अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक माक्सʾ अभियान
गण्डकी । कोभिड–१९ को सङ्क्रमण बढीरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका ʿएक व्यक्ति, एक माक्सʾ अभियान सहित जनताको घरदैलोमा पुगेको छ। गाउँपालिकालाई कोरोना भाइरसको सम्भाव्य जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक माक्स अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।
उनका अनुसार गाउँपालिका भित्र हालसम्म ३५ हजार माक्स वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ । भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उनले बताए। स्वास्थ्य सजगता र हात धुन सर्वसाधारणलाई अभिप्रेरित गर्न सात हजार ३० वटा साबुन वितरण गरिएको छ।
अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ। अभियान प्रभावकारी बनेको उल्लेख गर्दै अध्यक्ष कुँवरले सर्वसाधारणको भाइरसप्रतिको सजगता बढेको बताए।रासस
Facebook Comment