अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिन नेपालले निःशुल्क पाउन सक्ने !
काठमाडौं। भारतले आफ्नो वृहत भ्याक्सिन कूटनीति अन्तर्गत नेपाललाई निःशुल्क कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराउने नीति तय गरेको छ । भारत विश्वमै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक देश हो । विश्वकै ठूलो भ्याक्सिन उत्पादकको हैसियतले उसले भ्याक्सिन कूटनीतिमा काम सुरु गरेको छ । यस अन्तर्गत भारतले पाँच विकल्प खोजेको छ र यसमा थप काम भइरहेको छ ।
हिन्दूस्तान टाइम्सको रिपोर्टअनुसार भारतको रणनीतिमध्ये सार्कका राष्ट्रहरुलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउनेदेखि पश्चिम एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरुलाई भ्याक्सिन पुर्याउनेसम्म छन् । केन्द्र सरकारका अधिकारीहरुका अनुसार यो योजनाले अहिले अन्तिम रुप लिँदैछ । नीति आयोगका डा. भीके पलको अध्यक्षतामा भ्याक्सिनका लागि बनाइएको विशेषज्ञ समूहको सल्लाह लिइँदैछ । यो योजनाले अन्तिम रुप दिएपछि सम्बन्धित लाभग्राहीसँग सम्झौताको प्रक्रिया सुरु हुनेछ र यसलाई अन्तिम रुप दिइनेछ ।
हिन्दूस्तान टाइम्सका अनुसार भारतको यो योजनामा भारतले नै विकास गरेका र अहिले ट्रायलको क्रममा रहेका २ भ्याक्सिन समावेश हुनेछन् । यसबाहेक बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन पनि यसमा समावेश गर्ने तयारी भइरहेको छ । यो भ्याक्सिन एस्ट्राजेनेका कम्पनीले भारतको सीरम इन्स्टिच्युट अफ इण्डियासँग मिलेर बनाउँदैछ र भारतमा सिरमले नै यो भ्याक्सिन उत्पादन गर्दैछ ।
भ्याक्सिन कूटनीतिका ५ मोडलमध्ये पहिलो मोडलमा सार्क राष्ट्रका निकट छिमेकीहरुलाई निःशुल्क भ्याक्स्नि उपलब्ध गराउने तयारी छ । अधिकारीहरुका अनुसार पाकिस्तानलाई यो योजनामा राख्नेबारे सोचिएको छैन किनकि इस्लामाबाद चीनले विकास गरिरहेको भ्याक्सिनमा निर्भर रहेको मानिएको छ । दोस्रो रणनीतिमा भारतको अन्तर्राष्ट्रिय सहयोगको रुपमा गरिब देशहरुलाई भ्याक्सिन दिने योजना छ । यसबाहेक सप्लाइ ग्यारेन्टीका साथ मार्केट प्राइज पर्चेज डील गर्ने, भारतीय भ्याक्सिनको ट्रायलको लागि अन्य देशहरुसँग समन्वय गर्ने, भ्याक्स्नि स्वीकृत हुनासाथ भ्याक्सिन उत्पादनको लागि अन्य देशको सहयोग गर्ने रणनीति तय गरिएको छ ।
Facebook Comment