भारतले जबसम्म सीमा विवाद सुल्झाउँदैन तबसम्म समस्या भइरहन्छ : परराष्ट्र मन्त्री

डिसी नेपाल
१७ भदौ २०७७ १८:५९

काठमाडौं। नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आएको बेला नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल–भारत सीमा विवाद नसुल्झिएसम्म समस्या भइरहने बताएका छन्। उनले भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि उदासिनता देखाएको समेत बताएका छन्। उनले नेपाल–भारत सम्बन्धमा भारतले सीमाको मुद्दालाई महत्व नदिएकोसमेत बताएका छन्।

बीबीसी हिन्दीसँगको कुराकानीमा मन्त्री ज्ञवालीले इतिहासका असुल्झिएका सवाललाई वार्ताका माध्यमबाट सुल्झाउनुपर्ने बताएका छन्।

उनले भारतसँग नेपालको सम्बन्धका धेरै आयम रहेको भन्दै सीमा विवादका कारण सबै कुरा रोकिन नहुनेसमेत बताएका छन्। उनले अन्य आयमलाई ठिक ढंगबाट अगाडि बढाउँदै सीमा मुद्दालाई पनि समाधान गर्नुपर्ने बताएका छन्।

नेपालका लागि लिपुलेक र कालापानीका मुद्दा निकै महत्वपूर्ण भएको भन्दै यो मुद्दा सम्प्रभुता र अखण्डतासँग जोडिएको मन्त्री ज्ञवालीले बताएका छन्। उनले सीमा समस्या कुनै पनि हालतमा समाधान हुनुपर्ने बताए। उनले सीमा समस्या समाधानका लागि ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणलाई आधार बनाउनुपर्नेसमेत बताएका छन्।

मन्त्री ज्ञवालीले भारत र नेपालमा हिन्दु बहुल समाज रहे पनि यसले द्वीपक्षीय सम्बन्धमा खासै महत्व नराख्ने बताए। उनले नेपाल र भारतबीच धेरै कुरामा समानता रहेको भन्दै यस्ता विषयले सम्बन्धलाई बलियो बनाउने बताए। उनले भारत र नेपालबीचका सांस्कृतिक समानाताले दुई देशका जनताबीचको सम्बन्धलाई पनि बलियो बनाएको बताए।

उनले नेपाल र भारतबीचको सम्बन्धमा कहिलेकाहीँ उतारचढाव आइरहेको भन्दै सांस्कृतिक सम्बन्धको आधार निकै बलियो रहेको बताए। उनले यसैकारणले दुबै देशका जनताबीच राम्रो सम्बन्ध बनिरहेको उल्लेख गर्दै संस्कृति र धर्मलाई एकआपसमा मिसाउन नहुने बताए। उनले धर्म निजी सवाल भएको भन्दै धर्मलाई कुनै देशको आन्तरिक र द्वीपक्षी मामिलामा ल्याउन नहुने बताए।

भारतले गत वर्ष नयाँ नक्सा जारी गर्दै नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेपछि नेपालले कडा आपत्ति जनाएको थियो। त्यसपछि भारतले नेपाली भूमि हुँदै लिपुलेकमा सडक बनाएपछि नेपालले नयाँ नक्सा जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको छ। तर, अझ पनि कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी तैनाथ छन्। भारतले नेपालको नयाँ नक्सालाई अस्वीकारसमेत गरेको छ। जसका कारण नेपाल र भारतबीच पछिल्ला दिनहरुमा सम्बन्ध तिक्ततापूर्ण बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *