्राप्त भएको उल्लेख गरे।

बैंकका उपाध्यक्ष सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्वनिर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिए। उनले आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवाव्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विभिन्नदाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको जानकारी दिए। नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था पनि राम्रो रहेकोले कोभिड १९ को प्रभाव कम हुने वित्तिकै नेपालको अर्थतन्त्र आफ्नो लयमा फर्कने विश्वास व्यक्त गरे।

छलफलमा विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोल कोभा लगायत विश्व बैंकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *