प्रकृतिमाथि प्रविधिको प्रहार : सङ्कटमा ग्रामीण क्षेत्र

डिसी नेपाल
२० भदौ २०७७ ९:४५

गलेश्वर । वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावी खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृतिक स्रोत विनास हुनेक्रम बढ्दै गएको छ।

हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना, कृषि सडक, चुनावी प्रतिबद्धता तथा स्थानीयको मागका आधारमा सडक विस्तार भइरहेको छ । सडक विस्तार गर्दा न वातावरणीय अध्ययनको मूल्याङ्कन गरिन्छ न त दक्ष प्राविधिकको राय लिइन्छ । पश्चिम र उत्तरी म्याग्दीमा गत असारयता गएका पहिरो र भएको मानवीय तथा भौतिक क्षतिको प्रमुख कारण जथाभावि खनिएका सडक नै भएको वन तथा वातावरण संरक्षणको क्षेत्रमा लागेको व्यक्तिको भनाइ रहेको छ । वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार दीगो विकासका न्यूनतम मापदण्ड पालन नगरी ठूला उपकरणको प्रयोग गरेर सडक खनिदा वर्षेनी बाढी र पहिराको प्रकोप बढ्दै गएको हो।

वातावरणविद् सापकोटाले भने, “मानवीय क्रियाकलाप नै बाढी पहिराको प्रमुख कारण हो, यहाँको भूगोल पनि अत्यन्त कमजोर हुनु, भीरालो क्षेत्र र सोही क्षेत्रको सिरान र पुछारमा खनिएका मोटरबाटो विपत्तिका कारक हुन् ।” सापकोटाका अनुसार सडक विकासको मेरुदण्ड भएपनि निर्माण गर्दा केही निश्चित सर्तहरु पालना गर्नै पर्छ । ग्रामीण क्षेत्रका अधिकांश भूभागहरु भिरालो भएकोले त्यहाँ सडक खन्दा साना र हलुका इक्युभमेन्टको प्रयोग गर्नुपर्दछ । तर सस्तो र छिटो मोटरबाटो निर्माण गर्ने होडमा हेभी इक्युपमेन्ट प्रयोग गर्दा त्यसले जमीन खल्बलाइ दिने र पानी पर्दा बग्ने समस्या रहन्छ ।

त्यसैगरी सडक खनेपछि सडकको दुवैतर्फ पानीको निकास दिने, वृक्षरोपण गर्ने, फिलिङ गर्ने, सडकको कटिङ गर्दा प्राविधिक सल्लाह लिनुपर्छ । ग्रामीण सडकमा न्यूनतम मापदण्ड पूरा नगरिएको उनको भनाइरहेको छ । त्यस्तै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख सन्तोष खनालले म्याग्दी जिल्ला तीन वटा ठूला जलप्रवाहको जलाधार क्षेत्र भएकाले यहाँको माटो बलौटे हुँदा बाढी र पहिराको उच्च जोखिममा रहेको बताए।
उनले जथाभावी खनिएका सडकका कारण प्राकृतिक स्रोतको विनास भएता पनि म्याग्दीको हकमा भने वन क्षेत्र नघटेको र यसले वन पैदावर र जङ्गली जनावरलाई क्षति नपुगेको तर्क गरे।

वन क्षेत्रमा नोक्सानी नभए पनि ग्रामिण क्षेत्रमा कृषि, जडिबुटी, बुट्यान र रुख विना प्रयोजन नष्ट गरिएको उनको भनाइ थियो । त्यसैगरी जैविक विविधतामा ह्रास आउनुका साथै प्रविधिको प्रयोग गरी खनिएका सडकमा वातावरणीय अध्ययन गर्न आवश्यक रहेको उनले बताए।

त्यसैगरी वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले भिरालो भूगोल, कमजोर भूवनोट, छोटो अवधिमा हुने अधिक मनसुनी वर्षाजस्ता प्राकृतिक कारण क्षति भएको बताए। उनले अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणा विपरीत जथाभावी सञ्चालन गरिने विकास निर्माणका कार्य, वनजङ्गलको विनाश, जनचेतनाको कमी आदि मानवीय कारणले गर्दा नेपालका गाउँबस्ती र कतिपय शहर बजारसमेत हरेक वर्ष बाढी र पहिरोको चपेटामा परी धनजनको क्षति हुँदै आएको बताए।

राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना विसं २०७४ देखि शुरु भएको हो । त्यससमय आयोजनाका इञ्जिनीयर र प्राविधिकको वैज्ञानिक सडक सर्वे अध्ययन अभावका कारण बेनी—जोमसोम सडकको विभिन्न स्थानमा सालैपिच्छे बर्खायामको मौसममा वातावरणीय विनास हुँदै आइरहेको छ । त्यसो त सडक विस्तारको भौगोलिक सर्भेअघि त्यहाँका माटो परीक्षण लगायत अध्ययन गरिनुपर्ने हुन्छ ।

बेनी—जोमसोम सडकको म्याग्दी र मुस्ताङ खण्डको थासाङमा कमजोर भूसतहका कारण सडकसँगै आएको बाढीपहिरो र नदी कटानले वनजङ्गलको विनास भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *