सेज प्राधिकरणको प्रमुखको जिम्मेवारी रिज्याललाई
काठमाडौं। सरकारले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको जिम्मेवारी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मको लागि रिज्याललाई प्रमखको काम गर्ने गरी जिम्मेवारी तोकेको हो।
रिज्याल मन्त्रालयमा औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख रहेका छन्। सेजको कार्यकारी निर्देशकका लागि मन्त्रालयले २०७६ असोज ३० गते पहिलो पटक गोरखापत्रमा कार्यकारी निर्देशक पदको लागि आवेदन माग गरेको थियो।
उक्त समयमा पर्याप्त आवेदन नपरेपछि पुनः मंसिर ४ गते सोही पदको लागि आवेदन माग गरेको थियो। उक्त समयमा रघुराज काफ्ले, कुमार दाहाल, योगेन्द्र गौचन, जनार्दन गुरागाई, डा. चण्डिकाप्रसाद भट्ट र प्रदीपकुमार मैनालीले आवेदन दिनेका छन्।
कार्यकारी निर्देशन छनोटका लागि मन्त्रालयले भदौ ६ गते लिखित परीक्षा तोकेको थियो। तर कोभिड–१९ का कारण काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि परिक्षा बुधबार १ बजे तोकिएको छ। तर आज मात्रै निषेधाज्ञा एक साता थप गरिएकाले परीक्षा सर्ने निश्चित छ।
निषेधाज्ञाका कारण कार्यकारी निर्देशक छनोट ढिला हुने भएपछि सरकारले मन्त्रालयका सहसचिवलाई जिम्मेवारी तोकेको हो।
सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको कार्यकाल सकिएपछि गत वर्ष मन्त्रिपरिषद्बाटै उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई सेजको कार्यकारी निर्देशकका रूपमा कामकाज गर्नेगरी जिम्मेवारी दिएको थियो। पौडेलको सरुवा भएपछि नयाँ सहसचिवलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।
Facebook Comment