सँगै जीउने मर्ने कसम खाएकाले बाटो बिराएपछि…

डिसी नेपाल
१४ भदौ २०७७ १२:१७

काठमाडौं। अग्नि साक्षी राखेर सात फेरा लगाएपछि सुरु हुन्छ वैवाहिक जीवन। वैवाहिक जीवन बलियो र सुखमय बनाउन धर्मशास्त्रमा विभिन्न विधिको उल्लेख गरिएको हुन्छ ब्राम्हणद्वारा मन्त्रोच्चारण गरी धार्मिक विधि पनि पूरा गरेर सात जुनीसम्म सँगै जिउने सँगै बाँच्ने विधि पनि पूरा गरिन्छ।

सात जुनीसम्म सँगै जिउने मर्ने कसम खाएका श्रीमान–श्रीमतीबीच बाटोमा नपुग्दै छुट्टिनु पर्दाको पीडा सहजै कसैले कल्पना समेत गर्न सक्दैन । सँगै जीउने मर्ने कसम खाएपछि सुरु भएको वैवाहिक जीवनले उकाली ओराली गर्दै विरानो ठाउँमा गुँड बनाउँछन् बचेरा हुर्किन थाल्छन्।

दिन प्रतिदिन जीवन धान्न प्रयत्न गरिन्छ। हरेक प्रयत्नकाबीच एउटाको मन चराजस्तै उड्न थाल्छ। आफूले सात जन्म सँगै हुने कसम खाएको जोडी नराम्रो लाग्न थाल्छ। आफ्नो सुख दुःखको सहयात्री छोडेर भौंतारिन लागेको मन कतै गएर ठोकिन्छ अनि सुरु हुन्छ कहाली लाग्दा दिन। जीवनमा समीक्ष सिग्देल (नाम परिवर्तन) ले यस्ता दिनहरु भोग्ने परिकल्पना पनि गरेकी थिइनन्।

करिव १५ वर्ष अघिदेखि भारतको मुम्बइमा बस्दै आएकी समीक्षा यतिबेला माथि भनिएका हरेक शब्दहरुको पात्र बनेकी छन्। आँखामा झलझली आउँछन् विवाहका दिन, श्रीमानले माया गर्ने बेलाका दिन। ‘उहाँले यति ठूलो धोका दिनुहुन्छ भनेर कल्पना समेत गरेकी थिइन,’ सिग्देलले भनिन्, ‘जीवनमा नारकीय जीवन व्यतित गरेको कथा सुनेको थिएँ आज भोग्दै छु।’

विरानो ठाउँमा हुर्किँदै गरेका दुईवटा छोरा छन्। छोराहरुको उज्वल भविष्यको परिकल्पना गर्दै सपना देख्थे सिग्देलका श्रीमान। उनले त्यही उज्वल भविष्यको सपनालाई साकार पार्न करिव १५ वर्ष अगाडि भारतको मुम्बई पुर्याएका थिए २ छोरा र श्रीमतीलाई पनि। अद्भूत प्रेम गर्ने सिग्देलका श्रीमानले उनलाई प्रेम गर्न मात्र छोडेनन्, अहिले त छोराहरुको भविष्यको पनि चिन्ता छैन्।

‘पहिला हाम्रो बारेमा धेरै सोच्नु हुन्थ्यो, दुई वर्ष जति भयो उहाँलाई मेरो त के कुरा यी बच्चाको भविष्यको समेत प्रवाह छैन।’ आखाँमा आँशुको रारा थुन्दै सिग्देलले भनिन्, ‘परिवार, समाज सबैले भगवान मान्ने श्रीमान राक्षसी रुपमा परिणत भएको मलाइ पत्तो नै भएन।’

‘स्वर्गकी अप्सरा कस्ती हुन्छन् थाहा छैन। तर, मेरो अस्परा तिमी हौं।’ सिग्देललाई सम्झना आउँछ ती दिनहरुको जव श्रीमानले उनलाई अप्शरा भन्दा प्यारी ठान्थे। ‘विरानो ठाउँमा छु, उमेरले कसैको साथको अपेक्षा गर्ने बेला भएको छ।’ सिग्देलले भनिन्, ‘श्रीमानको साथ चाहिने बेला उहाँकै साथ पाइन। उहाँलाई अर्को महिलासँग मस्ती गर्दै गरेको कसरी हेर्नु यी आँखाले। आँखाले धोका खाएकी झैं लाग्छ। सपनी मै छु की झैं पनि लाग्छ। तर, श्रीमानको व्यवहारले जीवन मृत्युको संघारमा छु।’

होटल व्यवसाय गर्ने सिग्देलका श्रीमानले साथी भन्दै परस्त्रीसँग संगत गर्न थाले। ‘सुरुमा मेरी साथी भन्नुहुन्थ्यो अहिले म तँलाई छोड्छु उनलाई छोड्दिन भन्नुहुन्छ।’ सिग्देलले भनिन्, ‘बाहिर सुनेको उहाँले त्यहीसँग बिबाह गर्नुभयो रे’ आफ्नै श्रीमान र कुनै अपरिचित ठाउँको महिलाबाट पिटाइ खाएको अनुभव सुनाउँछिन् उनी।

‘म होटल गएँ, क्यास लिने ठाउँमा बसेकी रहिछिन्। मैले तिमी किन यहाँ बसेको भनेर सोधेको मलाई झम्टन आइन्। म पनि चुपचाप बस्ने कुरा भएन। मनको पीडा बाहिर आयो भनौं, श्रीमान किचेन पट्टी हुनुहुन्थ्यो आएर दुवैले मलाइ पिटे। कतिबेला मर्ने हो टुंगो छैन, अस्ती मात्रै पनि फोन गरेर त मुम्बई छोड, तेरो श्रीमान मेरो भइसक्यो तँलाइ तेरै श्रीमानको हातबाट मार्न लगाउछु भनी त्यो केटीले।’

‘नारीमाथि नारीबाट नै यस्तो अत्याचार कहिलेसम्म?’ समिक्षा सिग्देलले प्रश्न गरिन। ‘घरमा श्रीमती छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि एउटा नारीले अर्को नारी सम्मानको हत्या कहिलेसम्म?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *