सात समुद्रपारिबाट जन्मभूमिलाई सम्झँदा

डिसी नेपाल
६ भदौ २०७७ ८:१५

जन्मभूमि सबैलाई प्यारो लाग्छ। जन्मभूमि नै त जीवन हो। नौ महिनाको गर्भबासको अति कठिन समय पार गरी आमाको कोखबाट धर्तीमाताका साथ आमाका काखमा खुला हावामा सास फेर्न पाउँदाको क्षणको सम्झना नभए पनि जन्म समयको त्यो अभुतपूर्ण क्षणले हाम्रो जीवनमा गहिरो प्रभाव पारेको हुन्छ।

हेर्दा देख्दा घुम्दा संसाररुपी भूगोल ठूलो रहेछ, सुन्दर पनि रहेछ तर जतिसुकै ठूलो भएपनि जतिसुकै सुन्दर भएपनि न आठराई जत्रो विशाल छ न त सुन्दर नै छ। मलाइ त सिमराहाघाट देखि भुजे अक्करेको लेकसम्म र कोया खोला र तमोर नदीबीचको भूगोल नै विशाल र सुन्दर लाग्छ।

के मात्रै छैन मेरो जन्म भूमिमा? तर खोज्नु चैँ पर्छ। के फुल्दैन त्यहा“, के फल्दैन त्यहाँ तर फुलाउनु र फलाउनु चैँ पर्छ। खानी छ खन्न सक्नु पर्छ। पानी छ बगाउन जान्नु पर्दछ। धर्म संस्कृति, संस्कार, मु्न्धुम, रिती रिवाज, परम्परा, मूल्य मान्यता, भाइचारा, सद्भाव, सहिष्णुता, साहास, धैर्य, सौर्य के छैन सबै छ हाम्रो जन्म भूमिमा। अनेकताको एकता हो त्यो। अनगिन्ति बिबिधताको संगम हो र लाग्छ हामीले चिन्ह सकेका छैनौं अझै त्यो भूमिलाई।

कुरा गरौं मेरो जन्मस्थान आठराईको। १००० फिटदेखि २०००० फिÞटसम्मको उचाइ। खयरको रुखदेखि चाँपको रुखसम्मको जंगल हिमालमा डाँफेको नाँच तमोर गड्तिरमा मयुरको नाँच। सानथाक्राको रुख कटहर, इवाको सुन्तला र बडहर, होडाको आँट, ह्वाकु र थाक्लेको आँप, चुहाण्डाँडा र हाङपाङको सुन्तला कागती, जल्दिविर, नस्पाती,फडिर र कालीज्यामिर।

हिलेको मालभोग केरा, मसार, होडा, आहाले, थाक्ले, सिम्ले, ह्वाकु, पाक्तिन, फम्बु, हाङपाङ, नेस्सुमका हजारौँ हजार मुरी धान फल्ने खेत ब्याँसीहरू। यस्तै हजारौँ मुरी मकैलगायत अन्य थुप्रै प्रकारका अन्न फल्ने टाहार बारीहरु। ह्वाकु, सिस्ने, साम्थाङ र खाम्लालुङका अलैँची फल्ने खोल्सा खाल्सीहरु। लालुपाते, लाली गुराँस र सुनाखरी गुलाव, इन्द्र कमल, निलकमलजस्ता फूलहरु फुल्ने फुलबारी र जंगलहरु।

तोरी फुलेको समयमा पहेँलो मधेश देखिने याकुम्बागढी र हात्ती खावा जंगलको चिसापानीको डाँडा। सँधै हेरिरहुँ लाग्ने कुम्बकर्ण हिमालको मनमोहक दृश्य। पर्यटकको मनै प्रफुल्ल हुन्छ।

दुईवटा कलेज, २० वटा हाइस्कुल, प्रत्येक गाउँमा निमावि वा प्रावि विद्यालयहरु। १०० प्रतिशत साक्षर आठराई। गाउँगाउँमा मोटर बाटो मध्य पहाडी राजमार्गले छिचोलेको। बिजुलीको केन्द्रीय लाइन जोडिदैँ गएको। इन्टरनेटको उपलब्धता। थोरबहुत खाने पानीको ब्यबस्था हुँदै गएको। हवाई मैदान निर्माण प्रकृया शुरु भएको। बजारबाट शहर उन्मुख हुँदै गएको। हाम्रो आठराई राम्रो आठराई प्यारो आठराई।

आठराईलाई मायाँ गर्ने हामीहरु जहाँजहाँ भएपनि मायाँको एउटा मन्च गठन गरौँ र आठराईलाई कसरी धेरै भन्दा धेरै मायाँ गर्न सकिन्छ छलफल बिचार बिमर्श गरौँ। यसकालागि आठराईमा स्थायी रुपमा बसोबास गरिरहनु भएका विकास प्रेमी युवाहरुले ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गर्दै मन्चको नेतृत्व लिइदिनु भयो भने आठराईलाई साँच्चैको आठराई बनाउन लामो समय लाग्ने छैन।

प्यारो जन्मभूमिबाट टाढा सात समुन्द्रपारि रहनु पर्दाको पीडा निकै दर्दनाक त हुन्छ नै, अझ धेरै पीडा चाहिँ सम्झनाले गराउँदो रहेछ। घण्टेको जंगलको काफल, फाक्चु वा उकालोको ऐँसेलु, हात्तीखावा जंगलको कट्टुस, मल्लिँडो र दार्मे मनभरी सम्झनै सम्झनाका बग्रेल्ती तरेलीहरु।

मनले भन्छ जाउँ फर्कौं केही गरौँ। धनले पनि भन्छ जाउँजाउँ जो सकेको केही न केही गरौँ तर तनले भन्छ गाउँ छोडेको पचपन्न वर्ष भयो। यो शरीरले पचहत्तर बर्षको हिँउद ओढिसक्यो, खोइ अब यो उमेरमा गाउँगएर कता ढिकी जाँतो नाम्लो, कता दाम्लो कता कटेरो कता टाट्नो। कता हाँड़ी कता गाग्री।

गाउँले बिर्सिसकेको। आफ्नै गाउँले को हौ कसका छोरा नाति हौ भनी परिचय माग्ने। आफ्नै घर आँगनले तिमी को हौ? कहाँबाट के कति कामले आयौ? के आज एक रात बास माग्न आएका हौ? भनेर सोध्यो भने जवाफ के दिने? यस्तै यस्तै सम्झनाले सताइरहेछ। खाऊँ कान्छा बाको अनुहार नखाऊँ दिन भरिको सिकार (नजाऊँ सम्झना र मायाँले पिरोलिएको जाऊँ परिस्थिति र शरीरले थिचिएको) ।

मिचिरिङ साप्तेलुङमा ससुराली घर थियो सासू ससुरा उहिल्यै बिते। सालो बाबु नोकरीको खोजीमा भारत आसाम गएको उतै हराएको चालीस बर्ष भयो। जेठानले घरबारी खेत बेचेर भाग्य खोज्न मधेस झरे। हाङपाङमा आमाको मावली थियो। धनी थिए नरध्वज प्रसाईँ। च्यादरले छाएका घरहरु थिए। गाउँको नाम नै च्यादर गाउँ थियो। सानो छँदा दशैँमा टीका लगाउन आमासँग गएको थिएँ। अहिले खण्डहर भित्र त्यहाँ प्रसाईँंको ‘प’ खोज्नु पर्छ।

२००८ सालमा हामीलाई अ आ, क ख पढाउने गुरु धरणीधर न्यौपानेको घर चाँगे, तेम्मे गएर फर्कंदा चित्रेमा काकीको माइती घर (मावली) मा हजुर आमाले खान दिनु भएको बासनादार घिउको स्वाद। ह्वाकु आफ्नै मावली। ह्वाकुकी लली भट्टराईनी, नियानिसापका लागि आठराई भरि मात्र नभएर ताप्लेजुङ, पाँचथर, धन्कुटा, तेह्रथुम चैनपुरसम्म नाम चलेकी महिला। अहिले त्यहाँ भट्टराई ‘भ’ खोजि मर्दा पाँइदैन।

चुहाण्डाँडाको त खोई के कुरा गरौं। हामी आठराईका सिटौलाहरुका ६ पुस्तासम्म जन्मेको घर जहाँ प्रत्येक पुस्ताका परिवारको संख्या २०—२५ देखि ३५—४० सम्म हुने गथ्र्याे। एक घरबाट १०० घर भएका सिटौलाहरु अहिले १५ घरमा पनि छन् कि छैनन्। चुहाण्डाँडा, बोखिम गैह्रीआदाबाटे, फलाँटे बेतिनी, आहाले, फाक्चुवा द्यौराली, मुलपानी, तेमेरुङ, मुसेगैरा, हेलुङ, सिरवानी, डाँडागाउँ, सक्रान्ति, ह्वाकु, आहाले, विजौरे, निवारे, फुलवारी निघुरादिन छिन्ताङ, खाम्लालुङ, गाउँहरुमा सिटौलाहरुको बस्ती थियो।

वि.सं १९८७ सालमा ब्रम्हलाल सिटौलाको नेतृत्वमा निजी खर्चमा आठराई चुहाण्डाँडा, बोखिम र पाँचथर भारपाको एकचेपा भन्ने ठाउँमा तमोर नदीमाथि फलामे झोलुङ्गे पुल बनाइएको हुँदा सिटौलाहरुले गरेको सो समाज सेवाको कार्यको कÞदर गर्दै राणा सरकारले गंगाप्रसाद सिटौलाले माग गरे बमोजिम आठराई मुलपानीमा एउटा भाषा पाठशाला खोल्ने इजाजत दिएका हुँदा वि.सं १९९१ सालमा भाषा पाठशाला स्थापना गरिएछ।

आज आठराईको शैक्षिक अवस्थाले यति उचाइ लिन सक्नुमा त्यही पाठशालाको अहँ भूमिका रहन गएको छ। लगभग नव्बे वर्षसम्म ‘सिटौला’ को नाम बोकेर बटुवाहरुलाई तमोर नदीवारपार गराइरहेको ‘सिटौला पुल’ केही वर्ष पहिले मरमत सम्भार गरिएको थियो तर अब सिटौला परिवारबाट सो पुल पुनजिर्णोद्धार हुने सम्भावना भने कमै देखिन्छ।

कुनै समयमा आठराईका शारदा हाइ स्कुल चुहण्डाँडामा पच्चीस तीस जना र त्रिमोहन हाइस्कुल मुलपानीमा पनि त्यति नै सँख्यामा सिटौलाका छोरा छोरीहरु एकसाथ अध्ययन गर्थे। तर आज ती दुवै स्कुलमा सायदै कुनै सिटौलाले अध्ययन गर्दा होलान! यस्तै पचासौँ सिटौलाहरुले आठराईको कलेजमा, प्राय सवै हाइस्कुलमा र अन्य थुप्रै निमावि साथै प्राविहरुमा साथै ताप्लेजुङ र पाँचथर जिल्लाका माविहरुमा समेत प्रिन्सिपल, प्रधानअध्यापक, शिक्षक भएर बर्षौँसम्म अध्यापन जस्तो पुनीत कार्य गरेका थिए। तर आज सो सबै एकादेशको दन्ते कथा जस्तो भएको छ।

सिटौलाहरुको मात्र नभएर अन्य थरहरु जस्तै उप्रेती, थपलिया मैनाली, ओली, प्रसाईं, चुडाल, खरेल, गौतम, भण्डारी, सेढाईं, बिमली, भट्टराई, सिवाकोटी, बारकोटी, पाण्डे, लामिछाने, न्यौपाने, कन्दङ्गवा, पाहिम, ईस्वो, फोम्वो, चोङ्वाङ, खापुङ, आचार्य, निरौला, दाहाल, डाँगी, बाँस्कोटा, पराजुली आदिको अवस्था पनि उस्तै उस्तै नै छ। एक प्रकारले भन्ने हो भने २००० साल अघि जन्मेको मानिस आठराईमा बत्ति बालेर खोज्नु पर्ने अबस्था छ।

आठराईमा ७० बर्ष उमेर पुगेको मानिसको तथ्यांक लिँदा संख्या ५०० माथि पुग्दैन होला। हुन त काम गर्न नसक्ने मानिसहरु गाउँ घरमा नहुँदा समाजले केही हल्का त महसुस गर्ला नै तर युवा पिँढीपनि पलायन भएकाले गाउँको निर्माण कार्यमा जनशक्ति कम हुन गई बिकासले गति लिन नसकिरहेको स्थिति भएको हामी सबैले महसुस गरिरहेका नै छौँ। गाउँगाउँमा सडक निर्माणदेखि अन्य विभिन्न निर्माण कार्यका लागि आवश्यक पर्ने श्रमिक जनशक्ति बाहिरबाट ल्याउनु परिरहेको तर गाउँकै जनशक्ति भने खाडी मुलुकमा गइरहेको तितो यथार्त कहिले सम्म?

आठराईलाई मायाँ गर्ने हामीहरु जहाँजहाँ भएपनि मायाँको एउटा मन्च गठन गरौँ र आठराईलाई कसरी धेरै भन्दा धेरै मायाँ गर्न सकिन्छ छलफल बिचार बिमर्श गरौँ। यसकालागि आठराईमा स्थायी रुपमा बसोबास गरिरहनु भएका विकास प्रेमी युवाहरुले ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गर्दै मन्चको नेतृत्व लिइदिनु भयो भने आठराईलाई साँच्चैको आठराई बनाउन लामो समय लाग्ने छैन। कुनै साथी भाइले केही गर्ने उद्देश्य राखी साथ खोजिरहनु भएको छ भने एक आपसमा सम्पर्क गरौं। जुट्ने प्रयास गरौँ, केही गर्न सकिन्छ कि त! ‘संगठन नै शक्ति हो’ ।अस्तु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *