‘भारतले काँग्रेसविरुद्ध लागेर पनि केही पाउँदैन र नेपाललाई जिस्क्याएर पनि केही पाउँदैन’

डिसी नेपाल
११ भदौ २०७७ ०:४७

काठमाडौं। नेपाली काँग्रेसको तरुण विभागका प्रमुख तथा केन्द्रीय सदस्य शंकर भण्डारीले भारतले काँग्रेसविरुद्ध लागेर पनि केही नपाउने र नेपाललाई जिस्क्याएर पनि केही नपाउने बताएका छन्। उनले भारतले काँग्रेसलाई पटक पटक धोका दिएको पनि बताए।

डिसी नेपालसँग कुरा गर्दै नेता भण्डारीले भने, ‘भारतको भूमिकाले गर्दा कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमालाई विवादास्पद बनाइएको छ। यो नेपालकै भूमि हो।’ नक्सा जारीको विषयमा आफ्नो पार्टीमा पनि सही ढंगले छलफल नभएको उनको भनाई छ। उनले भने, ‘हाम्रो पार्टीमा पनि मेरो कुरा छ, जबसम्म भारतले अतिक्रमण गरेको भूमि र्फिता आउँदैन त्यो बेलासम्म हामी कसरी राष्ट्रवादी भयौं? केपी जीले नक्सा जारी गरिदिनु भयो, हाम्रो पार्टीमा उफ्रि उफ्रि समर्थन भयो, पार्टीको केन्द्रीय समिति बैठक किन राखेको? तरुन्तै समर्थन गर्नुपर्छ भन्ने कुरा भयो। केका लागि उफ्रिनु भयो, कसका लागि उफ्रिनु भयो बुझ्न सकिन मैले। जबसम्म भारतले सो भूमि नेपालकै हो भन्ने स्वीकार गर्दैन, त्यो बेलासम्म त विवादित नै रहने भयो। र भारत सच्चिनुपर्छ।’

नेता भण्डारीले अगाडि भने, ‘भारतले सँधै काँग्रेसप्रति धोकेवाजको काम गर्यो, स्पष्ट छ एकातिर यहाँ कम्युनिष्टमार्फत काँग्रेसबारे भ्रम फिजाइयो, यहाँ कम्युनिष्ट र पञ्चहरुको काँग्रेसप्रति एउटै धारणा थियो, विदेशी दलाल भन्थे। साँठगाँठ हेर्नुहोस्। किनभने त्यतिबेला काँग्रेससँग शक्ति थियो। अहिले शक्ति क्षण भयो किनभने कम्युनिष्टको पछाडी लागेर। अहिलेको नेतृत्वले पश्चिमा र विदेशीको कुरा सुनेर यो अवस्थामा पुगेको हो। जबसम्म काँग्रेस नेताहरुको नेतृत्वमा नेपाल थियो, त्यतिबेला स्वाभिमानी थियौं।’


काँग्रेसँग शक्ति हुँदा कम्युनिष्ट पनि काँग्रेस विरोधी, राजावादी पनि काँग्रेस विरोधी थिए भन्दै नेता भण्डारीले भारतले पनि काँग्रेसविरुद्ध खेलेको बताए। उनले भने, ‘भारतले राजा र पञ्चायतलाई उचाल्थ्यो। तर अहिले भारतले महशुस गर्नेबेला आएको छ। भारतले काँग्रेसका विरुद्ध लागेर केही पाउँदैन र नेपाललाई जिस्क्यार पनि केही पाउँदैन। भारतले नेपालको सार्वभौम सत्ता र स्वाभिमानको सम्मान गर्न जानेन भने भारतलाई कहिल्यै हित हुँदैन। भारतको स्वतन्त्रतामा पनि हाम्रो लगानी छ। भारतले जति पनि नेपाली मूमि मिचेको छ, त्यो सबै फिर्ता गर्नुपर्छ। भारतले नेपाललाई हेप्ने र जे पनि गर्न सकिन्छ भन्ने सोच्यो भने त्यो उसकै लागि पनि हित हुँदैन।’

नेता भण्डारीले वर्तमान सरकारले देशमा झन भ्रदगोल अवस्था निम्त्याएको बताए। उनले भने, ‘भगवान रामको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी अभिव्यक्तिले सम्बन्धलाई बिगार्ने नै काम गर्छ। देशको प्रधानमन्त्रीले संसदमा बोल्दा भारतको राष्ट्रिय चिन्हको विषयमा्, पहिचानका विषयमा कस्तो बोल्ने भन्ने हुन्छ। जस्तो उहाँले बोल्नु भएको छ, त्यो पनि संसदमा यस्तो दुनियामा कहिँ पनि छैन।’

उनले कम्युनिष्टहरुले देश सञ्चालन गर्न नसक्नेसमेत आरोप लगाए। उनले भने, ‘कम्युनिष्ट भन्ने समूह पार्टी जति पनि छन् यिनले देश चलाउँदैनन्। यिनले त देशमा भद्रगोल मच्चाउने, आतंक फैलाउने, बाह्यदेशसँग पनि सम्बन्ध बिगार्ने र देशलाई अस्थिर बनाउने काम गर्छन्। यो कुरा जनतालाई बुझाउन नसक्नु हाम्रो गल्ति हो।
उनले काँग्रेसले कम्युनिष्टसँग सहकार्य गर्नु पनि गल्ती थियो भने। तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कम्युनिष्टसँग सहकार्य गरेर गल्ति गरेको बताए। उनले काँग्रेसलाई सँधै बाह्यशक्तिले पाखा लगाएकोसमेत सुनाए। उनले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई पार्टीबाट टाढा बनाउन र कोइरालालाई राष्ट्रपति बन्न नदिन बाह्यशक्तिले खेलेको उनको विश्लेषण छ।

काँग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै नेता भण्डारीले काँग्रेस अहिले विचारबिहीन भएकोसमेत बताए। काँग्रेसले बीपीको विचारसमेत छोडेको उनले बताए। उनले काँग्रेसको अवको विचार सनातन हिन्दु राष्ट्र र कम्युनिष्ट विरोधी हुनुपर्ने बताए। उनले सनातन धर्मको जर्गेना नै काँग्रेसको विचार बन्नुपर्ने बताए। उनले भने, सनातन धर्म विरोधी पश्चिमाहरुले विभिन्न दस्तावेज बनाएर पृथ्र्वीनारायण शाहलाई उल्टो दोषी बनाए। धर्मका विषयमा षडयन्त्र भएको छ। राष्ट्रिय झण्डा जल्न थाले। जातजातीबीच द्वन्द्व हुन थाल्यो। भाषाका विषयमा, हिमाल, पहाड र तराईबीच द्वन्द्व हुन थालेको छ। यस्तो कुराले राष्ट्रियता बलियो हुँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *