अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनलाई छिटो स्वीकृति दिन कानुन नै फेरिने
काठमाडौं। बेलायत सरकारले कुनै पनि प्रभावकारी भ्याक्सिनलाई सकेसम्म छिटो स्वीकृति दिनको लागि कानुनमै संशोधन गर्ने भएको छ । बेलायतमा अहिलेसम्म सबैभन्दा छिटो अन्तिम नतिजा आउने भ्याक्स्नि अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन देखिएको छ । बेलायत सरकारको कानुन संशोधनको निर्णय यही भ्याक्सिनलाई लक्षित गरी आएको विश्वस गरिएको छ । अक्सफोर्डको भ्याक्सिनको अहिले अन्तिम र निर्णायक चरणको ट्रायल जारी छ ।
द गार्डियनको रिपोर्टअनुसार बेलायत सरकारले अहिले कानुनमा संशोधनको तयारी गरिरहेको छ ताकि सकेसम्म कम समयमा कोरोना भ्याक्सिनलाई स्वीकृति दिन सकियोस् । बेलायत सरकारले वैज्ञानिकले कुनै पनि भ्याक्सिन सफल भएको पुष्टि गर्नासाथ आम नागरिकलाई भ्याक्स्नि दिन सकियोस् भन्ने सुनिश्चित गर्न चाहेको बताएको छ । बेलायतको मौजुदा कानुनअनुसार कुनै पनि सफल भ्याक्सिनले तत्कालै लाइसेन्स प्राप्त गर्न सक्दैन ।
आम रुपमा कुनै पनि भ्याक्सिन सफल भइसकेपछि पनि उसले लाइसेन्स पाउन महिनौं लाग्छ । बेलायत सरकारले यदि कुनै पनि भ्याक्सिन सुरक्षा परीक्षणमा सफल भएमा तत्काल अस्थायी स्वीकृति दिने गरी कानुन संशोधन गर्न लागिएको जनाएको छ । बेलायतका सहायम प्रमुख मेडिकल अधिकारी जोनाथन भ्यान टेमले भने ‘यदि हामीले प्रभावकारी कोरोना भ्याक्सिन तयार गर्यौं भने त्यसलाई छिटो भन्दा छिटो बिरामीका लागि उपलब्ध गराउन सकौं भन्ने जरुरी हुन्छ । यद्यपि त्यो त्यतिबेला मात्र हुन्छ जब हामीले कडा सुरक्षा मापदण्ड पूरा गर्न सक्छौं ।
यसअघि अक्सफोर्ड भ्याक्सिन ग्रुपका एक अधिकारी एन्ड्रयु पोलार्डले भनेका थिए ‘आशा छ, भ्याक्सिनलाई स्वीकृति दिलाउनको लागि ट्रायल डाटा यही वर्ष नै नियामक निकायलाई पठाउन सक्नेछौं ।’ अक्सफोर्ड भ्याक्सिनको ट्रायल कैयौं देशहरुमा चलिरहेको छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा करिब २० हजार मानिसहरुमा भ्याक्सिनको ट्रायल भइरहेको छ । अक्सफोर्डसँग सहकार्य गरिरहेको कम्पनी एस्ट्राजेनेकाले अमेरिकामा ३० हजार जनामा ट्रायलको नेतृत्व गरिरहेको छ । भारतमा पनि सीरम इन्स्टिच्युटले यो भ्याक्सिनको ट्रायल सुरु गरेको छ ।
Facebook Comment