कोरोनाको गम्भीर दलदलमा फस्दै भारत, आफ्नो चिन्ताजनक विश्वरेकर्ड आफैंले तोड्यो

डिसी नेपाल
१४ भदौ २०७७ १४:१०

काठमाडौं। भारत कोरोनाभाइरसको गम्भीर दलदलमा फस्दै गइरहेको छ । शुक्रबार भारतले २४ घण्टामा सबैभन्दा धेरै संक्रमितको संख्यामा विश्वरेकर्ड बनायो । शुक्रबार भारतमा कोरोनाभाइरसको नयाँ संक्रमणको ७७ हजार २६६ केस रेकर्ड गरिए जो विश्वमा अहिलेसम्मकै एक दिनमा सबैभन्दा धेरै संक्रमणको रेकर्ड थियो । यसअघि एक दिनमा सबैभन्दा धेरै संक्रमित भेटिएको रेकर्ड अमेरिकाले बनाएको थियो । अमेरिकामा गएको जुलाइ १६ मा ७७ हजार २५५ केस रेकर्ड गरिएका थिए । त्यसपछि भने अमेरिकामा नयाँ संक्रमणको केसमा लगातार गिरावट आइरहेको छ ।

भारतमा भने नयाँ संक्रमणका केसको संख्या अझै बढ्दो क्रममा छ । शनिबार भारतले आफ्नो शुक्रबारको चिन्ताजनक विश्वरेकर्ड तोड्दै झनै धेरै संक्रमितको रेकर्ड बनाएको छ । शनिबार मात्र भारतमा ७८ हजार ७६१ केस दर्ता गरिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ३५ लाख माथि पुगेको छ । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा संक्रमितको संख्या ६१ लाख ३९ हजारभन्दा धेरै भएको छ । ब्राजिलमा ३८ लाख ४६ हजारभन्दा धेरै संक्रमित भएका छन् भने भारतमा ३५ लाख ४६ हजारभन्दा बढी संक्रमित भएका छन् । अमेरिका र ब्राजिलको नयाँ संक्रमितको संख्या घट्दो क्रममा हुँदा भारतको बढ्दो क्रममा छ । यही स्थिति रहेमा यही साताभित्र भारतले ब्राजिललाई उछिनेर दोस्रो स्थानमा उक्लिने देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *