रौतहटको गरुडा प्रकरणः इन्स्पेक्टरसहित दुई प्रहरी निलम्बन

काठमाडौं। रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा प्रहरी नीरिक्षकसहित तीन जना प्रहरी अनुसन्धानका लागि निलम्बनमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार निलम्बनमा परेको गृहमन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले इन्सपेक्टर सिंह र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले दुई जना हवल्दारलाई सोमबारदेखि ६ महिनाका लागि निलम्बन गरेको हो।
जिंगडियाका २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा साउन ३२ गते गाउँकै विजयलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो।
घटनाको अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काको आदेशमा गरुडा पुगेका इन्सपेक्टर सिंहसहित सादा पोसाकका प्रहरी हवल्दार फिरोजमिया धुनिया र अर्का हवल्दार मन्नुकुमार सिंहले विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको आरोपमा उनीहरुलाई अनुसन्धानका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।
सो घटनामा राष्ट्रिय मानवअधिकार आयोगले पनि छानवीन गरिएको छ। गरुडामा अहिले डिएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ।
Facebook Comment