१४ दिन आइसोलेशन बसेकालाई कोरोना पोजेटिभ भए पनि धमाधम डिस्चार्ज

डिसी नेपाल
१४ भदौ २०७७ १७:४७

काठमाडौं। कोरोना संक्रमित भएर आइसोलेशन क्याम्पमा बसेकाहरुलाई कोरोना पाजेटिभ देखिए पनि धमाधम डिस्चार्ज गर्न थालिएको छ। कोरोना संक्रमण भएको १४ दिन पुगेको संक्रमितलाई संक्रमण मुक्त नहुँदै अस्पतालहरुले डिस्चार्ज गर्न थालेका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले १४ दिनसम्म आइसोलेशनमा रहेका तर लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेशनका लागि अनिवार्य घर पठाउने सर्कुलर गरेको छ।

७७ वटै जिल्लामा यस्तो सर्कुलर गरिएपछि गएको शुक्रबारदेखि यसरी संक्रमितहरु पनि अस्पतालबाट डिस्चार्ज हुन थालेका छन्। आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले स्वाब संकलन गरेको १० दिनमा फेरि पीसीआर गरिने र नेगेटिभ आए सोही दिन पोजेटिभ आए थप ४ दिनपछि डिस्चार्ज गरिने बताए। उनले यो विश्व स्वास्थ्य संगठन कै मापदण्ड भएको दावी गरे। उनले यो मापदण्ड नेपाल सरकारले पनि लागू गरेको बताए।

तर, उनले भनेजस्तो १० दिनमा पुनः परीक्षण नगरी सिधै १४ दिन आइसोलेशन बसेकाहरुलाई पनि डिस्चार्ज गरेको पाइएको छ। दैलेखको सदरमुकाम दैलेख बजारस्थित आइसोलेशन सेन्टरबाट केही संक्रमितहरुको पुनः परीक्षण नै नगरी डिस्चार्ज गरिएको छ।

सरकारले पछिल्ला दिनहरुमा पीसीआर परीक्षण गर्दा सरकारको खर्च बढेको भन्दै पीसीआर परीक्षणलाई निरुत्साहित गर्ने नीति लिएका छ। शनिबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले पीसीआर परीक्षण निकै महंगो भएको भन्दै पीसीआर परीक्षणका लागि दबाब र भनसुन नगर्न भनेका थिए।

यसरी संक्रमितहरु पनि विगत तीन दिनदेखि डिस्चार्ज भए पनि सरकारले डिस्चार्ज हुनेको संख्या भने छुट्टाछुट्टै दिएको छैन। कोरोना ठिक भएर डिस्चार्ज हुने र संक्रमण मुक्त नभएरै डिस्चार्ज हुनेहरुको संख्या एकमुष्ट जोडेर सार्वजनिक गरिएको छ। त्यसैले दैनिक कतिजना संक्रमितहरु डिस्चर्ज भइरहेका छन् भन्ने यकिन तथ्यांक भने आउन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *