सगरमाथा आरोहण गर्न सजिलो हुँदै गएको हो ? अघिल्लो दशकभन्दा सफलता दर दोब्बर !

डिसी नेपाल
१३ भदौ २०७७ ९:१६

काठमाडौं। पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथाको ‘डेथ जोन’ भनिने ठाउँमा भीड बढ्दै गएको र यसले आरोहणलाई जोखिमपूर्ण बनाएको विज्ञहरुले बताएका छन् । यद्यपि यति हुँदाहुँदै पनि सगरमाथा आरोहण गर्ने आरोहीहरुको सफलता दर भने बढेको छ । २ दशक अगाडि भन्दा अहिले तुलनात्मक रुपमा आरोहीहरु शिखरमा पुग्न सफल हुने दर दुई गुणा बढेको र मृत्युदर घटेको एक अध्ययनले देखाएको छ।

युनिभर्सिटी अफ क्यालिफोर्निया र युनिभर्सिटी अफ वाशिङटनले गरेको एक अध्ययनमा २००६ देखि २०१९ को बीचमा दुई तिहाइ आरोहीहरु सफल भएको पाइएको छ । अध्ययनका अनुसार यस अवधिमा पर्वतारोहीहरुको मृत्युदर केवल १ प्रतिशत छ । अध्ययनका आधारमा समाचार एजेन्सी रोयटर्सले तयार पारेको समाचारमा सगरमाथाको आरोहण गर्ने पर्वतारोहीहरुको संख्यामा पनि भारी वृद्धि भएको उल्लेख छ ।

बुधबार प्रकाशित शोधपत्रमा २००६ देखि २०१९ सम्मका पर्वतारोही सफलता दर र मृत्यु दरको तथ्यांकको विश्लेषण गरिएको छ । अध्ययनमा प्राप्त जानकारीका आधारमा १९९० देखि २०१९ सम्म आइपुग्दा सगरमाथा आरोहरणमा सफलता दर दोब्बर भएको पाइएको छ । अहिले दुई तिहाइ पर्जतारोही शिखरमा पुग्न सफल हुने गरेका छन् ।

दुई दशक अघिसम्म कूल आरोहीको एक तिहाइ आरोही मात्र शिखरसम्म पुग्न सफल हुने गर्थे तर अहिले त्यो दर दोब्बर भएको पाइएको छ । अध्ययनका अनुसार मृत्युदरमा कुनै परिवर्तन आएको छैन । यो पहिले पनि एक प्रतिशत थियो र अहिलेसम्म एक प्रतिशत नै कायम छ । अध्ययनकर्ताका अनुसार १९९० देखि २००५ सम्मको अवधिमा पहिलो पटक सगरमाथा आरोहण गर्ने पर्यतारोहीको संख्या २ हजार २ सय थियो । २००६ देखि २०१९ को अवधिमा भने यो संख्या ३ हजार ६ सय पुगेको छ ।

अध्ययनकर्ताका अनुसार सगरमाथा आरोहणको प्रयास गर्ने महिला पर्वतारोहीको संख्यामा पछिल्ला केही वर्षमा वृद्धि भएको छ । अहिले सगरमाथा आरोहणको प्रयास गर्ने महिला आरोहीको संख्या १४.६ प्रतिशत छ । पहिले यो संख्या ९.१ प्रतिशत थियो । महिला र पुरुषहरुको आरोहणमा सफलता दर र मृत्युदर लगभग समान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *