उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारी

डिसी नेपाल
१६ भदौ २०७७ १५:०४

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि बुधबार रातिदेखि सकिँदैछ। बुधबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निषेधाज्ञाका विषयमा निर्णय लिने बताइएको छ। सो सम्बम्धि निर्णय गर्न बुधबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने तय भएको छ।

स्रोतका अनुसार जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ। निषेधाज्ञा जारी राख्दा दैनिक श्रम गरेर गुजारा चलाइरहेका वर्ग बढी समस्यामा परेका भन्दै निषेधाज्ञालाई केही खुकुलो बनाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार भन्सारमा रोकिएका सामान ल्याउन दिने, निश्चित मापदण्ड अपनाएर उद्योगधन्दा संचालन गर्न दिने र विकास निर्माणको कामलाई पनि निरन्तरता दिने तयारी भएको छ।

‘निषेधाज्ञा खुकुलो बनाउँदा संक्रमण बढ्ने र जारी राख्दा दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग समस्यामा पर्ने अवस्था छ,’ स्रोतले भन्यो, ‘अब चाडबाड पनि नजिक आइरहेको अवस्थामा भन्सारमा रोकिएका मालसमानलाई ल्याउन दिने, सुरक्षा मापदण्ड अपनाएर उद्योग व्यावसाय सञ्चालन गर्न दिने, विकास निर्माणका कामलाई निरन्तरता दिने भन्ने विषयमा छलफल भइरहेको छ।’

सरकारले निषेधाज्ञा थप गर्ने नगर्ने भन्ने अधिकार प्रजिअलाई दिएको छ। बुधबार उपत्यकाका तीनवटै जिल्लाका प्रजिअको बैठक बसेर सो सम्बन्धि निर्णय गर्ने बताइएको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि भदौ तीन गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *