नेकपा स्थायी कमिटी बैठकका एजेण्डा यस अघि कै कि नयाँ ?

डिसी नेपाल
२३ भदौ २०७७ १३:३६

काठमाडौं। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी २६ गते बोलाउने सहमति भएको छ। नेकपामा आन्तरिक विवाद बढेपछि गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १७ गतेपछि बस्न सकेको छैन ।

यो अवधिमा स्थायी कमिटी बैठक पटक–पटक गरी सातपल्ट स्थगित भइसकेको छ। अध्यक्षद्वय ओली र प्रचण्डबीच कुरा नमिलेका कारण स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

तर शुक्रबार दुई अध्यक्षबीच भएको सहमतिपछि शुक्रबार स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो। पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ।

पार्टी भित्रको विवाद उत्कर्षमा पुगेपछि महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले प्रतिवेदन बुझाइ सकेको भने उक्त प्रतिवेदन कार्यान्वयन गर्न अध्यक्षद्वयले कार्ययोजना बनाइरहेका छन्।

नेकपाले स्थायी कमिटीका लागि वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र संगठनात्मक एकताको बाँकी काम, अमेरिकी सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) र विविध गरी सातवटा एजेण्डा तय गरेको थियो।

विविध प्रस्तावअन्तर्गत रुकुम घटना, नागरिकता विधेयक र कोभिड–१९ को कहरका कारण सांसद र अन्य राजकीय पदमा रहेकाहरूको सेवा, सुविधा, भत्ता कटौतीबारे छलफल गर्ने कार्यसूची राखिएको थियो। बैठकको सुरुको दिन अध्यक्षद्वय ओली र दाहालले सम्बोधन गर्नुभएको थियो । यस्तै, असार १२ र १३ गते बसेको बैठक नयाँ नक्सा प्रकाशन र सीमा समस्यामा केन्द्रित भएको थियो।

तर, असार १४ गते प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टीका नेताहरू भारतसँग मिलेर सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप लगाएपछि बैठकको कार्यसूची परिवर्तन हुन पुगेको थियो।

असार १६ गतेको बैठकमा सचिवालयका पाँचजना नेतासहित ११ स्थायी कमिटी सदस्यले उनको राजीनामा मागेका थिए भने असार १८ गते प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएनन्। त्यही समयमा उनले संसद्को चालु अधिवेशन अन्त्य गरेपछि नेकपाको विवाद चुलिएको थियो।

नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले यसअघि स्थायी कमिटीमा उठेका एजेण्डा अन्य समसामयिक विषयलाई समेटेर कार्यदलले प्रतिवेदन दिएको उक्त प्रतिवेदनलाई सविचलाय बैठकले पनि पारित गरेको अवस्थामा कार्यदलको प्रतिवेदनमा विषयमा स्थायी कमिटी बैठकमा छलफल हुने जानकारी दिए।

‘पार्टीभित्रको सम्पूर्ण विवाद समाधान हुने गरी कार्यदलले प्रतिवेदन बुझाएको छ,’ नेम्वाङले भने, ‘उक्त प्रतिवेदन सविचलायले समेत पारित गरिसकेको छ। अब त्यसमा समेटिएका विषयमाथि स्थायी कमिटी बैठकमा छलफल हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *