राष्ट्रकविलाई यसकारण सैनिक बर्दीको मान

डिसी नेपाल
१३ भदौ २०७७ ७:१५

श्री राष्ट्रकविको परमात्मा,
सलाम।

माछापुच्छ्रे गिरी शिखरको पारमा
मुक्तिक्षेत्र।
बल्छन् बत्ती झलमल जहाँ
भुलभुले मुलभित्र।
जसको जन्मस्थल छ पहिलो
सृष्टिको दिव्य घाम।
काली गंगा भनन कसरी कुद्धछ्यौ शालिग्राम
(कालीगण्डकी कविताबाट साभार)

कविवर, कति सत्य र सुन्दर प्रकृतिको साधना।
प्रकृतिलाई चिन्ने जान्ने सुन्ने बुझ्ने अद्भूत शक्ति भएका प्रकृतिप्रेमी कवि। प्रकृतिसँग सम्वाद गर्न सक्ने विलक्षणकारी व्यक्तित्व। प्रकृतिका सच्चा पुजारी। त्यस्ता महान् कविवरको शाश्वत देह त्यागले प्रकृतिलाई परेको गहिरो चोटको म कसरी परिकल्पना गरौं? प्रकृतिको एक्लोपन र टुहुरोपन म कसरी परमात्मालाई सुनाऊँ?

हे कविवर,
कति सुन्दर प्रकृतिको वर्णन? कति कठिन, सकसपूर्ण, तर भावपूर्ण सुन्दर जिज्ञाशा? कसरी दिउन् काली गंगाले शालिग्राम कुँद्ने गोप्य र रहस्यमय शिल्पकलाको उत्तर?

हे कविवर,
धन्य, काली गंगाले जवाफ फर्काइनन्– म फगत् सुसाउँदै बग्ने नदी होइन। म सुन्दर बहुमूल्य शालिग्राम बनाउने दक्ष शिल्पकार। म सुन बजाउँदै नचाउँदै हिँडने अनुभवी एक स्वर्णकार।

हे कविवर,
नतमस्तक र अनुग्रहित छु रारा राष्ट्रिय निकुञ्जलाई गन्तव्य बनाइदिनु भएकोमा। आहा, महान पुरुषको पाउ लाग्न पायो प्रकृतिको सुन्दर काखमा। राष्ट्रिय निकुञ्जको अहोभाग्य। रारा तालको शौभाग्य। हामी सेवकहरुको गौरव। पछि सुनें। राष्ट्रकविलाई फर्कन मन लागेन रे। रारामा लामो समय व्यतित गर्न मन लाग्यो रे।
माफी पाउँ परमात्मा। हामीले होइन, चिकित्सकले सुझाएनन् रात बिताउन।

यद्यपि हामी गौरवान्वित छौं राष्ट्रकविको रारा गन्तव्य चयनको लागि। शताब्दी पार गरेका जो कोही जाँदैनन् त्यो विकट हाई अल्टिच्युड्मा अमूल्य जीवनको जोखिम मोलेर। सलाम छ नम्र व्यक्तित्व, उग्र त्यो साहसिक कालजयी हिम्मतलाई।

हे कविवर,
पंक्तिकारलाई केवल एउटा मात्र मनखत् छ। तर गहिरो र चोटिलो मनखत्। मैले तमाम् अतिथिहरुलाई पुर्याएँ रारा ताल। तर दुर्भाग्य, मनमुटुभित्र सजाएको राष्ट्रकविको आतिथ्यता आफूले गर्न पाइनँ। त्यही हो आजीवन खाटो नबस्ने मनको खत्।

आहा, प्रकृतिको स्वर्ग रारामा साथ सेवा दिन पाएको भए कति भाग्यमानी हुने थिएँ। कविको चञ्चल आँखाको भाका बुझ्न कोशिस गर्ने थिएँ। ओठको चाल ठम्याउन खोज्ने थिएँ। मन नाचेको बुझ्ने चेष्टा गर्ने थिएँ। मनोभावलाई रेकर्ड गर्न चुलबुलाउने थिएँ।

उद्गार पंक्तिहरु लिपिबद्ध गरेर राख्ने थिएँ। दिव्योपदेशलाई आत्मसात् र मनन् गर्ने थिएँ। प्रकृति वर्णनलाई ध्यानपूर्वक श्रवण गर्ने थिएँ। अनि, प्रकृतिको न्यायो स्वागत अभिवादन र राराको मायाजाल डिकोड् गरेर राष्ट्रकविलाई सुनाउने थिएँ।

लगत्तै राष्ट्रकविलाई सेवा भरेको हेलिकोप्टर लिएर उद्धारको लागि सेतो हिमालको पत्र पत्र भित्र पसें। हिँउभित्र फसेका विदेशी पर्यटकलाई उद्धार गरें। राष्ट्रकविले पाउ राखेको हेलिकोप्टरले कविता सुनायो–

भट् भट् भट् भट् गरी जब तात्यो इन्जिन।
चंगा र हलुका भयो वास आयो मेशिन।।
फाट्यो बादल खुल्यो आकाश कस्तो राम्रो सुदिन।।।

उद्धार गरुम् कि बोकूम धर्मात्मा, महात्मा र महामानव ।
मरिजाम बरु नबोकूम् लोभी पापी अपराधी दानव।।
विश्वकर्मा म पवित्र भएँ उडाउन पाउँदा राष्ट्रकवि सच्चा एक साधक।।।

म अचिम्भित भएँ। राष्ट्रकविले जे छोयो त्यो कवितामय हुने।

पछि, राराले सुनाइन्–

प्रकृतिको पवित्र काख, सुन्दर निकुञ्ज घर, रारा मेरो नाम।
उचाई बढ्यो, गौरव बढ्यो, राष्ट्रकविको आगमन।।
विश्वभरि सुवासझैं अजर अमर कीर्ति फैलियोस् हार्दिक शुभकामना।।।

राष्ट्रकविको स्वर्गवासमा लगातार झरी र रुझान भयो। आफ्नो परम प्रीय प्रकृतिपुत्र गुमाएको कत्रो पीडा र शोक प्रकृतिलाई? पुजारी हराएको डरलाग्दो चोट।
गहिरो दुःखको त्यो घडीमा प्रकृतिको वेदनालाई डिकोड् गरेर तयार पारेको सानो कविता परमात्मालाई सुनाउने अनुमति माग्दछु।

प्रकृति निरन्तर रोइरह्यो
आकाश रसाइरह्यो
धर्ती आँसुले भिजिरह्यो
माटो पीरले बगिरह्यो
अमिलो आँसुको खोलो उर्लिरह्यो
वनजंगल पात पातबाट आँसु तप्तप् झरिरह्यो

मैले ठानें कति लामो अविरल वर्षा हो यो प्रकृतिले रुँदै भनिन् वर्षा होइन गहिरो पीडा वेदना र शोक हो यो

हे कविवर,

हामी सिपाहीको तारो हान्दा जाली फुटेको बाक्लो कान। बारुदले ज्योति उडाएको धमिलो आँखा। गह्रौं भारीले लाटिएको शरीर। हेलमेटले बोधो भएको बाक्लो दिमाग। तैपनि हामी सिपाहीलाई तुरुन्त कण्ठस्थ हुने कविवरका अर्थ, छन्द, लय भरिएका ती सुन्दर सुक्ति गीत र कविताहरु।

सिपाहीका काँडा उमार्ने रगत उमाल्ने राष्ट्रियता र देशभक्तिका ती सुन्दर पंक्तिहरु।
अनि बालक हुन् वा वृद्धवृद्धा, विचित्रको सरलता, स्पष्टता, सबैको मन मुटु रसाउने लय–

गाउछ गीत नेपाली,
ज्योतिको पंख उचाली।
जय जय जय हे नेपाल,
सुन्दर शान्त विशाल।

अनि हामी सिपाहीलाई बुरुक् बुरुक् पार्ने देशभक्तिका ती गर्विला पंक्तिहरु–

पश्चिम किल्ला कांगडा,
पूर्वमा टिष्टा पुगेथ्यौं।
कुन शक्तिको सामुमा,
कहिले हामी झुकेथ्यौं।

जब प्रजातन्त्ररुपी तुफान आयो। साहित्य जगतलाई खलबलाइ दियो । जनयुद्ध जन्मायो। भाइ–भाइ लडायो। रगतको खोलो बगायो। गरिब जनताको विकासको दुर्लभ पूर्वाधार ध्वस्त पार्यो। नेपाल आमाको छातीमा संयुक्त राष्ट्रसंघको मिशनले परेड खेल्यो। छिनमा परिवर्तनको तुफानले गणतन्त्र थोपरि दियो ।
राष्ट्रकविको कलमले भाका फेर्दै सिठ्ठी फुक्यो–

बिलो लिए झैं झिरमा उनेर,
यो राज्य बाँड्ने चिज होइन हेर।
थुतिन्छ पत्ता जब खात खात,
सिद्धिन्छ शोभा अनि फूलबाट।

कति दूरदर्शी कविबर। नेपाल आमाको नाडी छाम्नसक्ने र भविष्यवाणी गर्न सक्ने अलौकिक प्रतिभाको धनी।
जनजन र सिपाहीको मन मुटुमा गहिरोसँग भिजेका ती मार्मिक र हृदयश्पर्शी पंक्तिहरु–

पारिन्छ सत्ता,
जब खण्डखण्ड।
रहन्छ के,
त्यहाँ राष्ट्र अखण्ड।

कति धेरै देशभक्ति । कति सच्चा राष्ट्रवाद । कति गहिरो देशको माया र रक्षाभाव। कति बेलैमा सचेत गराउने सम्वेदनशील तर शक्तिशाली कलम–

नेपाली हामी
रहुँला कहाँ
नेपालै नरहे ….. ……

हे कविवर,
हामी सिपाही सहश्र कृतज्ञ छौं, हाम्रो रगतको कणकणमा राष्ट्रियता र देशभक्ति जगाइदिनु भएकोमा ।
हामीमात्र होइन हाम्रा पितामाता र परिवारजनका मनमुटु र ओठओठमा कण्ठस्थ छन् ती गौरवशाली गीत र कविता कृतिहरु।

हे कविवर,
हामी आभारी छौं, स–सम्मान सलाम गर्न पाएकोमा । राष्ट्रकविको न्यानो छहारी र अभिभाकत्व प्राप्त भएकोमा। त्यही नाताले त हो आज म परमात्मालाई सगर्व पत्र लेखिरहेको।

पंक्तिकारलाई जिज्ञाशा जागेको थियो। कसरी राष्ट्रकविले सैनिक पोशाकको सम्मान ग्रहण गर्नुभयो?
एकजना धुरन्धर प्रशासकले जिज्ञाशा मेटाइ दिनुभयो–

‘प्रकृति, विश्व शान्ति, विश्व मानवतावादको अनवरत साधना र मातृभूमि, भूखण्डता, देशभक्ति, संस्कृतिको साधना गर्ने राष्ट्रिय धरोहरलाई नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार उहाँकै स्वेच्छा र स्वीकारोक्तिमा राज्यद्वारा सम्मान गरिएको हो। नेपाली सेना केवल माध्यम बनेर सहजीकरणमात्र गरिदिएको हो।’

एउटा सच्चा विश्व शान्तिको साधक, विश्व मानवताको अभियन्ता, धर्तीपुत्र देशभक्त र राष्ट्रिय रक्षाको कवच मानेर राज्यले दिएको सम्मानले नेपाली सेनाको देशभक्तिलाई आडिलो छतरी र अभिभाकत्व प्राप्त भएको थियो। हामी सबै गौरवान्वित भएका छौं।

हामी सिपाही सहश्र कृतज्ञ छौं, हाम्रो रगतको कणकणमा राष्ट्रियता र देशभक्ति जगाइदिनु भएकोमा ।
हामीमात्र होइन हाम्रा पितामाता र परिवारजनका मनमुटु र ओठओठमा कण्ठस्थ छन् ती गौरवशाली गीत र कविता कृतिहरु।

विश्वका प्रसिद्ध कविहरुभन्दा माथि उठेर ‘आणविक संसारलाई विश्व शान्ति बाटिका बनाउनुपर्दछ’ भन्ने हिम्मतिलो कीर्ति पस्किने असाधारण विश्व शान्तिका हिमायतीलाई जति सम्मान गरे पनि कमै हुन्छ।

हे कविवर,
शताब्दी लामो जन्म दिनको अवसरमा जन्मस्थान पुर्याइदिने हाम्रो प्रस्तावलाई तपाईँले दिएको सरल उत्तरले हामी नाजवाफ भएका थियौं–

‘भइगयो, जन्मस्थानको माटो, पानी–पंधेरो, वनजंगल मेरो रक्त कणकणमा छ। महंगो हेलिकोप्टरको चर्को आवाजसँग त्यहाँको शान्त प्रकृतिको चित्त दुख्न सक्छ। प्रकृतिउपर अन्याय नगरौं।’

कति महानवाणी। प्रकृतिमाताको सर्वोच्चताको स्वीकारोक्ति।
कोटीकोटी सलाम छ परमात्मालाई।

हे कविवर,
मनमुटुमा आसीन श्रद्धेय कविले सैनिक पोशाक पहिरिदा हामी सकल दर्जाको छाती फुलेर आँखाबाट हर्षको आँसु बगेको थियो। कुनाकन्तरमा सैनिकहरु कानेखुशी गरेको सुनिन्थ्यो–

‘नेपाल आमाका सन्ततीहरु यति धेरै प्रतिभाशाली नभए पनि स्वाभिमानी, निःस्वार्थी, त्यागी र तपस्वी भइदिएको भए नेपाल आज स्वर्ग भइसक्ने थियो।’
पंक्तिकारले सैनिकहरुको मनोविज्ञान अध्ययन गरें र निश्कर्ष निकालें–

‘कुशासन, बेथिति, बाह्य ग्रहण, पापलोभ मोह, गुण्डा, बिचौलिया र लुटतन्त्रले गलेकी मातृभूमिमा देशभक्तिको गीत गाएर नथाक्ने नेपाली सेनाले एउटा उदाहरणीय अभिभावकत्व र दर्बिलो आड भरोसा पाएको छ।’

मनमुटुमा आसीन श्रद्धेय कविले सैनिक पोशाक पहिरिदा हामी सकल दर्जाको छाती फुलेर आँखाबाट हर्षको आ“सु बगेको थियो। कुनाकन्तरमा सैनिकहरु कानेखुशी गरेको सुनिन्थ्यो– ‘नेपाल आमाका सन्ततीहरु यति धेरै प्रतिभाशाली नभए पनि स्वाभिमानी, निःस्वार्थी, त्यागी र तपस्वी भइदिएको भए नेपाल आज स्वर्ग भइसक्ने थियो।’

नेपाली सेनाले चाल पायो– नेपाल आमाको अस्मिता लुटिदा धुरुधुरु रुने अर्को साथी साहित्य जगत् रहेछ। कठिन घडीको त्रिवेणीका अरु २ निस्वार्थ र चरित्रवान् स्वाभिमानी मित्र भनेको प्रकृति र प्राज्ञ एवं साहित्यकारहरुको डबली रहेछ।

हे कविवर,
यही मौकामा सिपाहीको मनोविज्ञानको अर्को पक्ष पनि जाहेर गर्ने अनुमति माग्दछु–

हामी सिपाहीलाई लाग्यो, महान राष्ट्रकविको जीवन पनि सिपाही झैं स्थानीय तहको सानो नोकरीबाट शुरु भै सरकारी जागिर हुँदै राष्ट्रिय गौरवको तहमा पुगेर अन्तर्राष्ट्रिय धरोहर हुन प्रकृतिमाता र नेपाल आमाले सबैलाई बराबर मौका दिएकी रहिछन्।
सफल र सार्थक जीवन जिउन र स्वर्गको सुनको ढोका खोल्न सबैलाई बराबर छुट् प्राप्त रहेछ।

हे कविवर,

तपाईँका भारी प्रमाणपत्र, प्रशंसा र कदरपत्र, पदक, विभूषण, अभिनन्दन, सम्मान देखेर सैनिकहरुले जिब्रो टोके। कति थरिथरिका र कति धेरै सम्मान भनेर। स्थानीयदेखि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय सम्मका सम्मानमाथि सम्मान। वास्तविक पूँजी। चिरस्थायी अमर सम्पति । धर्तीलाई ग्रहणयोग्य र गर्वयोग्य उपहार।

राजा, महाराजा प्रधानमन्त्रीगणका मलामी हामी सिपाहीले चाल पायौं–

‘धन सम्पति जुहारत लोभी पापी बिचौलियाका शत्र। राष्ट्रकविको सुकृति र सम्मानको चुली धर्तीको गहना । इतिहासलाई उपहार । सगरमाथालाई श्रीपेच।’

हे कविवर,
परमात्माको अनुमति लिएर नसिकिनहुने राष्ट्रकविका मूल्यवान गुणहरु सिक्ने र शिरोपर गर्ने अनुमति माग्दछु–

१. सादा जीवन उच्च विचार, सिर्जनाको खोजी र प्रतिभाको प्रष्फुटनलाई निरन्तरता।

२. असल आचरण, नम्र बोली, सफल कुटनीति, परिश्रमको खानी, राष्ट्रियता, देशभक्ति, मानव र समाजसेवाको सफल र सार्थक जीवनी।

३. सत्चरित्र, नैतिकता, स्वाभिमान, ईमान, समर्पण र त्यागभाव अजर अमर।

४. स्वस्थ, सरल, सरस, हंसमुख, सकरात्मक, सहृदयी, स्वच्छ, असल, मिलनसार, श्रृजनशील, खुशी, सुखी र समाजसेवी जीवनलाई शताब्दी आयुको पुरस्कार।

५. जीवन बुढो हुँदैन। विश्राम गर्नु हुँदैन। शताब्दी लामो जीवन किन नहोस् सक्रिय रहनु र प्रकृति, मातृभूमिको संस्कृति, मानवताको सेवामा अनवरत साधना गरिरहनु।

६. राजनीति र नेतृत्व जे जो कोही होस् शुभेच्छा र शुभकामना दिनु। तर, आफू अराजनीतिक र तटस्थ रहेर मातृभूमिको रक्षा, कल्याण, सम्मानमा समर्पित रहिरहनु।

हे कविवर,
ती सरल, सुन्दर, विशिष्ट र चिरस्मरणीय गीत, कविता र खण्डकाव्यले हाम्रा आँखा, ओठ, मुटु चलायमान रहिरहने छन्। राष्ट्रकविले देखाएको गन्तव्यतर्फ आकर्षित भएको मातृ संगठनले साहित्य बिधालाई अवश्य उच्च प्राथमिकता दिने छ र पवित्र साहित्य जगतसँग अन्योन्याश्रित सम्बन्ध राखी सृजना र प्रतिभाको मुल फुटाउने प्राप्त प्रेरणाको सदुपयोग गर्नेछ।

सैनिक पोशाकमा सजिएको राष्ट्रकविको स्मारक बनाएर अनन्तकालसम्म बर्षेनि ससम्मान सलामी अर्पण गर्नेछौं। राज्यले खडा गर्ने राष्ट्रकविको प्रतिष्ठान र प्राज्ञिक सम्पति एक एक कीर्ति सजाएर राखेको संंग्राहालयको पालो पहरा र रखबारी गर्नेछौं।

हे कविवर,

अन्त्यमा, म स्वेच्छाले स्वस्फूर्त संकल्प गर्दछु–

‘हरेक बार्षिकीमा प्रकृृतिकाे  प्रतिनिधित्व गर्दै चोखोनितो बसेर पूजापाठ गरी राष्ट्रकविलाई श्रद्धासुमन अर्पण गर्नेछु।’
अनि, परमेश्वरसँग प्रार्थना गरेर माग्ने छु–
‘प्रकृतिको धनी यो पवित्र र पूण्यभूमिमा राष्ट्रकवि जस्ता राष्ट्रिय प्रतिभाहरु धेरैले जन्म लिउन् र प्रकृति र मातृभूमिको साधना गरुन्।’

राष्ट्रकविको आत्माको बैकुण्ठबास होस्।
अमर कीर्तिको सुवासले धर्तीजस्तै स्वर्ग पनि मगमगावस्।।
धर्तीमा नपाएको राष्ट्रकविको सेवा मलाई स्वर्गमा जुरोस्।।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *