‘दुनियाँ सकिएको झैं लाग्यो तर, हौसला राखेँ’

डिसी नेपाल
१० भदौ २०७७ ९:२४

नगरविकास कोषको वैठकको लागि काठमाडौं गएको थिएँ। वैठकमा बस्दैमा मलाइ ज्वारो आएको अनुभव भयो। चेकअपका लागि मेडिसिटी पुगेँ। उहाँहरुलाई शंका लाग्यो र पीसीआर परीक्षण गराउनु भयो। पोजेटिभ देखियो।

आइसोलेसमा बस्नु पर्ने भयो। बसेँ पनि। त्यहाँ मलाइ घोप्टो पारेर सुताउँथे ताकि अक्सिजनको सप्लाई राम्रो होस् भनेर। लक्षण देखिएर कोरोना पोजेटिभ भएका कारण उहाँहरुलाई पनि अलि बढी तनाब थियो। मलाइ हरसम्भव निको पार्ने कोशिसमा सबै डाक्टरहरु लाग्नु भयो। करिव १२ दिनसम्म सघन कक्ष (आइसियू)मा उपचार गरेपछि म अर्को आइसोलेसनमा गएँ।

पहिला उपचार गर्दा त मलाइ आफै सन्चो हुनेमा मात्र ध्यान गयो। जव अर्को ठाउँको आइसोलेसनमा पुगेपछि अन्यतर्फ सोच्न थालेँ। मेरो घरको सबैलाई कोरोना पोजेटिभ भएको थियो। बाबालाई काठमाडौं मै भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उहाँको त अहिले पनि उपचार भइरहेको छ। आमा, श्रीमती, छोरा, छोरी र घरमा काम गर्ने सबैलाई कोरोना पोजेटिभ भयो भन्ने सुन्दा त आफैलाई थाम्न नसकिने अवस्था थियो। आफूँलाई जन्म दिने र आफैँले जन्म दिएकाहरुलाई पोजेटिभ भयो भन्ने सुन्दा कसको मन होला नरुने। त्यतिबेला त लाग्थ्यो अब मेरो दुनियाँ सकियो। तै पनि हौसला कायम राखेँ।

कोरोनाबाट डराउनु पर्ने अवस्था म त देख्दिन। आत्मबल उच्च राखेको खण्डमा यो रोग निको हुन्छ। हामीले रोगीलाई कसरी खुसी दिने, कसरी उत्प्रेरण दिने भन्नेतर्फ सबैले सोच्न जरुरी छ। अलि दीर्घ रोगीहरुलाई भने अलिकति समस्या आउन सक्छ। त्यो विषयमा डाक्टरहरुले सोच्नु हुन्छ। तर, विषेशतः हामीले सबैलाई केही हैन भनेर आत्मबल दिइरहनु पर्छ।

एका तर्फ परिवारका सदस्यहरुलाई संक्रमण भयो। अर्को तर्फ महानगरपालिकामा पनि संक्रमण दिन प्रतिदिन बढ्दै गएको थियो। धेरैले कोरोनका कारण ज्यान गुमाए भन्ने पनि सुन्दा साह्रै तनाव भयो। आफूँमा संक्रमण छ भन्ने पनि बिर्सिए। जसरी पनि म वीरगञ्ज जानु पर्छ। मैले मेरो नगरबासीलाई हौसला प्रदान गर्नुपर्छ जस्तो लाग्न थाल्यो। यसरी मानसिक तनाव हुँदा शरीरमा रोग प्रति रोधात्मक शक्तिहीन हुँदै जाने रहेछ। मलाइ अझै गाह्रो हुन थाल्यो।

अर्को मलाइ ठूलो पीडा परेको कुरा भनेको आफन्त, साथीभाइहरुले होच्याउने काम गरे। कोरोना लागेको भन्दै पढेलेखेका मान्छेले पनि त्यसरी होच्याउँदा पीडा बढ्दो रहेछ। धेरैले आत्महत्या गरेको कुरा सुन्न पाएको थिएँ।

त्यतिबेला अनुभव गरेँ, यत्रो जिम्मेवारीमा बसेको, सबैको माया पाइरहेको, मेयर जस्तो मान्छेको त आत्मबल कमजोर भएर गयो। मलाइ त कस्तो कस्तो लाग्न थाल्यो भने, जो केही छैन उनीहरुलाई समाजका व्यक्तिहरुले यस्तो व्यवहार गर्दा आत्महत्या गर्नुको विकल्प पनि नहुँने देखियो।

कोरोना लाग्दैमा अपराध गरेको हुँदैन। रोग हो जसलाई पनि लाग्न सक्छ, लाग्छ। आज म कोरोना संक्रमित भएँ। भोलि तपाईँको, अर्काको पालो न आउला भन्न सकिँदैन। आज मलाइ संक्रमण हुँदा तपाईँले होच्याउने भोलि तपाईँलाई हुँदा र अरुले होच्याउँदा कस्तो होला? त्यसैले समाजमा यस्तो अफ्ठेरोमा परेकालाई आत्मबल दिउँ, होच्याउने काम नगरौँ। तपाईँ, म हामी सबैले मिलेर कोरोनाका विरुद्ध लड्नु छ।

कोरोनाबाट डराउनु पर्ने अवस्था म त देख्दिन। आत्मबल उच्च राखेको खण्डमा यो रोग निको हुन्छ। हामीले रोगीलाई कसरी खुसी दिने, कसरी उत्प्रेरण दिने भन्नेतर्फ सबैले सोच्न जरुरी छ। अलि दीर्घ रोगीहरुलाई भने अलिकति समस्या आउन सक्छ। त्यो विषयमा डाक्टरहरुले सोच्नु हुन्छ। तर, विषेशतः हामीले सबैलाई केही हैन भनेर आत्मबल दिइरहनु पर्छ।

वातावरणले पनि धेरै प्रभाव पार्छ भन्ने मैले भोगेँ। म काठमाडौंमा बस्दासम्म पनि पोजेटिभ नै थिँए। १४ दिनपछि कोरोना शरीरमा भएपछि अर्कोलाई सार्न नसक्ने भएकाले म घर फर्के विरगञ्ज पुगेको ५ दिनमै मलाई नेगेटिभ आयो। मैले यहाँ राम्रो वातावरण पाएँ।

आहार पानीमा ख्याल भयो। खुल्ला ठाउँ पाएँ। प्राकृतिक अक्सिजनको मात्रा प्राप्त पाएँ। बन्द कोठामा जति बस्यो त्यति धेरै यो रोगले च्याप्दो रहेछ जस्तो लाग्छ। म पुरानो सुगरको रोगी भए पनि वातावरणले गर्दा निको भएँ।

घरमै गुर्जोको झोल, अर्शोगन्ध, च्यवनप्रास खाएर अरुको सम्पर्कमा नआउने गरी बस्ने हो भने पनि निको हुन्छ यो रोग। अहिलेसम्म औषधि बनेको छैन सबैलाइ थाहै छ।

अस्पतालमा गएर पनि के गर्नु डाक्टरहरुको सम्पर्कमा भएर घरमै बस्दा अझै चाँडो रोग निको हुने मैले देखेँ। जसरी पनि हाम्रो शरीरमा भएको रोगप्रतिरोधात्मक क्षमताको विकास गर्ने हो। गलामा भएको इन्फेक्सन्, ज्वरोको औषधि, भिटामिन आदिको औषधि पनि खानु पर्छ जस्तो लाग्छ।

सबैलाई मेरो अनुरोध छ, कृपया अनावश्यक काममा बाहिर नजाऔँ। भीडभाड गर्दै नगरौं। साबुन पानीले बेलाबेलामा हात धोऔँ। सेनिटाइजर प्रयोग गरौँ। मास्क नछुटाउँ। मनको दुरी कायम नगरौं। कायम सामाजिक दुरी कायम गरौँ।

एक अर्कालाई हौसला प्रदान गरौँ। कोरोना विरुद्धको यो लडाईँ मानव जातिकै साझा भएकाले हरेकले आफ्नो ठाउँबाट सहयोग गरेमात्र विजय प्राप्त गर्न सकिन्छ झैं लाग्छ।

मेयर सरावगीसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *