यस वर्षको ‘युनेस्को किंग शेजोङ साक्षरता पुरस्कार’ नेपाली संस्थालाई

डिसी नेपाल
२४ भदौ २०७७ १२:५२

काठमाडौं। यस वर्षको ‘युनेस्को किङ शेजोङ साक्षरता पुरस्कार’ नेपाली संस्थाले जितेको छ । साथमा बेलायतमा आधारित अर्को एक संस्थाले पनि यो पुरस्कार पाएको छ । नेपालमा रहेको गैर सरकारी संस्था ‘एजिङ नेपाल’ र बेलायतको ‘युनाइटेड वर्ल्ड स्कुल’ नामक संस्थालाई यो पुरस्कार दिइएको छ । पुरस्कार विजेता दुवै संस्थाले २०–२० हजार अमेरिकी डलर पाएका छन् ।

नेपालको संस्था एजिङ नेपाल २०१६ मा स्थापना भएको हो र यसले १८० वृद्धहरुलाई नेपाली लेखपढ गर्न सिकाएवापत यो पुरस्कार पाएको हो । एजिङ नेपाल आफ्नो सृजनात्मक कक्षाहरुको लागि परिचित छ । यो संस्थाले आफ्ना विद्यार्थीहरुलाई स्थानीय बजारमा भ्रमणमा लगेर सडकका संकेतहरु र बोर्डमा लेखिएका कुराहरु पढ्न र सिक्न प्रात्साहित गर्ने लगायतका कामहरु गर्छ ।

युनाइटेड वर्ल्ड स्कुल बेलायती च्यारिटी हो जसले नेपाल, कम्बोडिया र म्यानमारमा बालबालिकाहरुलाई निःशुल्क शिक्षा उपलब्ध गराउन काम गर्छ । युनाइटेड वर्ल्ड स्कुलले २००८ देखि अहिलेसम्म ४ सय शिक्षकहरुलाई प्रशिक्षित गरेको छ र यसको स्कुल नेटवर्कमा ३५ हजार विद्यार्थीले शिक्षा लिएका छन् । यस वर्षको पुरस्कार भने यो च्यारिटीले म्यानमारको शान राज्यमा गरेको कामको लागि दिइएको हो । दुवै संस्थालाई मंगलबार आयोजित एक भर्चुअल कार्यक्रममा पुरस्कार प्रदान गरिएको छ ।

यो पुरस्कार हरेक वर्ष साक्षरता प्रबर्द्धनका लागि काम गर्ने २ संस्थालाई प्रदान गरिन्छ । पुरस्कारको राशी २० हजार डलरको छ । यो पुरस्कार कोरिया सरकारको सहयोगमा १९८९ मा स्थानपना गरिएको हो । कोरियाली लेखन प्रणाली हाङगेउलका रचनाकार राजा शेजोङ द ग्रेट (१३९७–१४५०) को सम्मानमा कोरिया सरकारले यो पुरस्कार स्थापना गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *