समुदायमा फैलियो संक्रमण, कोरोना पोजेटिभ दर ९ प्रतिशतसम्म पुग्यो

डिसी नेपाल
१६ भदौ २०७७ १७:४५

काठमाडौं। विश्वमा कोरोना भाइरसको पहिलो केस पुष्टि भएको ७ महिना पुग्दा नेपालमा कोरोना संक्रमण तिब्ररुपमा फैलिएको छ। मंगलबारमात्र १ हजार ६९ नयाँ केस आउँदा नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय नाघेको छ।

नेपालमा पछिल्लो समय संक्रमण समुदाय स्तरमा फैलिएको संकेत मिलेको विज्ञहरुले बताएका छन्। जनस्वास्थ्य विद् डा. सुरेश तिवारीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपेडेटमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमसँग कुरा गर्दै पछिल्लो एक महिनाको तथ्यांक विश्लेषण गर्दा कोरोना समुदायमा फैलिएको संकेत स्पष्ट देखिएको बताए।

उनका अनुसार पछिल्लो एक महिनामा आएका कुल संक्रमणका केस मध्ये ९६ प्रतिशत मामिला स्थानीय रहेको बताए। ९६ प्रतिशत संक्रमितको कुनै ट्राभल हिस्ट्री नभएको उनको भनाई छ।

यस्तै ४ वटा जिल्लामा हाल एकहजारभन्दा धेरै केस रहेको भन्दै त्यसलाई हटस्पष्टका रुपम हेर्नुपर्ने बताए। प्रवक्ता गौतमका अनुसार मंगलबारसम्म १२ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय केस छन्। उनका अनुसार मोरङ, चितवन, रुपन्देही, काठमाडौं, ललितपुर, बारा, धनुसा, सर्लाही, पर्सा, महोत्तरी, सप्तरी र सिराहमा ५ सयभन्दा धेरै सक्रिय केस छन्। यी मध्ये ४ वटा जिल्लामा एकहजारभन्दा धेरै सक्रिय केस रहेको डा. तिवारीको भनाई छ। सबैभन्दा धेरै सक्रिय केस काठमाडौंमा छन्। यी १२ वटा जिल्लामा हाल सक्रिय केस मध्ये करिब ७३ प्रतिशत केस रहेको उनले जानकारी दिए।

डा. तिवारीले पछिल्लो एक महिनाको तथ्यांकअनुसार महिला संक्रमित हुने दर पनि बढेको छ। उनका अनुसार ८ प्रतिशतबाट बढेर महिला संक्रमित दर २२ प्रतिशतसम्म पुगेको छ। त्यतिमात्र होइन, वृद्धहरुमा पनि संक्रमण दर बढेको उनले बताए। उनले १ प्रतिशतबाट बढेर ४ प्रतिशतसम्म वृद्धहरु संक्रमित भएको उनले जनाए।

त्यतिमात्र होइन, हरेक दिन हुने पीसीआर परीक्षणमा पोजेटिभ केस आउने प्रतिशत पनि बढेको छ। डा. तिवारीका अनुसार हाल ८ देखि ९ प्रतिशतसम्म पोजेटिभ दर भएको बताए। पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ।

यी तथ्यांकका आधारमा कोरोना संक्रमण समुदायमा गएको भन्न सकिने डा. तिवारीले बताए। उनले अब कोरोना परीक्षणको मापदण्ड पनि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले जोखिम समुदायमा परीक्षण गरेर संक्रमणको जालो तोड्न सकिने बताए।

हाल मृत्यु दर पनि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमको भनाई छ। मंगलबार सार्वजनिक गरिएको तथ्यांकअनुसार देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २३९ पुगेको छ। पछिल्लो २४ घण्टामा एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको थियो। साउन १ गते नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ थियो। मंगलबार भदौ १६ गतेसम्म आइपुग्दा थप २ सयजनाको मृत्यु भएको छ।

नेपालमा हाल कोरोना रिकभरी दर ५५ प्रतिशतमात्र रहेको छ। जुन विश्वको तुलनामा करिब १० प्रतिशत कम हो। ४० हजार संक्रमित भएकोमा २२ हजार रिकभर भएका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *