प्रयोगविहीन अवस्थामा स्वास्थ्य उपकरण

डिसी नेपाल
२३ भदौ २०७७ १३:२०

राजविराज । भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा थन्किएका छन्।

भौतिक पूर्वाधार तथा उपकरण चलाउने दक्ष जनशक्ति अभावका कारण अस्पतालका आइसियु कक्षमा प्रयोग हुने ती महँगो उपकरण (भेन्टिलेटर) प्रयोगविहीन अवस्थामा थन्किएका हुन् । महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा यसले स्वास्थ्य सेवा प्रवाहमा समेत असर पु¥याएको छ।

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको पहलमा अस्पतालमा चार थान भेन्टिलेटर उपलब्ध भएको थियो । ती उपकरण प्रयोगमा आउन नसक्दा बिरामी अन्य अस्पतालमा रिफर भएर उपचार लिन बाध्य छन् ।  सप्तरीमा समुदायस्तरमा नै कोरोना सङ्क्रमित भेटिएको छ । कतिपय सङ्क्रमितको उपचारका लागि भेन्टिलेटर आवश्यक पर्दा त्यसको अभावमा उनीहरुलाई विराटनगर र धरान रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्ड डाक्टर रञ्जीत झाले बताए।

जटिल समस्यामा पुगेका बिरामीलाई भेन्टिलेटर र आइसियु अति आवश्यक रहे पनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नुपरेको उल्लेख गर्दै उनले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको बताए।

जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म आठ जनाको ज्यान गइसकेको छ। भेन्टिलेटर र आइसियु नभएका कारण कोरोना सङ्क्रमितलाई अन्यत्र उपचारको लागि लगिने क्रममा ढिलाइ भएका कारण पनि ज्यान जाने गरेको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीको भनाइरहेको छ।

करिब १७८ श्यया भएको साइकृष्णा मेडिकल कलेजमा सञ्चालित आइसोलेसन कक्षमा भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदासमेत कोरोना सङ्क्रमित तथा अन्य जटिल प्रकृतिका रोगीको उपचार हुन नसकिएर अकालमै ज्यानसमेत जाने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमणसँगै अस्पतालमा बिरामीले अकालमै ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दै जाँदा बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी भेन्टिलेटर र आइसियु सेवा सञ्चालन गर्न स्थानीयवासीको माग छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *