नेपाल भित्रिन थाल्यो युरिया मल, साल्ट ट्रेडिङका डिपोमार्फत कृषकलाई वितरण गरिने

डिसी नेपाल
११ भदौ २०७७ ९:०३

काठमाडौं। धान गोड्ने बेलामा प्रयोग हुने रासायनिक युरिया मल नेपाल भित्रिन सुरु गरेको छ। हालसम्म तीन हजार मेट्रिक टन मल नेपाल भित्रिइसकेको कृषि तथा पशुपंक्ष विकास मन्त्रालयले जनाएको छ। मंगलबारदेखि युरिया मल नेपाल भित्रिन थालेको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए।

‘बीचको कोविडका कारण रोकिएको रासायनिक मल नेपाल भित्रिन थालेको छ,’ डा. केसीले डिसी नेपालसँग भने, ‘हालसम्म तीन हजार मेट्रिकटन मल नेपाल भित्रिइसकेको छ।’

उनका अनुसार वीरगञ्जमा २५ सय मेट्रिकटन र वीरनगरमा पाँच सय मेट्रिकटन मल भित्रिएको छ। हाल कोलकाता बंदरगाहमा ३२ हजार मेट्रिकटन मल रहेको उनले बताए। त्यो सबै मल विस्तारै नेपाल भित्रिने उनको भनाइ छ।

अहिले मुलुकभर रासायनिक मलको अभाव देखिएको छ। किसानको माग बमोजिम कृषि सामाग्री केन्द्रले रासायनिक मल उपलब्ध गराउन सकेको छैन।

जिल्लामा कृषि सामाग्री कम्पनी लिमिटेडले मल प्रयाप्तमात्रामा नभएको उल्लेख गर्दै किसानको माग बमोजिम मल उपलब्ध गराउन नसकिएको जनाएको छ। अहिले अनुदानको मल अभाव भएपछि किसानले निजी क्षेत्रबाट चर्को मूल्य तिरेर मल खरिद गर्न बाध्य भएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले कोविड–१९ कारण उत्पन्न परिस्थितिका कारण प्रयाप्त मात्रामा रासायनिक मल ल्याउन नसकिएको बताए।

मुलुकमा वर्षेनि झण्डै आठ लाख मेट्रिक टन मलको माग हुने गरेको छ। तर साँढे पाँच लाख मेट्रिक टन मल भए पुग्ने कृषि विकास मन्त्रालयले जनाएको छ। यो वर्ष तीन लाख मेट्रिक टन मल ल्याइसकिएको र बाँकी मल पनि आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

अहिले नेपाल भित्रिएको मल यूएईबाट ल्याइएको प्रवक्ता केसीले जनाए। ‘अहिलेसम्म तीन हजार मेट्रिक टन मल नेपाल भित्रिइसकेको छ,’ डा. केसीले भने, ‘भोलि (शुक्रबार) थप २५ सय मेट्रिकटन नेपाल भित्रिन्छ।’

सरकारले यो वर्ष साँढे पाँच लाख मेट्रिकटन मल नेपाल भित्र्याउने तयारी गरेको थियो। सो अनुसार बजेटसमेत विनियोजन भएको तर कोरोना भाइरसका कारण मल समय मै उपलब्ध गराउन नसकिएको जनाएको छ।

‘यसअघिका वर्षमा बजेट अभावमा प्रयाप्त मल आयात गर्न नसकिएको अवस्था थियो,’ प्रवक्ता डा. केसीले डिसी नेपालसँग भने, ‘यो वर्ष मल खरिदका लागि ११ अर्व रुपैयाँ छुट्ट्याइएको थियो, तर कोविड र त्यसबाट उत्पन्न परिस्थितिले गर्दा सोचे अनुसारको काम गर्न नपाइँदा प्रयाप्त मात्रामा मल आयात गर्न सकिएन।’

उनले मल आउन थालेपछि हप्ता दिनमा मल सबै किसानले सहज पाउने बताए। यसरी आएको मल साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ।

युरिया मल असार १५ गतेभित्रै ल्याइसक्ने गरी काम भएपनि डेढ महिना कोलकातामा लकडाउन भएका कारण मल ल्याउन नसकिएको उनको भनाइ थियो।

यो वर्ष कृषिमन्त्री घनश्याम भुसाल आफैंले राजनीतिक र प्रशासनिक हिसाले धेरै प्रयास गरेको, मन्त्री भुसालको पहलमा भारतको गुजरातबाट सिधै मल ल्याउन गरी प्रयास भएको भएपनि राजनीतिक कारण संभव नभएको मन्त्रालय स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *