राष्ट्रकविको महाप्रस्थान र अधुरै रहेको त्यो सपना

डिसी नेपाल
१३ भदौ २०७७ ८:३३

२०७७/०५/०२ मंगलबार(August 18, 2020)का दिनझरी त परेको थिएन तर बाक्लो कालो बादलले ढाकिएको आकाश दिउँसै साँझ परेझैँ अँध्यारो भएको थियो ! अनि निकै ठूलो आवाजले मेघ गर्जन सहित निरन्तर चट्याङ पनि परिरहेको थियो ! अचेल कोरोना भाइरस आतंकको कारणले घरमा त्यो पनि एक्लैबस्ने बानी परेको हुनाले त्यो नमीठो उदास आइतबारे धुनजस्तै उदास दिनलाई मीठो एवम् आनन्दमय बनाउन मलाई अत्यन्तै मनपर्ने गीत युट्युबमा सुनेर साँच्चिकै आनन्द उठाइरहेकी थिएँ ! साँच्चिकै साँझ पर्ने बेलामा फेसबुक खोल्नु पर्यो भनेर खोल्छु त सबैभन्दा पहिला साहित्यकार नरेन्द्रराज प्रसाईं भाइले लेख्नुभएको –

“महाकवि देवकोटापछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि माधव घिमिरेको आज साँझ ५:५५ बजे उहाँकै निवासमा स्वर्गारोहण भयो ।

राष्ट्रकवि घिमिरे गत असोज ७ गते १०१ वर्ष लाग्नु भएको थियो ।

राष्ट्रकविको सङ्क्षिप्त परिचय :

बुबाआमा

गौरीशङ्कर उपाध्याय घिमिरे, द्रौपदीदेवी घिमिरे

जन्म

१९७६ असोज ७ गते (लमजुङ)

विवाह
विष्णुभक्त पोखरेल तथा जमुना पोखरेलकी छोरी गौरीसँग १९९० सालमा भएको थियो । २००४ सालमा गौरीको निधनपछि चिरञ्जीवी अधिकारी तथा देवकी अधिकारीकी छोरी महाकालीसँग २००५ सालमा दोस्रो विवाह भयो ।

छोराछोरी
छोरीहरू—शान्ति, कान्ति, मञ्जु, उषा, किरण र ज्योति छोराहरू— इन्दीवर र राजीव ।

दीक्षा गुरु
गौरीका हजुरबुबा शिवभक्त पोखरेल; (आफ्ना शिष्य माधव घिमिरेको प्रतिभासँग प्रभावित भएर शिवभक्त पोखरेलले आफ्नी नातिनी कन्यादान गरेका थिए ।)

प्रथम शिक्षा गुरु
बद्री सुवेदी

शिक्षा
शास्त्री (२००१ क्विन्स कलेज, वनारस, भारत

अनुभव
• लेखक, नेपाली भाषानुवाद परिषद् १९९९)
• सहसम्पादक, गोरखापत्र (२००२-२००४)
• प्रधानाध्यापक, यशोब्रह्मा आधार हाईस्कुल (लमजुङ : २००५-२००८)
• प्राध्यापक, कलेज अफ एजुकेसन (२००९-२०१४)
• अध्यक्ष, नेपाल भारत मैत्री सङ्घ (२०१०-२०१४)
• अध्यक्ष, नेपाली शिक्षा परिषद् (२०५५ सालदेखि) मनोनीत
• सदस्य, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०१४-२०१८; २०२६-२०३५)
• आजीवन सदस्य, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०२८)
• उपकुलपति, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०३६-२०४५)
• कुलपति, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०४६-२०४७)
• सदस्य, राजपरिषद् (२०५९-२०६३)

कृतिहरू

कविता
• नवमञ्जरी (कवितासङ्ग्र्रह : १९९४)
• नयाँ नेपाल (गीतिकाव्य : २०१३)
• गौरी (शोककाव्य : २०१५)
• राजेश्वरी (खण्डकाव्य : २०१७)
• पापिनी आमा (खण्डकाव्य : २०१७)
• राष्ट्रनिर्माता (खण्डकाव्य : २०२३)
• धर्तीमाता (खण्डकाव्य : २०३०)
• किन्नर किन्नरी (गीतसङ्ग्र्रह : २०३३)
• बोराको परदा (खण्डकाव्य : २०५७)
• इन्द्रकुमारी (खण्डकाव्य : २०५७)
• गौथली र गजधम्मे (खण्डकाव्य : २०५७)
• चैतवैशाख (कवितासङ्ग्र्रह : २०६०)

गीतिनाटक
• शकुन्तला (२०३७)
• मालती मङ्गले (२०३९)
• विषकन्या (२०५०)
• अश्वत्थामा (२०५३)
• हिमालपारि हिमालवारि (२०५४
• देउकी (२०५५)
• बालकुमारी (२०६१)
निबन्ध र प्रबन्ध
• आफ्नो बाँसुरी आफ्नै गीत (२०३०)
• चारु चर्चा (२०५८)

बालसाहित्य
• घामपानी (कवितासङ्ग्र्रह : २०१०)
• बाललहरी (कवितासङ्ग्र्रह : २०२६)
• सुनपङ्खी चरी (गीतसङ्ग्र्रह : २०५३)
• मनचिन्ते मुरली (कथासङ्ग्र्रह : २०५७)
• बिजुले र बिजुला (कवितासङ्ग्र्रह : २०६३)

सम्पादन
• माछाकाँडे सिउर (लोककाव्य : २०१३)
• पच्चिस वर्षका खण्डकाव्य (२०३९)

अनुवाद
• उषाचरित्र (चम्पूकाव्य : १९९८)
• नागानन्द (गीतिनाटक : २००२)
• दुर्गासप्तशती (काव्य : २०५८)

सम्पादक
• इन्द्रेणी (२०१३)

उपाधि
• राष्ट्रकवि (२०६०)
• मानार्थ विद्यावारिधि (त्रिभुवन विश्वविद्यालय : २०७३)
• मानार्थ सहायकरथी (२०७४)

विभूषण
• सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु (२०५६)
• वीरेन्द्र ऐश्वर्य सेवापदक (२०५८)
• महाउज्ज्वल राष्ट्रदीप (२०७५)

पुरस्कार
• सरस्वती काव्य पुरस्कार (२००४)
• राजकीय प्रज्ञा विशिष्ट पदक (२०२२)
• त्रिभुवन प्रज्ञा पुरस्कार (२०३३)
• सीताराम पुरस्कार (२०५०)
• आदिकवि भानुभक्त पुरस्कार (२०५२)
• भूपालमानसिंह कार्की प्रज्ञापुरस्कार (सार्कस्तरीय : २०५५)
• वसुन्धराश्री पुरस्कार (२०५७)
• साझा पुरस्कार (२०५४ र २०५८)
• राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार : २०५९)
• भानुभक्त पुरस्कार (नेपाल सरकार : २०७२)
• यात्री वाङ्मय पुरस्कार (२०७३)
• मनिराज वाङ्मय पुरस्कार (२०७४)

सम्मान
• सिलसिलाद्वारा रथयात्रा (२०५१)
• देवकोटा शताब्दी सम्मान (२०६६)
• पद्मश्री साधना सम्मान (२०६७)

स्रोत

• नइ प्रकाशन ”

एकछिन अघि मज्जाले गीत सुनेर बसिरहेकी थिएँ ! एक्कासि चट्याङजस्तै यस्तोखबर पढेर म त स्तब्ध भएँ ! राष्ट्रकवि माधवप्रसाद घिमिरे दाजुको असामयिक निधनको अत्यन्तै दुःखद खबरले अत्यन्तै विचलित भयो मन !

त्यसपछि केही गर्न पनि मनै लागेन । खान पनि मन लागेन दाजुको अनुहार अनि उहाँसँगका अविस्मरणीय र अमूल्य क्षणहरू सबैसबै चलचित्रझैँ आँखा सामु आइरह्यो । केही नगरी धुमधुम्ती बसिरहेँ मात्रै ! अनि ती क्षणहरूको सम्झना गरेँ यसरी –

अचम्मैको संयोग यो पनि- मैले कविवर माधवप्रसाद घिमिरे दाइलाई नइ अर्थात् नरेन्द्रराज प्रसाईं एवम् इन्दिरा प्रसाईं दम्पती द्वारा आयोजित कार्यक्रममा भेटेकी थिएँ।  पहिलो पटक इन्दिरा प्रसाईं बहिनीले राष्ट्रकवि भनेर सम्बोधन गरेकी थिइन् । र, अभ्यस्त नभएको अर्थात् मुर्धन्य वा बरिष्ठ आदि सुनिरहेकोमा राष्ट्रकवि सम्बोधन नौलो लागेको थियो र अत्यन्तै सुखद पनि । र, उनै नइ अर्थात् नरेन्द्रराज प्रसाईं भाइकै फेसबुक अकाउन्टको वालबाटै दाजुको महाप्रस्थानको अत्यन्तै दुःखद खबर सुन्नु अर्थात् पढ्नु पर्‍यो ! यो पनि अचम्मैको संयोग लाग्यो मलाई !

राष्ट्रकवि माधवप्रसाद घिमिरे दाइसँगको सम्झना शुरूआत यसरी गरेँ मैले –

गीत भनेको शब्द संगीत र स्वरको त्रिवेणी हो ! एउटा कालजयी गीत बन्नका लागि शब्दमात्रै राम्रो भएर हुँदैन अनि संगीत मात्रै राम्रो भएर हुदैन स्वर पनि उतिकै जरुरी पर्छ ! तीनवटै कुराको तालमेल मिलेमा बल्ल साँच्चिकै कर्णप्रिय कालजयी गीत बन्ने गर्दछ !

स्वरसम्राट नारायणगोपाल स्वयंले- “संगीतमा ठूलो क्रान्ति ल्याउनुपर्छ साहित्यसँग निकट सम्बन्ध राखेर” भन्ने उद्गार पोख्नु भएको छ ! तापनि हाम्रो देशमा विडम्बना नै भन्नुपर्छ कि गीतकार भने सधैं ओझेलमा पर्ने गर्छन् !

यही उद्गारलाई मध्येनजर राखेर नारायणगोपाल सङ्गीत कोषले स्वरसम्राट नारायणगोपाल दाजुको पच्चीसौं स्मृति दिवसमा पच्चीसै जना गीतकार जना गीतकारलाई एकैथलोमा एकैपटक सुन्दर मालाझैँ उनेर “नारायणगोपाल स्मृति विशेष सम्मान ” समर्पण गर्ने योजना रहेको थियो ! दुर्भाग्यवश सोही साल भुकम्प जानू माथि नाकाबन्दी शुरू भएको हुनाले कोषको सपना पूरा हुन सकेन !

२७ औं स्मृति दिवस तयारी अघिको बैठकले अधुरो रहेको त्यो योजनालाई साकार पार्ने तर एकैपटकमा सम्भव नभए दुई तीन पटक गरेर भए पनि स्वरसम्राट नारायणगोपालको साङ्गीतिक यात्रामा सहयात्री गीतकारहरूलाई “नारायणगोपाल स्मृति सम्मान” बिशेष समर्पण गर्ने निर्णय गर्यौँ ! किनभने स्वरसम्राटले गाउनु भएका गीतकारहरू पेमला भाउजू हुँदै प्रकाशित “कालजयी स्वरहरू”मा आबद्ध गीतकारज्यूहरू पच्चीसजना जति नै हुनुहुँदोरहेछ !

प्रत्येक बर्ष एक एकजना गीतकारलाई समर्पण गर्दा पनि पच्चीस बर्ष लाग्दो रहेछ ! त्यसैले गायक वा संगीतकारलाई नियमित रुपमा समर्पित गर्दै आएको सम्मान त यथावत् छदैछ !

यसपटक नियमित रुपमा समर्पण गरिने २७ औं स्मृति दिवसका लागि नियमित “नारायणगोपाल स्मृति सम्मान” वरिष्ठ संगीतकार एवं गायक श्री सि.के.रसाइलीज्यूलाई गरिने निर्णय भएको थियो भने, विशेष सम्मान गीतकार माधवप्रसाद घिमिरे, रत्न शमशेर थापा, नरेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई गरिने निर्णय भए बमोजिम हिजो सोही पत्रज्ञापन गर्न म राष्ट्रकविको निवासमा पुगेको बेलामा मैले मेरो प्रकाशित गर्न लागेको गीति सङ्ग्रहको पाण्डुलिपि समेत लगेर गएकी थिएँ । किनभने राष्ट्रकवि माधवप्रसाद दाइले मलाई जहिल्यै भेट्नु हुदा पनि – “बहिनीले गीत मीठो लेख्नुहुन्छ ! गीतको किताब अनि एल्बम खोइ त?” भनेर सोध्ने गर्नुहुन्छ सधैंभरि ! तर त्यसदिन पनि मैले मेरा गीति एल्बमहरू बोक्न भने भुसुक्कै बिर्सेछु फेरि !

मैले सधैँ “एकदिन गीतको पाण्डुलिपि लिएर म हजुरको घरमै आउँछु ।” भन्ने गर्थेँ ! तर जाने अनुकूलता भने पाएकी थिइनँ ! बल्लतल्ल आज त्यो साइत समेत जुर्यो ! अनिदाजु भाउजूसँग एकदुई घण्टा बसेर आएँ! सोही अवसरमा दाजुसँग भिडियो पनि अनि दाजु भाउजूसँग केही तस्बिरहरू खिचेर फर्किने क्रममा दाजु र भाउजूले “नारायणगोपाल स्मृति सम्मान” समारोहमा जाँदा लिन र पुर्‍याउने व्यवस्था पनि मैले नै गरिदिन अनुरोध गर्नु भयो र मैले पनि हजुरहरूले कुनै चिन्ता लिनुपर्दैन? मेरो सवारी चालकले हजुरको घर देखेकै छ ! कार्यक्रम बिहानको एघार बजे भएको कारणले साढे दसबजे मैले मोटर पठाउँछु भाउजूले दाजुलाई तयार गरेर राखिदिनु होला भनेर म फर्के !

अनि पूर्व निर्धारित समय बमोजिम मैले जितेन्द्रलाई पठाए उहाँको निवासमा र सममै ल्याइपुर्‍यायो जितेन्द्रले र पुरस्कार समर्पण कार्यक्रम पनि समय तालिका बमोजिम सकियो पनि ! सम्मान अर्पणको कार्यक्रम सकेपछि दोस्रो सत्रको कार्यक्रम सम्मानित गीतकारहरूको एकएकवटा गीत सुनाउने लाइभमा नारायणगोपाल सङ्गीत कोषका प्रशिक्षक राजकुमार श्रेष्ठभाइले वाद्यवादनमा प्रशिक्षण दिएका बिद्यार्थी भाइबहिनीहरूले लाइभ बजाउँने गर्छन् अनि गायक गायिका भने नयाँ पुराना सबै मिसमास हुने गर्छ !

सधैंभरि जतिसुकै लामो कार्यक्रममा पनि धीर गम्भीर भएर बस्न सक्ने खुबी देखिरहेको मैले त्यसदिन भने कार्यक्रम सकिनासाथ घरमा जाने मनसाय प्रकट गर्नुभयो ! भाउजू साथमा नभएर हो कि ? मैले भाउजूलाई पनि साथै आउन आग्रह त गरेकै हो । तर त्यसदिन भाउजूको बिशेष व्यस्तता रहेको हुनाले आउन नमिल्ने जानकारी दिनुभएको थियो ! अनि मैले नै उहाँको हात समाएर यता काउचमा राखेँअनि सम्मान पत्र र अन्य सामान जितेन्द्रलाई हाम्रो मोटरमा राख्न अह्राएँ अनि मैले नै नारायणगोपाल कोषका कार्यालय सचिव मालती गुरुङलाई खाजा ल्याउन भने ! तर दाजुले खान मन गर्नु भएन बरू घरमै जाने मनसाय प्रकट गर्नुभयो ! मैले त्यहाँ राख्नु दाजुलाई थप दुःख दिनु हो भन्ने लाग्यो ! मैले पनि खाजा समेत जितेन्द्रलाई नै बोक्न लगाएर फेरि घरमै पुर्‍याउन पठाएँ !

मैले राष्ट्रकवि माधवप्रसाद घिमिरे दाइलाई पहिलोपटक आजभन्दा झन्डै चार दशकअगाडि तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमैँ भेटेकी हुँ ! उहाँसँग भेट्नु अघि नै मैले कविको परिचय बनाइसकेको हुँदा प्रायःजसो अग्रज साहित्यकार दाजु दिदीहरूले मेरो नामबाटै चिन्ने भइसकेकी थिएँ ! त्यतिबेला अग्रज कवि दाजुहरू सबै सबैबाट समान स्नेह पाएँ ! उबेला साहित्यिक कार्यक्रमहरू भलै कमै हुन्थ्यो तर भव्यता र गरिमा भने बेग्लै हुने गर्थ्यो ।

हुनत पहिला नाट्यसम्राट् बालकृष्ण समले “प्रल्हाद” नाटक सिकाउनुहुने बेलामा र देखाउने बेलामा उति बेलाको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा त गएकै थिएँ । तर त्यतिबेला मैले कविको परिचय बोकेकी थिइन ! त्यसैले मैले उतिबेला कवि साहित्यकारहरूप्रति खासै चासो राखिन पनि ! जब मैले औपचिकरूपमा लेख्न र साहित्यिक पत्रपत्रिकाहरूमा मेरो कविताहरू छापिने क्रम शुरु भइसकेपछि साहित्यिक जगतमा उषा भट्टचनको नाउँले म परिचित हुन थालेँ । अनि बिस्तारै कवि गोष्ठीहरुमा भाग लिन र कविता वाचन गर्न थालेँ । साहित्यिक गतिविधिका लागि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान आउँदा निकै बेग्लै अनुभूति हुन थाल्यो र बिस्तारै बिस्तारै साहित्यकारहरुसँगको मेरो परिचय बाक्लिन थाल्यो । नाम मात्रै सुनेका दाजुदिदीहरुसँग मलाई प्रत्यक्ष भेट्ने सौभाग्य मिल्न थाल्यो । बयालीस पैंतालीस किलोकी उषा भट्टचनलाई देख्नुहुने आदरणीय दाजुहरुमा माधवप्रसाद घिमिरे दाजुपनि एक जना हुनुहुन्छ ।

नाट्यसम्राट् बालकृष्ण समले नाटक सिकाउनु हुँदा मैले त्यति केही ख्यालै राखिन तर पछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको बिशाल र सुन्दर प्रेक्षालयमा पुग्दा आदरणीय अग्रज दाजुहरु सबैको बाक्लो उपस्थिति र गरिमामय भव्य समारोहमा पाइला टेक्नै मलाई त धकै लागेर आउथ्यो । संकोचले ग्रस्त हुन्थे म । तर सबै दाजुहरुले अत्यन्तै स्नेह दिनुहुन्थ्यो र मेरो कविता राम्रो छ भनेर मलाई फुर्क्याउनु हुन्थ्यो । उतिबेलाको कार्यक्रमको रौनक र भव्यता बेग्लै हुन्थ्यो । भलै प्रबिधिको उच्च विकास नभएतापनि र हात हातमा मोबाइल क्यामेरा नभए तापनि मन मस्तिष्कको क्यामेरामा या मेमेरीमा आज पर्यन्त त्यस्ता अभूतपूर्व दृश्यहरु मसँग जस्ताको त्यस्तै छ । कुनै पनि कुरा डिलिट भएको छैन ।

त्यतिबेला देखि साहित्यकार दाजुहरु केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, बिजय मल्ल, मदनमणि दीक्षित, ईश्वर वल्लभ, भूपी शेरचन, भवानी घिमिरे, वासु शशी, हरिभक्त कटुवाल, केशवराज पिँडाली, वासुदेव लुइँटेल, तुलसी दिवस, धुँस्वाँ सायमि, कृष्णचन्द्रसिंह प्रधान, रत्न शमशेर थापा, वैरागी काइँला, धर्मराज थापा, मोहन कोइराला, कमलमणि दीक्षित, वासुदेव त्रिपाठी आदि दाजुहरुलाई आदरबश मैले सिधै नाउँको पछाडि दाजु वा दाइ जोडेर सम्बोधन गर्ने मेरो बानी यथावत्नै छ आजसम्म पनि । साथै त्यसरी सम्बोधन गर्दा म पटक्कै अप्ठ्यारोको अनुभूतिगर्दिनँ र उहाँहरुले पनि त्यस्तो केही सोच्नु हुन्न भन्ने मलाई विश्वासपनि छ ।

त्यस बेलादेखि आजपर्यन्त समानरूपमा स्नेह र आशिर्वाद प्राप्त छ मलाई ।

कविवर माधवप्रसाद घिमिरे दाजुलाई आज पनि म माधव दाइ भनेरै सम्बोधन गर्छु । मदनमणि दाजुलाई मदन दाइ भनेरै सम्बोधन गर्छु भने सत्यमोहन दाजुलाई सत्यमोहन दाइ भनेरै सम्बोधन गर्ने गर्छु । यो कुनै दम्भता बस भनेकी होइन। मात्रै आत्मीयताको प्रसङ्गमा मात्रै भनेकी हुँ । अन्यथा नलागोस् फेरि ! यसरी दाजु र दिदीहरू बाट पाउने स्नेहमा रत्तिभर कम पाइन मैले !

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा प्रत्येक बर्ष असार ९ गते सम्पन्न गर्ने राष्ट्रिय कविता महोत्सवमा हाम्रो पालोमा भने श्री ५ महाराजाबाट जे शीर्षक बक्स हुन्थ्यो त्यसैको आधारमा कविता लेख्नु पर्ने हुन्थ्यो ।

पुरस्कार वितरण समारोहमा राजाको सवारी हुनु अगाडि प्रधानमन्त्री, मन्त्रीहरू अनि राष्ट्रिय सभाका अध्यक्ष, उच्चपदस्थ सरकारी कर्मचारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू गन्यमान्य व्यक्तित्वहरू उपस्थितिले खचाखच भरिएको भव्य एवम् गरिमामय प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयभित्र पाइला टेक्दा पनि त्यसै-त्यसै मनमा एकप्रकार दकस लागेर आउँथ्यो । पुरस्कृत कविहरूका लागि छुट्याइएको सिटमा हामी पनि बसिसकेपछि मात्रै राजारानीको सवारी चलाइन्थ्यो र राजपरिवारका अन्य सदस्यहरू पनि राजारानीको पछिपछि सवारी हुन्थ्यो र आआफ्नो सिटमा बसिसकेपछि प्रत्यक्ष कविता वाचन पनि गर्ने अनि पदक र नगद सहितको प्रमाणपत्र राजाको बाहुलीबाट ग्रहण नै प्रदान गरिने हुँदा र पुरस्कृत कविको रुपमा म पनि उपस्थित थिएँ अनि राजाको बाहुलीबाटै पदक एवम् प्रमाणपत्र ग्रहण गर्ने सौभाग्य मलाई पनि प्राप्त भएको थियो !

यसरी पुरस्कृत कविहरूले कविता वाचन गर्ने मात्रै नभइ अप्रतियोगी कविहरूले पनि कविता सुनाउने प्रचलन बमोजिम अप्रतियोगी कविका रूपमा अग्रज कवि दाजुहरू पनि हुनुहुन्थ्यो ती मध्ये कवि माधवप्रसाद घिमिरे दाइले कविता वाचन गर्नुभएको थियो । यसरी कवि माधवप्रसाद घिमिरे दाजुसँग एउटै मञ्चमा कविता वाचनको सिलसिलाको प्रारम्भ भएको थियो । त्यसपछि भने धेरै पटक धेरै ठाउँमा कविता वाचन सँगसँगै अग्रज र अनुजको हिसाबले गरियो ! जतिपटक साथमा हुँदा पनि “बहिनी तपाईंले बडो राम्रो कविता सुनाउनभयो!” भनेर हँसिलो अनुहारले स्नेहवश सधैंभरि भनिरहनु भयो र अनुजलाई थप हौसला दिने कार्यबाट कहिल्यै चुक्नु हुने थिएन !

अनि कसले भूल्न सक्छ उबेला हेरेकाहरूले राष्ट्रकवि माधवप्रसाद घिमिरे दाजुको अत्यन्तै सफल गीतिनाटक ‘मालती मंगले’ लाई ? मैले कतिपटक हेरेँ हेरेँ त्यो नाटक!

अहिले तत्यो प्रेक्षालयभित्र पस्दा पनि उराठ र उजाड लाग्छ ! हाम्रो पालामा जस्तो भव्य रौनक अनि अत्यन्तै गरिमामय पटक्कै लाग्दैन अचेल !

त्यो बेलादेखि जुनरुपमा माधवप्रसाद घिमिरे दाजुलाई मैले देखेकी र भेटेकीथिएँ आज पर्यन्त उहाँको शालीन र विनम्र व्यवहारमा रत्तिभर फरक थिएन । उहाँमान कुनै दम्भ न कुनै रीसराग ! साधु मनका असल र उदाहरणीय प्रेरणादायी व्यक्तित्वका धनी सादा जीवन उच्च बिचार राख्नुहुने हाम्रो राष्ट्रकवि माधवप्रसाद घिमिरे दाइमा एउटा महामानवमा हुनुपर्ने सबै गुणले सम्पन्न हुनुहुन्थ्यो। आफ्नो सम्पूर्ण जीवन साहित्यकै लागि अर्पण गर्नुभएको ओजस्वी तपस्वी हिमालजस्तै अग्लाइ र समुद्रजस्तै गहिराइ बोकेका उच्च ब्यक्तित्वका बारेमा मजस्तो अदना ले के नै पो लेख्न सक्छु र ?
चाहे मेरो गीति एल्बम लोकार्पणमा प्रमुख अतिथि भएर आउनु भएको बेला होस् वा अन्य कार्यक्रममा जहिल्यैसुकै भन्न नभुल्ने उहाँ शब्द -“बहिनीले गीत मीठो लेख्नुहुन्छ ! गीतको किताब अनि एल्बम खोइ त ?” भनेर सोध्ने गर्नुहुन्थ्यो ! उक्त कुराउहाँले मेरो एल्बम “संवेदन” र “आकाश छुने रहर” लोकार्पणका दिन पनि भन्नुभएको थियो !

गीति सङ्ग्रह प्रकाशित गर्ने योजना बमोजिम र उहाँको हस्तलिखित भूमिका प्रसाद स्वरुप लिने हिसाबले मैले मेरो गीतको एकदिन गीतको पाण्डुलिपि उहाँलाई आफ्नै हातबाट टक्र्याउने साइतसम्म जुर्यो ! तर त्यसपछि दाजु बिमार भएर दिल्ली जानुभयो र दिल्लीबाट अलि राम्रो भइसकेपछि पत्रकार सुरज गुरुङ भाइले दिल्लीबाट लाइभ प्रसारण गर्दा पनि कमेन्ट् मार्फत दाजुलेमेरो कमेन्ट्को उत्तर बडो स्नेहपूर्वक लाइभमैँ दिनु भएको थियो ! अनि उहाँको निवासमै भएको नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक महासचिव अनि रेडियो नेपालबाट प्रसारित हुने “विम्व प्रतिबिम्ब” का प्रस्तोता कलाकार एवम् गीतकार रमेश पौडेल भाइको गीत एल्बम लोकार्पणमा पनि उहाँसँगसँगै मञ्चमा बस्ने सौभाग्य मिलेको थियो !

पछि फेरि संगीत शिरोमणि नातिकाजी दाइको नाउँमा स्थापित “नातिकाजी स्मृति समाजले “नातिकाजी सङ्गीत सम्मान” समारोह पनि उहाँकै निवासमा सम्पन्न गर्दा म पनि उपस्थित थिएँ । त्यसपछि म पनि अमेरिका बसेँ झन्डै छ महिना अनि फर्केपछि उपन्यास “आधि” लोकार्पणको व्यस्तताले मेरो समय खायो त्यसपछि त यो महामारी अर्थात् “कोभिड १९” अर्थात् कोरोना भाइरस र लकडाउन शुरु भयो र मेरो गीति सङ्ग्रह प्रकाशित गर्ने योजना पनि थाँतीरह्यो अनि राष्ट्रकवि माधवप्रसाद घिमिरे दाजुकै प्रमुख आतिथ्यमा लोकार्पणगर्ने योजना पनि योजनामैँ सीमित रह्यो सबैभन्दा ठूलो कुरा त दाजुको हस्तलिखित भूमिका लिने मनको रहर पनि मनैमा रह्यो र एउटा नमीठो थकथकी जीवनभरि रहने भयो! उहाँको महाप्रस्थानले एउटायुगको अन्त अवश्य भयो अर्थात् उहाँको भौतिक देह पंचतत्वमा विलीन अवश्य भयोतर उहाँका कालजयी सिर्जना भने युगौँयुग बाँचिरहनेछ !

अर्को एउटा सुखद संयोग पनि यो छ कि अहिले म स्वरसम्राट नारायणगोपाल संगीत कोषकी अध्यक्ष पनि भएको र स्वरसम्राट नारायणगोपाल दाइको मखमली आवाजमा रहेको अनि संगीत शिरोमणि नातिकाजी दाइको अत्यन्तै सुमधुर संगीत रहेको उहाँकै कालजयी यो गीतजुन मलाई असाध्यै मनपर्ने पनि भएको कारणले यही गीतबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे दाइको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु !

आजै र राति के देखेँ सपना मै मरिगएको

बतास बिनु हाँगाको फूल भै झरी गएको

मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको

कहाँ हो कहाँ बादलभित्र म रोइरहेको

वारी र पारी घाम र छाया माझैमा पियार

संसारमा जन्म दिएर ईश्वर बैंसमा नमार !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *