सगरमाथा आरोहणको झुटो दावी गर्ने भारतीयविरुद्ध पर्यटन विभागले कारवाही थाल्यो
काठमाडौं। सगरमाथाको सफल आरोहणको झुटो दावी गर्ने भारतको हरियाणा निवासी भारतीय नागरिक नरेन्दर सिंहको बारेमा नेपालको पर्यटन विभागले कारवाही प्रक्रिया अगाडि बढाएको छ । उनले २०१६ को वसन्त ऋतुमा आफूले सगरमाथाको सफल आरोहण गरेको झुटो दावी गरेका थिए । विभागले छिटै पूर्ण अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।
यी भारतीय नागरिकले फोटोशपबाट बनाइएको झुटो तस्वीरको आधारमा आफूले सगरमाथाको सफल आरोहण गरेको दावी गरेका थिए र सगरमाथा आरोहण गरेको प्रमाणित गर्ने प्रमाण पत्र पनि हात पारेका थिए । यही प्रमाणपत्रको आधारमा भारत सरकारले उनलाई तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कार दिने घोषणा गरेपछि विवाद भएको थियो । उनले झुटो दावी गरेका आधारहरु देखिएपछि भारतले तत्कालको लागि पुरस्कार रोक्का गरेको छ ।
सिंहले २०१६ को मे २० मा सगरमाथाको शिखरमा पुगेको दावी गरेर प्रमाणपत्र हात पारेका थिए । तर २०१६ को बसन्तमा सगरमाथामा खटिएको उद्धार टोलीका एक सदस्य लाक्पा शेर्पाले सिंहले सगरमाथा आरोहण गरेको झुटो दावी गरेको बताएका थिए । शेर्पाका अनुसार सिंह आरोहणका क्रममा सगरमाथाको बाल्कोनी पुग्दा अक्सिजन सकिएर त्यहाँबाट अगाडि जान नसकेपछि आफूहरुले उनको उद्धार गरेर तल ल्याएको बताएका थिए । सिंहसँगै गएका र सगरमाथाको सफल आरोहण गरेका अन्य आरोहीहरुले पनि सिंह बीचबाटै फर्किएको बताएका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्वतारोहण क्षेत्र हेर्ने सह–सचिव मीरा आचार्यले मिड डेसँग कुरा गर्दै भनिन् ‘भारतीय आरोहीहरुले वर्षौंदेखि विवादहरु सृजना गरिरहेको देख्दा मलाई दुःख लागेको छ । मैले यहाँका सम्बन्धित व्यक्तिहरुसँग पनि व्यक्तिगत रुपमा कुरा गरेकी छु । हामीले नरेन्दर सिंहको विषयको पनि अनुसन्धान गर्नेछौं र यसलाई सकेसम्म छिटो समाधान गर्नेछौं ।’
Facebook Comment