गैंडाको हत्या राष्ट्रिय बद्नामी, हत्यारा उक्साउन बन्द गर

डिसी नेपाल
२५ भदौ २०७७ ८:५९

पूर्वानुमान, पूर्वजनाउसहित सचेत गराउँदा गराउँदै विश्व सम्पदामा सूचिकृत नेपालको पहिलो र सबैभन्दा बढी प्राथमिकता दिइएको चितवन राष्ट्रिय निकुञ्जमा केही दिनअघि गोली प्रहार गरी गैंडा मारियो। नेपालमा चितवन गैंडाको मूलघर मानिन्छ।

नेपालको प्रतीक मानिने र भगवान भनेर पूजासमेत गरिने एक सिङ्गे गैंडाले आफ्नै मूलघर र विश्व सम्पदामा चोरी शिकारीको गोलीद्वारा मृत्युवरण गर्नुपर्यो। गैंडाको चोरी शिकार शून्य गरेर धेरै वर्ष राष्ट्रिय अन्तर्राष्ट्रिय स्यावासी पाएको मुलुकमा गैंडाको पुनः चोरी शिकार हुनु राष्ट्रिय अपमान र बदनामीको कुरा हो।

पूर्वानुमान चित्र
लकडाउनका कारण फुर्सद् बढेको छ। वैदेशिक रोजगार धाराशायी भएपश्चात घर फर्केका युवाहरु छन्। आर्थिक मन्दी र अभाव छ। गरिबी र बेरोजगारी भयावह नै छ। राजनीतिक वितृष्णा र आर्थिक सामाजिक परिवेशमा कोभिड–१९ ले ल्याउने अकल्पनीय परिवर्तनले प्राकृतिक सम्पदाको दोहन, विनास र लुट् बढ्ने छ भन्ने सबैको पूर्वानुमान थियो।

केन्द्रदेखि स्थानीय तहसम्मको भ्रष्टाचार, कानूनी राज्यको उपहास, संरक्षणप्रति राष्ट्रिय उपेक्षा, शून्य केन्द्रीय अनुगमन र निर्देशनले पनि चोरी शिकारीलाई उचाल्ने उक्साउने र उत्साहित पार्ने काम गराइरहेको थियो। विश्व महामारीले चोरी शिकारी र वन्यजन्तुको अवैध अङ्ग व्यापार वृद्धि हुने तथा समग्र प्रकृतिमाथि दोहन र विनासको प्रहार हुने पूर्वानुमान लगाइएको थियो।

लापरवाहीको हद
३ वर्ष अगाडिको भीषण बाढी र डुबानले गैंडा अड्न नसकेर बगेर भारत पुगे। बाघको आहार प्रजातिहरू हजारौंको संख्यामा बगेर भारत पुगे। गैंडाको वासस्थान, घाँसे मैदान, पानीको स्रोत, पोखरी, घोल पुरिएर मरुभूमि भए। त्यसकाे विज्ञहरुद्वारा गहिरो र विस्तृत अध्ययन अनुसन्धान हुनुपर्ने थियो। त्यसबाट क्वीक् ह्याबिटेट् रिकोभरीको प्रयास थाल्नुपर्ने थियो। हामी कानमा तेल हालेर बस्यौं।

लगातार २ वर्ष विभिन्न बहानाबाजी गरेर गैंडा गणनाको पूर्व निर्धारित काम हापिदियौं। बाघ गणना गर्यौं तर अकल्पनीय क्षतिको निकास र एग्रेसिभ् संरक्षणको मोडल अनुकरण गर्न डराएर बाघ गणनाको नतिजा प्रकाशित गर्न बिलम्ब गरेर जग हँसायौं २ वर्ष पहिले।

५ वर्षसम्म राष्ट्रिय बाघ संरक्षण समितिको मिटिङ राखेर बाघको अद्यावधिक जानकारी लिने र संरक्षणको संकल्प एवं निर्देशन दिने काम गरेनौं। ६ दर्जन गैंडा भकाभक् मर्दा कालगतिले भनेर पन्छायौं। व्यापक दबाबपछि छानबिनको काम अगाडि बढ्यो। हचुवाको औपचारिकता निभाउने र जनताका आँखामा छारो हाल्ने त्यो छानबिनको सत्य तथ्य रिपोर्ट र समाधानका उपाय के आयो कसैलाई पत्तो छैन।

कोभिड–१९ ले नेपाली सेनाको अदलीबदली, स्मार्ट व्यवस्थापन र परिचालन, अनुगमन र अपरेशनमा प्रभावकारिता हुन सकेन। टीम र इण्टेलिजेन्सविनाको एक्लो सुरक्षाकर्मी अपरेशनल प्रभावकारी हुन सकेन। चितवनजस्तो कडा सुरक्षा घेरा भएको निकुञ्जमा २७ वटा पाटेबाघ घटेको अकल्पनीय परिणाम आयो। ७३ वटा गैंडाको मृत्यु भयो। अहिले गैंडाको गोली लागेर मृत्यु भयो। संरक्षित गोहीहरुको चोरी शिकार भयो।

वन्यजन्तु विज्ञान, अध्ययन र अनुसन्धानको विश्वासिलो जग र स्थायी संस्था ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ लाई सुनियोजित नेतृत्वविहीन राखेर पेवा र दुहुनु बनाइएको छ। घाइते, बिरामी दीर्घ रोगी र समस्याग्रस्त वन्यजन्तुको सानदार र सफल नियन्त्रण, उद्धार र उपचार गर्दै आएको विशिष्ट प्राविधिक सीपको सदुपयोग गर्न कोषको प्राङ्गणमा निर्मित ‘एनिमल अस्पताल’ को प्रयोगको सुविधाबाट उल्टो कोषलाई वञ्चित गरेर बिरामी वन्यजन्तुको उपहास जारी छ। सरकार यतिसम्म गैरजिम्मेवार छ कि कोषलाई भक्तपुर प्राणी उद्यान निर्माण सम्पन्न गराई चिडियाखाना स्थानान्तरण गर्ने अधिकारसम्म दिएको छैन।

राष्ट्रपति चुरे कार्यक्रमको उपहास गर्दै वैज्ञानिक वन व्यवस्थापनको नाममा सदियौं वर्ष पुरानो साल वन फँडानीको दुखद् घटना बाघ गैंडालगायतका वन्यजन्तुको विनासतर्फ लक्षित थियो। कथित सुकुम्बासीका नाममा खर्चिएको वनक्षेत्र प्रकृति विरुद्धको अर्को प्रहार थियो। समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा समूहको सशक्त सञ्जाललाई अहिले मासिसकिएको छ। स्थानीय समुदायलाई चटक्क बिर्सिएको छ सरकार र सम्बन्धित निकायले।

राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति र वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको एउटा मिटिङ नराखेर बहुउपयोगी ज्यादै प्रभावकारी ती पूर्व स्थापित संस्थाहरुलाई निस्प्राण बनाइएको छ। प्रदेश र स्थानीय तहसम्मको चेन अफ कमाण्ड टुटेको छ। राष्ट्रिय टीम बिल्डिङ, टीमवर्क, ईण्टेलिजेन्स सेयरिङ र क्षेत्रीय अन्तर्राष्ट्रिय सम्पर्क, सम्बन्ध, समन्वय र सहकार्यको ढोका बन्द भइसकेको छ।

यी तमाम् काम गर्ने गराउने मुख्य सेतु र समन्वयकारी एवं नेतृत्वदायी भूमिका निभाउने महानिर्देशक ४/४ महिनासम्म नियुक्ति नगरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई इतिहासमा पहिलोपटक यति धेरै पंगु बनाइएको छ। ३ जनामध्ये भएको १ जना सहसचिव डीडीजीलाई समेत प्रदेश सरुवा गरेर वन्यजन्तु र सो काम हेर्ने विभागप्रति वेवास्ता गरिएको छ।

परिणाम
कोभिड–१९ ले नेपाली सेनाको अदलीबदली, स्मार्ट व्यवस्थापन र परिचालन, अनुगमन र अपरेशनमा प्रभावकारिता हुन सकेन। टीम र इण्टेलिजेन्सविनाको एक्लो सुरक्षाकर्मी अपरेशनल प्रभावकारी हुन सकेन। चितवनजस्तो कडा सुरक्षा घेरा भएको निकुञ्जमा २७ वटा पाटेबाघ घटेको अकल्पनीय परिणाम आयो।

७३ वटा गैंडाको मृत्यु भयो। अहिले गैंडाको गोली लागेर मृत्यु भयो। संरक्षित गोहीहरुको चोरी शिकार भयो। अर्को विश्व सम्पदा सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तुरी मृगहरुको लस्करै चोरी शिकार भयो। चितवन, बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघकोे चोरी शिकार भयो। निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र वन क्षेत्रमा अतिक्रमण, काठ तस्करी बढ्यो। वन्यजन्तुको अवैध अङ्ग व्यापार बढ्यो। शून्य शिकार उपलब्धि हरायो।

चोरी शिकारी र वन्यजन्तुको अंग व्यापार अन्तर्राष्ट्रिय जालो हो। यो अनवरत चलिरहने छ। यसले सफ्ट टार्गेट् खोज्ने छ। नेपालको भताभुङ्ग र लथालिङ्ग अवस्थाले चोरी शिकारलाई उत्साहित गरिरहेको छ। प्रकृति दोहन र विनाशलाई खुदो पल्टेको छ। वन्यजन्तु अंगको अवैध व्यापारको हट्स्पट बनेको छ।

नेपालका गैंडा र बाघ नेतृत्व विहीन र बेवारिसे अवस्थामा छन् भन्ने हल्ला चीन, दक्षिण भारत र अफ्रिकासम्म पुगिसकेको छ। वन्यजन्तुका अंग खरिदको लागि चेक् काटिइसकेको हुनुपर्दछ तस्करहरुबाट किनकि उनीहरु यस्तै मौका हेरेर बस्नेहरु नै हुन्।

सप्लाई चेनको आधार इलाका नेपाललाई रोजिएको हुनसक्दछ। माग पूरा गर्न हाम्रा दुर्लभ संरक्षित वन्यजन्तुमाथि अब निरन्तर गोली दागिने खतरा छ। यही ताजा घटनामा गैंडा गुमाउने शिकारी समूहले शीघ्र अर्को गैंडालाई निशाना बनाएर फायर खोल्यो भने जिम्मेवारी कस्ले लिने? यस्तो अवस्थामा बुस्मिटको क्रेज बढ्ने नै भयो।
हाम्रो लापरवाही र असक्षमताले अकल्पनीय क्षतिको श्रृंखला नेपालमा शुरु भइसकेको छ।

नाक जोगाउने उपाय
नेपाल, नेपाली र नेपालको प्रतिक गैंडाको नाक जोगाउने तत्कालीन उपाय यहाँ सुझाएको छ।

पहिलो, केन्द्रीय सरकार उदासिन भयो त्यसैले उसलाई बिर्सिदिएर फिल्डले आफ्नो धर्म र तागतको भरपूर प्रयोग गरी आ–आफ्नो जिम्मेवारी क्षेत्रमा थुनछेकको काम प्रभावकारी बनाउनुपर्दछ। स्थानीय चीफ वार्डेनको सक्रिय नेतृत्व र अगुवाईमा टीमबिल्डिङ र टीमवर्कको माध्यम बाट आ–आफ्नो निकुञ्जको सुरक्षा सुदृढ गर्ने पहलकदमी कामयावी हुने छ।

दोस्रो, ईण्टेलिजेन्स र सि.बि.ए.पि.यु. लाई अतिरिक्त फण्ड जुटाएर परिचालन र प्रयोग गर्नुपर्दछ। बेरोजगार नेचर गाइड्, बोटे, माहुते सबैलाई समेटेर र संरक्षणको मजबुत साङ्लो बनाउनुपर्दछ।

तेस्रो, मध्यवर्ती क्षेत्र समुदायको सहयोग अनिवार्य लिनुपर्दछ।

चौथो, चोरी शिकारी हुन नदिन त्यहाँ तैनाथ सैनिक युनिटले अर्जुन दृष्टिका साथ भरपूर तागत लगाउनुपर्दछ। जंगी अड्डाले फिल्ड युनिटहरुलाई अनुगमन र श्रोत साधन सम्पन्न बनाउनुपर्दछ। आवश्यक परे थप जनशक्ति र स्रोत साधन जुटाइदिनुपर्दछ। चोरी शिकारको जिम्मेवारी सशस्त्र सुरक्षाकर्मीले एकलरुपमा लिनुपर्दछ। जवाफदेहिता शतप्रतिशत देखाउनुपर्दछ। निकुञ्ज प्रशासनलाई पूरा काँध थाप्नुपर्दछ। संरक्षणप्रेमी स्थानीय समुदायलाई टीममा समेट्नुपर्दछ र टीमवर्कमा काम गर्नुपर्दछ।

पाचौं, संरक्षण साझेदार संघ संस्थाहरुले निुकञ्ज प्रशासनलाई आवश्यक प्राविधिक सहयोग जुटाउन अग्रसर हुने संवेदनशील समय हो यो। स्मरणरहोस्, विगतको ‘शून्य शिकार’ उपलब्धि नितान्त फिल्ड्को तागत् र त्यागको प्रतिफल थियो। केन्द्रले जस् र ब्याज खाएकोमात्र हो। तसर्थ, बटम अप् एप्रोच मार्फत फिल्डले केन्द्रलाई अहिले पनि अकल्पनीय परिणाम दिन सक्दछ।

अन्त्यमा, दिगो संरक्षणको लागि सुशासनसहितको कुशल र सवल सरकारको जरुरत पर्दछ। आशा गरौं हामीले त्यस्तो सरकार छिटै पाउने छौं।  छिटै गैंडाले कार्यकारी हाकिम डिजी पाउने छन्। गैंडा हेर्ने तालुक मन्त्रालय र उसको प्रशासन गैंडा संरक्षणप्रति छिटै प्रतिबद्ध, उत्तरदायी र जवाफदेही भएर उत्रिनेछन्।

त्यतिन्जेलसम्मका लागि फिल्डको संयुक्तटीम एक ढिक्का भएर गैंडालाई आफ्नो मुटुभित्र सुरक्षित राख्ने छन्। नेपालको वन्यजन्तु संरक्षण कानुन र ल–इन्फोर्समेन्ट एजेन्सी विश्वमै नमूना, विश्वसनीय र कठोर मानिन्छ। यसको लय मिलाएर सफल कार्यान्वयन गर्न सकेमा नेपालको निकुञ्ज प्रशासनले विश्वलाई चकित पार्ने नमूना संरक्षण मोडल प्रस्तुत गरेर देखाउन सक्नेछ।
जय प्रकृति ।
(लेखक नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका पूर्व निर्देशक हुन्)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *