नेपाल–तिब्बत रेलसहितका योजनामा चीनले नेपालको बजेटभन्दा ११ गुणा धेरै लगानी गर्दै

डिसी नेपाल
२२ भदौ २०७७ १०:३५

काठमाडौं। चीनले तिब्बतमा १ ट्रिलियन युआनभन्दा धेरै लगानी गरेर ठूला संरचना निर्माणको तयारी गरेको छ । चीनको योजनामा महन्वाकांक्षी शिगात्से–काठमाडौं रेलमार्ग पनि समावेश छ । यो रकम १४६ अर्ब अमेरिकी डलर हुन्छ । नेपाली रुपैयाँमा यो रकम १७१ खर्बजति हुन आउँछ जुन रकम नेपालको वर्षभरीको बजेटको ११ गुणाभन्दा बढी हो । नेपालको चालु आर्तिक वर्षको कूल बजेट १४ खर्ब ७४ अर्ब रुपैयाँको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले यो रकम पहिल्यै घोषणा भइसकेका र नयाँ परियोजनामा लगानी गर्दैछ ।

दक्षिण पश्चिमका ग्रामीण क्षेत्रहरुमा चीनले यसरी विकासको लागि लगानी बढाउनुलाई भारतसँग हालै भएको सीमा तनावका बीच आफ्नो सीमा सुरक्षालाई बढावा दिने उद्देश्य राखिएको मानिएको छ । गत हप्ता कम्युनिस्ट पार्टीका बरिष्ठ नेताहरुको बैठकमा राष्ट्रपति शी जिनपिङले सीमाको मोर्चामा खटिएका अधिकारीहरुको प्रशंका गर्दै यस क्षेत्रमा एकतालाई सुदृढ बनाउँदै समृद्धितर्फ जान अझै धेरै प्रयास आवश्यक रहेको बताएका थिए । बैठकमा जिनपिङले सिचुआन–तिब्बत रेलवेसहित कैयौं ठूला परियोजनाहरुलाई पूर्णता दिने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लेखेको थियो ।

चीनको ठूलो बजेटका परियोजनामा चुनौतीपूर्ण सिचुआज–तिब्बत रेलवेको निर्माण पूरा गर्नेदेखि नेपाल–तिब्बत रेलवेको निर्माणसम्म समावेश छ । यसबाहेक तिब्बत स्वायत्त षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्ने योजना पनि थप गरिएको छ । रोयटर्सलाई यो परियोजनासँग सम्बन्धित ३ स्रोतले यो जानकारी दिएका हुन् तर उनीहरुले आफूहरु मिडियामा यो सूचना दिन आधिकारिक नभएको भन्दै पहिचान खुलाउन भने अस्वीकार गरे । लक्षित लगानीमध्ये कति अहिले थप गरिएको हो र यो सबै लगानी कति वर्षको अवधिमा गरिनेछ भन्ने अहिले प्रस्ट भइसकेको छैन ।

रोयटर्सले यस विषयमा प्रतिक्रिया माग्दा चीनको स्टेट काउन्सिलको सूचना कार्यालय र तिब्बतको क्षेत्रीय सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । स्रोतमध्येका २ ले चेंगडु र ल्हासा जोड्ने सिचुआन–तिब्बत रेलवेको सबैभन्दा कठिन क्षेत्रमा निर्माण कार्य आउँदो हप्तामै सुरु गरिने बताएका छन् । सिचुआन–तिब्बत रेलवेको २७० अर्ब युआन लगानी गरिने क्षेत्र निकै कठिन भौगोलिक स्थितिको लागि परिचित छ । यो खण्डले चीनको सिचुआन प्रान्तको यान शहरलाई दक्षिण पूर्वी तिब्बतको न्यींग्ची शहरसँग जोड्छ । न्यींग्ची बहर भारतसँगको सीमा नजिकै भएकोले यसले भारतको पनि चिन्ता बढाउनेछ ।

बेइजिङले काठमाडौं र शिगात्से जोड्ने नेपाल तिब्बत रेलमार्गलाई पनि अगाढि बढाउन चाहन्छ । यो नेपाल र चीनबीच २०१८ मा भएका द्विपक्षक्ष्य सम्झौतामध्येको एक हो । अहिलेसम्म यो परियोजनाले धेरै महत्व पाएको थिएन तर अहिले चीनले यसलाई प्राथमिकतामा राखेको छ । चीनको यो सक्रियताले नयाँ दिल्लीको समेत चिन्ता बढाएको छ ।

नेपाल चीन र भारतबीचको देश हो र नेपाललाई नयाँ दिल्लीले आफ्नो प्राकृतिक सहयोगी ठान्छ तर चीनको पछिल्लो लगानीले नयाँ दिल्लीलाई सशंकित बनाएको छ । चीनले लामो समयदेखि तिब्बतमा तीब्रगतिको रेल संचालन गरेर आफ्ना भित्री प्रान्तहरुसँगको संजालमा तिब्बतलाई जोड्ने लक्ष्य राखेको छ । गत महिना मात्र चीनले आफ्नो देशको रेल संजाललाई आगामी १५ वर्षमा एक तिहाइ बढाउने घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *