अमेरिकाको खोप प्रयोगमा आउँदै ! खोप दिने तयारी गर्न स्वास्थ्य अधिकारीलाई निर्देशन
काठमाडौं। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले राज्यका स्वास्थ्य अधिकारीहरुलाई अक्टोबर महिनाको अन्तिमसम्म उच्च जोखममा रहेका नागरिकहरुलाई भ्याक्सिन दिन तयारी गर्न निर्देशन दिएको छ । बुधबार एजेन्सीले प्रकाशित गरेका दस्तावेजमा यसको खुलासा भएको हो ।
अमेरिकामा यसरी भ्याक्सिन दिने समय निर्धारण गरिनुलाई राजनैतिक दृष्टिले हेरिएको छ किनकि आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको चुनाव हुँदैछ । यस्तोमा चुनावको ठिक अगाडि भ्याक्सिन दिने मिति तोकिनुलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रभावित पार्ने रणनीतिको रुपमा लिइएको छ ।
केही समयअघि अमेरिकी राष्ट्रपति ट्रम्पले समयमै भ्याक्सिन ल्याउने घोषणा गरेका थिए । भ्याक्सिन गर्नको लागि अर्बौं डलरको प्रतिबद्धता गरेपछि उनले नोभेम्बरमा हुने निर्वाचनमा आफूलाई जिताउन अमेरिकीहरुसँग माग गरेका थिए । राष्ट्रपति ट्रम्प कोरोना भ्याक्सिनको विषयमा पहिलेदेखि नै सक्रिय रुपमा बोलिरहेका छन् किनकि यसले अमेरिकामा १ लाख ८० हजारभन्दा धेरैको ज्यान लिइसकेको छ ।
सीडीसीका प्रवक्ताले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भनेका छन् ‘सीडीसीले एउटा खास तयारी गरेको छ जसअनुसार राज्यहरुलाई भ्याक्सिन वितरणको लागि भनिएको छ ताकि सम्भवतः अक्टोबर र नोभेम्बरमा सीमित मात्रामा भ्याक्सिन दिन सकियोस् ।’ यसअघि न्यूयोर्क टाइम्सले पनि सीडीसीले ५० राज्य र ५ ठूला शहरका अधिकारीहरुसँग यसबारेमा सम्पर्क गरेको समाचार छापेको थियो ।
अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले बुधबार कोभिड १९ का कैयौं भ्याक्सिनको ट्रायल फरक फरक चरणमा रहेको बताएका थिए । उनले ट्रायल पूरा नभइसकेकोले भ्याक्सिन कति प्रभावकारी छ भन्ने जानकारी नोभेम्बर–डिसेम्बरसम्म आउने बताएका थिए । सीडीसीले भने अक्टोबरसम्म अमेरिकामा एक वा दुई भ्याक्सिन उतार्ने तयारी गरेको छ । यसको मात्रा सीमित भए पनि भ्याक्सिन दिने तयारी तीब्र रुपमा चलिरहेको छ ।
Facebook Comment