अक्सफोर्ड भ्याक्सिनको ट्रायल रोकिएपछि अब के हुन्छ ? विश्व स्वास्थ्य संगठन के भन्छ ?
काठमाडौं। कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने क्रममा अग्रपंक्तिमा रहेको अक्सफोर्ड विश्वविद्यालयको गति अचानक रोकिएको छ । एक स्वयंसेवकमा यो भ्याक्सिनको गम्भीर साइड इफेक्ट देखिएर उनी रहस्यमय तरिकाले बिरामी भएपछि भ्याक्सिनको ट्रायल रोकिएको छ । यो भ्याक्सिनले पहिलो र दोस्रो चरणको ट्रायलमा सफलता पाइसकेको थियो र तेस्रो तथा निर्णायक चरणको ट्रायल जारी थियो । अब यस विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आधिकारिक धारणा आएको छ ।
डब्लुएचओले आफ्नो आधिकारिक बयानमा कुनै पनि हालतमा भ्याक्सिनको सुरक्षाको विषयमा कुनै पनि सम्झौता हुन नहुने प्रस्ट पारेको छ । डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भनिन् ‘कोभिड १९ भ्याक्सिनको सबैभन्दा पहिलो र जरुरी प्राथमिकता त्यसको सुरक्षा हुनुपर्छ ।’ उनले अगाडि भनिन् ‘हामी भ्याक्सिनलाई छिटो ल्याउने कुरा गर्छौं तर यसको अर्थ यो होइन कि यसको सुरक्षाका विषयमा कुनै पनि किसिमको सम्झौता वा कटौती गरियोस् ।’
भ्याक्सिन बनाउने प्रक्रियामा सबै नियमहरुको पालना गरिनुपर्ने बताउँदै स्वामीनाथनले भनिन् ‘आम मानिसहरुलाई औषधि वा भ्याक्सिन दिनुभन्दा पहिले त्यसको सुरक्षाको जाँच हुनु जरुरी छ ।’ अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको तेस्रो चरणको ट्रायल गरिरहेका थिए जुन ट्रायल एक जना स्वयंसेवक बिरामी भएपछि रोकिएको छ । स्टेट न्यूजको रिपोटृअनुसार बेलायतमा भ्याक्सिन लिएका एक स्वयंसेवकको स्वास्थ्यमा गम्भीर प्रतिक्रिया देखिएपछि यी ट्रायलमा रोक लगाइएको हो ।
एस्ट्राजेनेकाका प्रवक्ताले भने ट्रायल रोकिनुलाई पनि नियमित प्रक्रिया भनेका छन् । उनले भने ‘यो एक रुटिन एक्सन हो जो कुनै पनि ट्रायलमा यस्ता केसहरुको जाँचको लागि गरिन्छ । हामी यो सुनिश्चित गर्छौं कि ट्रायल पूरै इमान्दारीका साथ गरियोस् ।’ प्रवक्ताले समीक्षामा तीब्रता ल्याउन र ट्रायलको टाइमलाईनमा पर्ने सम्भावित प्रभावलाई कम गर्न काम भइरहेको समेत बताए । भ्याक्सिनको विकास प्रक्रियामा संलग्न एक व्यक्तिका अनुसार शोधकर्ताहरुले भनेका थिए कि सावधानीलाई प्रमुखता दिएर ट्रायल होल्डमा राखिएको छ । एस्ट्राजेनेकाले ट्रायल रद्द नगरिएको जनाएको छ । उसले ट्रायल केही दिनको लागि मात्र रोकिएको बताएको छ । यद्यपि कम्पनीले ट्रायल पुनः कहिले सुरु हुन्छ भन्ने बताएको छैन ।
Facebook Comment