निषेधाज्ञा जारी रहँदा कोरोना संक्रमितको संख्या किन बढिरहेको छ?

डिसी नेपाल
१७ भदौ २०७७ १३:४१

काठमाडौं। काठमाडौं उपत्यका पछिल्लो समय कोरोना संक्रमणको ‘इपी सेन्टर’का रुपमा विकसित हुँदै छ। सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन साउन ६ गते औपचारिक अन्त्य भएको थियो। लकडाउन अन्त्य भएपछि काठमाडौं उपत्यका कोरोनको ‘इपी सेन्टर’ रुपमा विकसित हुन थालेको जानकारहरु बताउँछन्।

काठमाडौंमा कोरोनको संक्रमण बढ्दै गएपछि भदौ तीन गतेदेखि सरकारले निषेधाज्ञा जारी गरेको छ। ७ दिनको लागि लगाइएको निषेधाज्ञा समय नपुग्ने भन्दै १७ गतेसम्म लम्ब्याइएको थियो। पहिलो पटकको निषेधाज्ञा थप गर्दा पहिलो हप्तामा संक्रमितलाई आइसोलेसन, कन्ट्रयाक्ट ट्रेसिङ गर्ने थप १ साता देखिएकालाई आइसोलेट र कन्ट्रयाक्ट ट्रेसिङ पूरा गर्ने गरी थप गरिएको बताइएको थियो।

थप १ सातामा पहिलेको भन्दा बढ्दो क्रममा कोरोनाका संक्रमितहरु भेटिए।  कोरोना संक्रमितको पहिचान लुकाएका कारण कोरोना फैलिएको जन गुनासो बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना देखिएको ठाउँको पनि परिचय लुकाएको र कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएका कारण काठमाडौंमा भुसको आगो सरी कोरोना संक्रमण फैलिरहेको विज्ञहरुले चेतावनी दिँदै आएका छन्।

जनस्वास्थ्य विदका अनुसार काठमाडौंका मुख्य सडक र चोकहरुमा मात्र कोरोना होला झै गरेर निषेधाज्ञाको पालना गराइरहेको र गल्लीहरुमा वास्ता नगरेका कारण कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दो क्रममा रहेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने तथ्य सूचना दिन आनाकानी गरिरहेको छ। स्वास्थ्य मन्त्रालयले संक्रमितको पहिचान लुकाएकोले कोरोना संक्रमण फैलिरहेको छ भन्ने जनगुनासो छ नि भन्ने प्रश्नमा सूचना अधिकारी गणेश श्रीवास्तवले संविधानमा भए अनुसार गरिएको बताए।

नेपालको संविधानको धारा २८ मा गोपनीयतको हक राखिएको छ। उक्त धारामा भनिएको छ, ‘कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ।’

संविधानको धारा २८ले भने बमोजिम संक्रमितको परिचय गोप्य राखिएको हो भने केही ‘हाइप्रोफाइल’ व्यक्तिहरुको परिचय किन बाहिरिन्छ? कर्णाली प्रदेशका सांसद तथा पूर्व मन्त्री जीवनबहादुर शाहीले आफूलाई थाहा हुनुपूर्व नै कोरोना संक्रमण भएको समाचार बाहिरिएकोले आफू झण्डै डिप्रेसनमा गएको बताएका थिए।

जनस्वास्थ्य विद डा. रविन्द समिर पनि विज्ञको सुझाव अनुसार अल्पकालीन र दीर्घकालीन रणनीति तयार नगरेका कारण कोरोनाको संक्रमणमा कमी नआएको बताउँछन्। उनले निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएका कारण, न्यून आय भएका नागरिकलाई आवश्यक राहत नदिँदा जोखिम मोलन बाध्य भएको कारण, भारतीय मजदुर, संक्रमित जिल्लाबाट आएका व्यक्ति र गल्लीका व्यवसायीहरुलाई खोजी खोजी परीक्षण नगरेका जस्ता कारणबाट कोरोनाको जोखिम बढ्दै गएको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *