उपत्यकामा ४४५ सहित थप एक हजार २२८ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २४ हजार नाघ्यो
काठमाडौं । बिहिबार उपत्यकामा ४४५ सहित देशभर एक हजार २२८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार २२८ संक्रमित थपिएको जानकारी दिए।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ३५७ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ४६ जना गरी काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको छ।
हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या २५७ पुगेको छ। गत २४ घण्टामा १३ हजार ४१३ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ७४९ जना क्वारेन्टिनमा रहेका छन्।
Facebook Comment