असक्षम वन मन्त्रालय, फस्टायाे चोरी र तस्करी

डिसी नेपाल
१५ भदौ २०७७ १२:०४

मानिसको जीवन विचित्रको छ। जानी बुझिनसक्नु। गोलो पृथ्वीजस्तै। एक छेउ देखिन्छ। बाकी संसार कहा छ कहा? सबै अन्धकार। लकडाउनमा सबैले आ–आफ्नो संसारको गहिरो अध्ययन अनुसन्धान गर्ने मौका पाए। कतिपयले एक्स–रे र स्क्यानिङ गरेर आफ्नो चासोको विषय वस्तुलाई हेरे। भित्र बाहिर छ्याङ छ्याङ देखे। मर्नु न बाँच्नु हुने गरी… …..।

शिक्षा जगतको रुवाबासी। कृषिको झन् भण्डाफोर। जलस्रोत क्यान्सर उस्तै। स्वास्थ्यको झन् नाजुक अवस्था। पर्यटन भिजिट ट्वान्टी ट्वान्टीले सुल भएर भुँडी फुट्ने अवस्थामा। परराष्ट्रसम्बन्धमा समस्यै समस्या।

विज्ञको अर्थ झन् लथालिङ र भ्रष्टलाई सुनौलो युग। खानेपानीको अवस्था मेलम्चीले देखाइहाल्यो। रक्षा गृहको अर्थ केन्द्रित भुँडीभर व्यवस्थापन जग जाहेरै छ। विज्ञान, सिंचाइ, उद्योग, भौतिक योजनाको पीडा सुनिनसक्नु।

काल्पनिक समयको अयोध्याको खोजीको सपना होइन हिरा मुलुक धर्तीलाई उपहार दिने व्यावहारिक विपना प्रकृति र मातृभूमिको माग हो। जति छिटो उति राम्रो।

पंक्तिकारलाई भने वनको पीडा धेरै। परिवारजन, भोक र निन्द्राभन्दा बढी पीडा। जीवनलाई रसिक, रमाइलो, रङ्गिन, स्वस्थ र अर्गानिक बनाउन प्रकृतिको जस्तो अरु केहीको तागत हुँदैन भन्ने अर्ति स्व. राष्ट्रकवि माधव घिमिरे ज्यूबाट सिक्न पाएँ।

पुरानो ऐना

कुनै बेलाको वन मन्त्रालय सम्झन्छु। साहसिक, संवेदनशील वनमन्त्रीहरु! अनुशासित, सावधान र जवाफदेही नेतृत्व! हिराजस्तो टल्किएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग। उस्तै चुस्त वन विभाग। विज्ञहरुको इज्जत सम्मान र रवाफ।

वन मन्त्रालयको चेन अफ् कमाण्डमा सैनिक अनुशासन, गोपनीयता, दण्ड पुरस्कार, नीति र जवाफदेहिता देख्न अनुभूत गर्न पाइन्थ्यो केही मात्रामा भए पनि। देहरादूनबाट दीक्षित् फरेष्टरहरु सेनाभन्दा कडा, दरा, गरम र आगो थिए।

कति भाग्यमानी हामी! त्यस्तो व्यावसायिक र विज्ञहरुको छत्र छायामा काम गर्न पायौं। ऋणी छु, ती विशिष्ठ धरोहर वन र वातावरण विज्ञहरुप्रति।

विज्ञहरुको त्यो बेग र चमकसँग मेल नखाने थियो संरक्षणमा स्व. राजा महेन्द्रले खटाएको नेपाली सेना। ज्ञान, अनुभव, विज्ञता बिनाको मुढे बलको जत्था। प्रकृतिलाई सायद गहना तर विज्ञहरुलाई बोझ।

व्यावसायिक सेनाको के दोष? प्रकृति संरक्षण सेनाको जिम्मेवारी होइन। तर तत्कालीन चुनौती र जोखिमको आगोमा त्यो जिम्मेवारी अरुबाट निर्वाह हुन सम्भव थिएन भन्ने तत्कालीन शासकको दूरदृष्टि कति जायज रहेछ? आज मूल्यांकन भइरहेको छ।

लाज छोप्ने लंगौटी

अरु नसके पनि सानो १ बित्ताको लंगौटी बनाउन र लाउन सक्ने अपूर्व हैसियत प्राप्त भयो सानो मेजर दर्जाको पंक्तिकारलाई २२ वर्ष अगाडि।
हामीले अहोरात्र खटेर विज्ञहरुलाई म्याच हुने र खुशी पार्ने संरक्षणकर्मी तयार पार्यौं र उहाँहरुको पोल्टामा हालिदियौं।

ज्यादै अनुशासित, प्रतिबद्ध, दृढ निश्चयी, उद्देश्यप्रति एकाग्र र संकल्प पूरा गर्न समर्पित प्रकृति संरक्षणकर्मी तयार पारिदियौं। टीमवर्क, अनुशासन, जवाफदेहिता, त्याग र समर्पण बटम अप् एप्रोच मार्फत हामीले केन्द्रलाई उदाहरण देखायौं।

खुला आकाशमुनि असम्भव केही छैन भन्ने आत्मविश्वास जागृत भयो। संरक्षण साझेदारहरु खुशी हुनुभयो। अन्तर्राष्ट्रिय विश्व संरक्षण समुदायले नेपालको ‘संरक्षण मोडल’ को खुलेर प्रशंसा गर्न थाल्यो।

द्वन्द्वको लगत्तैपछि लंगौटीलाई नेपाली सेनाले ढालमा रुपान्तरण गर्यो। सबैको संयुक्त साथ र सहयोगमा शून्य शिकार उपलब्धि हासिल भयो। प्राप्त असाधारण सफलतालाई धेरै वर्षसम्म निरन्तरता दियो।

प्रकृति संरक्षणको क्षेत्रमा प्रदर्शन गरेको जवाफदेहिता सहितको कार्यदक्षता र बहुआयामिक उद्देश्यले नेपाली सेनाको ईज्जत र छवि माथि उठ्यो। २२ वर्ष पुरानो लाज छोप्ने त्यो लंगौटीप्रति म आजीवन गौरवान्वित रहने छु।

लाजको नयाँ पसारो के ले छोप्ने ?

दुई तिहाइको शक्तिशाली युवा वनमन्त्री। सबैले वन क्षेत्रको खाँडो जाग्ने भयो भनेर आशा पाले। पंक्तिकारले वन क्षेत्र, निकुञ्ज–आरक्ष, वन्यजन्तु र समग्र वातावरण टल्किने चम्किने भयो भनेर गर्व गरें। सरल रेखामा हिँड्ने र सिधा साधा अगाडिमात्र हेर्ने हामी यात्रुहरुको मूल्यांकनमा के दोष?

करिब १४ करोडको वातावरण महाअभियान कार्यक्रम बनाएर प्रारम्भ गरेको भूमिका सुन्दर थियो। तर त्यसको लथालिङ कार्यान्वयन पक्ष र बजेटको दुरुपयोग देखेर विज्ञहरुले मन्त्रीको उद्देश्य अभिप्राय र ल्याकत पूर्वानुमान लगाए।

प्रदेशले संघ विरुद्ध पहिलो मुद्दा हाल्यो बन मन्त्रालयलाई। प्रदेशसँगको सम्पर्क सम्बन्ध र समन्वय शून्य हुँदा २ नम्बर प्रदेश राष्ट्रिय वन र सागरनाथ वनको व्यवस्थापन ईश्यूलाई लिएर अदालत गयो। मन्त्रालयको इतिहासमा कलंक।

आफू घाटामा भएर राष्ट्रिय प्रकृति संरक्षण कोषले करोडौंका स्वास्थ्य सामाग्री मन्त्रीको जिल्लामा पुर्याएर भरेको चाकरी कोष र नेतृत्व दुवैलाई कलंकको पासो भयो। निकुञ्ज विभागले सिफारिश नगरेका तर मन्त्रालयले सोझै टीका लगाएर पठाएका चीफ वार्डेन बाँकी राष्ट्रिय निकुञ्जमा अख्तियारद्वारा रंगे हात पक्राउ परे। सगरमाथा राष्ट्रिय निकुञ्जमा चीफ वार्डेनलाई स्थानीयवासीले ‘घर जाउ’ भनेर घेराउ र आन्दोलन गरे।

त्यसै गरी प्रधानमन्त्री र अन्तर मन्त्रालय सम्बन्ध समन्वय पनि पटक्कै नहुँदा वन मन्त्रालय भिजन, संगठन, संरचना, पद्धति, बजेट र परिणाममा इतिहासमै पछि परेको र धाराशायी भएको विज्ञहरुको चिन्ता छ। राष्ट्रिय गहना भएर राष्ट्रिय गौरव बढाउने भक्तपुर प्राणी उद्यानको पूर्वसरकारको प्रोजेक्टलाई लाज हुने गरेर उपेक्षा गरियो।

आकाशको ध्रुव ताराजस्तो सँधै चम्किरहने निकुञ्ज विभाग नेतृत्वविहीन छ। धुरन्धर अनुभवी विज्ञ र प्राविधिकहरुको मन्दिर, अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अध्ययन अनुसन्धान केन्द्र र अन्तर्राष्ट्रिय विश्व संरक्षण समुदायले विश्वास र सम्मान गरेको पुजनीय संस्था ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ लाई चरणबद्ध पार्टी भर्ती केन्द्र, नेतृत्वविहीन र बजेट विहीन बनाएर निकम्मा पारिएको छ। यस्तो दुर्भाग्य इतिहासमा कहिले पनि भएको थिएन।

राष्ट्रिय निकुञ्जले यस्तो प्रतिशोध र पूर्वाग्रहको इतिहासमा अनुभूत र सामना गरेको थिएन। निकुञ्जमा आवद्ध नेपाली सेनाप्रतिको पूर्वाग्रहले निकुञ्ज दण्डित भएको एकथरिको निश्कर्ष छ। विश्वमा नमूना र सफल समायोजन भएको राष्ट्रिय सेनालाई शाही सेनाको चस्माले हेर्ने बनको नेतृत्वको दृष्टिदोषको पराकाष्ठा पत्याइसक्नु छैन।

हरेक मञ्च र भाषणमा निकुञ्ज र संरक्षणलाई गाली गर्ने मन्त्रीले अहिले विभागलाई अपांग बनाएका छन्। बाहिर निकुञ्जलाई गाली गर्ने भित्र आफ्नो जिल्लामा संरक्षण क्षेत्र बनाउने र कस्तुरी फार्मिङ गर्ने विरोधाभासपूर्ण चरित्र र अन्यत्रको बजेट तानेर जिल्ला लैजाने संकिर्ण एवं अन्यायपूर्ण अभ्यासले चरम अक्षमता प्रदर्शन भयो।

आफू घाटामा भएर राष्ट्रिय प्रकृति संरक्षण कोषले करोडौंका स्वास्थ्य सामाग्री मन्त्रीको जिल्लामा पुर्याएर भरेको चाकरी कोष र नेतृत्व दुवैलाई कलंकको पासो भयो।

निकुञ्ज विभागले सिफारिश नगरेका तर मन्त्रालयले सोझै टीका लगाएर पठाएका चीफ वार्डेन बाँके राष्ट्रिय निकुञ्जमा अख्तियारद्वारा रंगे हात पक्राउ परे। सगरमाथा राष्ट्रिय निकुञ्जमा चीफ वार्डेनलाई स्थानीयवासीले ‘घर जाउ’ भनेर घेराउ र आन्दोलन गरे।

बन्यजन्तुको चोरी शिकारी, क्षति र अवैध अंग व्यापार फस्टायो। मन्त्रीको अपूर्व अढाई वर्षे कार्यकालमा क्षेत्रीय र अन्तर्राष्ट्रिय संघ संस्थासँगको सम्पर्क सम्बन्ध समन्वय र सहकार्य धाराशायी भयो। संरक्षण साझेदार संघसंस्था पीडाले चाउरी परेर मुकदर्शक भई बस्न बाध्य भए।

मन्त्रालयका अनुभवी विज्ञ, पी.एच.डी. विद्धानलाई बाईपास र लाखापाखा गरेर बाहिरको झुण्ड, सडकका अनौपचारिक सल्लाहाकार र कार्यकर्ताको घेराउमा रमाएर आफैं डाक्टर आफैं विज्ञ हुन खोज्दा संरचनाहरु धाराशायी भएका छन्। वातावरण विभागमा एक वर्षमा ४ जना डि.जी. फेरिए र विज्ञ समूहको भाग बाह्य समूहकाले पड्काए। कस्तो विडम्बना।

निर्माण सम्पन्न ‘एनिमल अस्पताल’ को उद्घाटनसमेत नगरिदिदा दर्जनौं गैंडा, बाघ, गोही, लगायतका दुर्लभ वन्यजन्तुहरुले भेटनरी डाक्टर र अस्पताल देख्न नपाई पुकुपुकु मरे। वैज्ञानिक वन व्यवस्थापनका नाममा सयौं वर्ष पुरानो वन, दुर्लभ वन्यजन्तुको जैविक मार्ग मुफत्लाल सफाचट् पारियो।

निकुञ्जभित्र निजी होटल, व्यवसाय, प्याराग्लाईडिङ्ग, अल्ट्रालाईट् फ्लाईट, एड्भेन्चर स्पोर्टसको प्रकृति विरोधी अवधारणा अगाडि सारियो। अन्य, अनगिन्ती प्रकृति विरोधी कार्यक्रमको फेहरिस्त विज्ञ र पीडितहरुले खोल्दै जाने छन्।

प्रकृति र संरक्षणविदहरुलाई पीडा र दर्दका अढाई वर्ष भएका छन् अहिलेका मन्त्रीको कार्यकाल।वन मन्त्रालयमा जताततै परेको भ्वाङको समयमा उपचार गर्न सम्बन्धित सबैलाई प्रत्यक्ष भेटेर गुहारें। फोनले गुहारें। भर्चुअल मिटिङमा कराएँ।

तलदेखि माथि, राजादेखि रैतीसम्मलाई पुकारें। वनको भ्वाङ देखाउन र टाल्न वन नेतृत्वको लागि दर्जनौं लेख रचनाको सिक्लाई र अभ्यास गरें। अब नलेखूम भन्छु। फेरि मन उद्वेलित भएर आउँछ।

लेखन अब जीवनको दिनचर्या भयो। सकरात्मक सोचको अभियन्ता र वनको स्वयंसेवी रेञ्जर हुने आफ्नो ताक् नकरात्मक सोचको शिकार होला भन्ने डर। आजसम्म सन्तुलन कायम राखेको छु। धन्य पशुपतिनाथ ! धन्य प्रकृति !

समाधानको बाटो

पराईद्वारा बिजोरोपण गरिएको बिध्वंसको बममाथि आसिन छौं हामी। पहिले छिमेकीले उसको लागि रोपेको प्रजातन्त्र नामको बम। अहिले पश्चिमाले दूरदराजमा रोपेको झन शक्तिशाली आणविक बम। जसको पहिचान र उपचार गर्ने काम हामी बन्दुकेको होइन देशभक्त विज्ञहरुको नैतिक र साहसिक दायित्व हो। यहाँ वनको भ्वाङ टाल्ने तत्कालिन उपायहरु सुझाउनु आफ्नो दायित्व ठानेको छु।

१. विभागमा बचेकुचेका कर्मचारीहरुले स्वाभिमान र सगरमाथा भएर सत्यमा टेकी अटल उभिनुपर्यो। फिल्डका कर्मचारी सबल सक्षम चनाखो र दोब्बर सक्रिय हुनुपर्यो। केन्द्रको मुख नताकी स्वविवेक र स्वनिर्णयमा तर सत्य र सही काम गर्न सदा तत्पर हुनुपर्यो। जुनियर लिडरशीप, पहलता र स्वनिर्णयको सानदार र सफल अभ्यास निर्भयसाथ गरेर प्रकृतिलाई जोगाउनु बचाउनु र बढाइदिनुपर्यो।

२. कति सुन्दर ३ खम्बे संरक्षण मोडल बनाइदिएका हाम्रा दूरदृष्टि भएका अग्रजहरुले…..
त्यसैले दोस्रो ऐतिहासिक खम्बा नेपाली सेनाले प्रकृतिको स्वामित्व ग्रहण गरेर पूर्ण जवाफदेहिता सहितको संरक्षण जिम्मेवारी खापेर प्रकृति रक्षामा समर्पित हुनुपर्दछ।

आफ्नो छाता संगठन कमजोर हुँदा त्यसलाई ईमान्दार काँध थापेर प्रकृति रक्षामा आफ्नो सारा तन मन ध्यान केन्द्रित गर्नुपर्दछ। इतिहास, धर्म, संस्कृति, प्रकृति, प्राकृतिक, स्रोत र विश्व सम्पदा लुट्ने र सक्ने सुनियोजित चालबाजीलाई मुटुमा कुंदेर नेपाली सेनाले प्रकृति रक्षाको हिम्मतिलो खाका अगाडि सार्नुपर्दछ।

दोब्बर होइन चौबर धेरै परिश्रम र त्याग गर्नुपर्दछ। उहिले विज्ञले हामीलाई डाेर्याए। अब हामीले निरक्षर अनविज्ञ सरकारलाई सचेत पारौं। रिक्त स्थानको काम खापौं। विज्ञहरुलाई दुलो बाहिर निकालौं र सास भरौं।

३. तेस्रो खम्बा, बफर जोन अथवा जनताको पर्खाल सिटाको होइन, काँडेतारको पनि होइन, मजबुत फलामको भएर खडा हुनुपर्दछ। स्मरण रहोस् प्रकृतिको सच्चा हकदार र मालिक जनता स्वयं हुन्।

तसर्थ, त्यो फलामको पर्खालले मात्र बचाउन सक्छ प्रकृतिलाई। भड्खालोमा जाने केन्द्रलाई रामराम भन्न छाडेर आफ्नो प्रकृतिको साँचो आफैले लगाउन र शासनको बागडोर समाउन अब जनता अगाडि सर्नुपर्दछ तर नयाँ माटो सुहाउदो मोडलको अभ्यासमा।

४. सरकार मासिदा संरक्षण साझेदार संघ संस्था जाग्नु उठ्नुपर्दछ। विश्व वन्यजन्तु कोष, आई.यु.सि.एन, ले पथभ्रष्ट सरकार होइन प्रकृति र सम्पदाको रक्षा सम्मानमा वकालत गर्ने हो। सरकारसंगै लहसिएर भिरबाट हाम फाल्ने होइन तटस्थ रेफ्री भएर वातावरण प्रकृति र प्रकृतिका अनुपम उपहार बचाउनको लागि आफ्नो बल र ध्यान केन्द्रित गर्ने हो।

५. वातावरण सञ्चार माध्यम प्रकृति रक्षाको अर्को दरो खम्बा हो। बिडम्बना सरकारको सेवामा हराएको यो सशक्त रक्षा खम्बा अब निर्भयसाथ तटस्थ र प्रतिबद्ध भई प्रकृतिको रक्षार्थ होमिन बिलम्ब भइसकेको छ।

केन्द्रको र गुलियो चास्नीसंगको जुइनो चुँडाएर प्रकृति र प्रकृृतिका उपहारसँगको जुइनो जोड्न र साहसिक त्याग गरेर यी अमूल्य सम्पदा जोगाउन सञ्चार माध्यमले अब निर्णायक भूमिका निर्वाह गर्ने संकल्प गर्नुपर्दछ। सरकार होइन, प्रकृति र जनताको साथ र सहयोग रोज्नुपर्दछ।

६. “एकपटकको प्रकृतिप्रेमी संरक्षणकर्मी संधैभरिको संरक्षणकर्मी” भन्ने सत्यसिद्ध कहावतलाई आत्मसात् गरेर ती सपथ, तलब, डलर खाने तमाम पूर्व वनमन्त्री, सचिव, पदाधिकारी, कर्मचारी, जर्नेल कर्णेल, विज्ञ, प्राविधिक सबै सुसंगठित भएर आ–आफ्नो बलबुताले भ्याएको अनुभवी बौद्धिक शक्तिको सदुपयोग गरेर लाजको राष्ट्रिय भ्वाङ टाल्न किन योगदान र त्याग नगर्ने? कसले कहिले कहां भन्यो हाम्रो तागत् र उपयोगिता सकियो भनेर? अनि कति पद सेवा सुविधाको आशा र एम्बुस थापेर बस्ने? स्वयंसेवा किन अर्पण नगर्ने अवोध प्रकृति र लुटिएकी दबेकी मातृभूमिलाई ?

७. अन्तिम, तर महत्वपूर्ण पुकार कार्यकारी प्रमुखलाई पुनः राख्न चाहन्छु।  वर्तमान व्यवस्थाविरुद्ध पराईका अरिंगालको सुनियोजित आक्रमणलाई देख्न र प्रकृतिको धनी सुन्दर मुलुकलाई उद्धार गर्न आफ्ना बाहुलीबाट जारी पद्धति अन्त्यको घोषणा गर्नु र देशकाल, माटो, हावापानी, जनचाहना सुहाउँदो नयाँ छरितो, व्यावहारिक, परिणाममुखी, असरदार पद्धतिको खाका अगाडि सारिदिनु सर्वथा श्रेयस्कर हुने छ।

नयाँ मोडलका शासक १० जना मात्र हुन्। बिना बिचौलिया, बिना सल्लाहकार, स्वविवेक र स्वनिर्णयमा काम गर्न सक्ने त्यागीहरुको सानो डबली। अब राज्यको तलब सेवा सुविधा नलिने प्रतिबद्ध सानो शासक वर्गको समर्पण हेरौं।

१० वर्षमा नेपालको कायापलट हुने छ। नेपाल स्वर्ग हुने छ। हिरा जनताले हिरा मुलुक पाउने छन्। तपाईँलाई प्रकृति आशिष र पशुआशिष लाग्ने छ। काल्पनिक रामको अयोध्याको खोजीको सपना होइन हिरा मुलुक धर्तीलाई उपहार दिने व्यावहारिक विपना प्रकृति र मातृभूमिको माग हो। जति छिटो उति राम्रो।

(लेखक  राष्ट्रिय निकुञ्ज तथा  बन्यजन्तु  आरक्ष निर्देशनालयका पूर्व निर्देशक हुन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *