रौतहट घटनाका दोषीलाई कडा कारबाही गर्न अधिवक्ता डा. त्रिपाठीको माग

डिसी नेपाल
१८ भदौ २०७७ १५:५२

काठमाडौं। वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणका दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर अधिवक्ता त्रिपाठीले यस्तो माग गरेका हुन्। उनले राज्य संयन्त्रको कारणले कोरोना महासंकटको अवधिमा मानवअधिकारको गम्भीर हनन् भएको टिप्पणी गरे। उनले आज राज्य नै ठूलो भक्षकको रुपमा देखा परेको सुनाए। उनले श्रृंखलावद्ध रुपमा अहिले नागरिकहरुको अधिकार अपहरण भैरहेको पनि आरोप लगाए।

उनले धनुषामा शम्भु सदाको पनि हिरासतमै मृत्यु भएको र अहिलेसम्म दोषीहरुलाई कसैलाई कारबाही नगरिएको स्पष्ट पारे। उनले भने, यो आफैंमा लज्जाको विषय हो। ईट्स अ म्याटर अफ शेम। यो नेपालको लागि एउटा अन्तर्राष्ट्रिय लज्जाको विषय हो।’ पीडित परिवारको जाहेरी प्रहरी प्रशासनले लिनैपर्ने उनको भनाइ छ। उनले उक्त घट्नाको बारेमा वस्तुगत र वैज्ञानिक छानबिन हुनैपर्ने पनि माग गरे।

कार्यक्रममा अधिवक्ता शैलेन्द्र अम्बेडकरले पीडित परिवारको तर्फबाट जाहेरी दर्ता गर्न जाँदा अहिलेसम्म जाहेरी दर्ता नगरेको अवस्था सुनाए। उनले भने, ‘तीन जना प्रहरीलाई निलम्बन गरेको देखिन्छ। तर, अहिलेसम्म ईन्चार्जमाथि निलम्बन गरेको अवस्था छैन।’ हिरासतमा लिएर चरम यातना दिनु र त्यही कारणले मान्छेको ज्यान जानु त्यो गम्भीर प्रकृतिको अपराध भएको उनको भनाइ छ।

उक्त प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बनमा परेका छन्। प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन्।

गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो। हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ।

यसबारे अनुसन्धान हुने भएपछि उनको सोधपुछमा संलग्न ईन्स्पेक्टर नविन कुमार सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंह निलम्बनमा परेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *