ढोरपाटन बाढी : १६ अझै बेपत्ता, खोजी जारी

डिसी नेपाल
२५ भदौ २०७७ १४:३८

बागलुङ । ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन्। बुधबारसम्ममा मृतकको सङ्ख्या २२ पुगेको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ताको खोजी कार्य जारी रहेको बताए। “खोलाको बहाव पनि घट्दै गएकाले अब थप सहज हुन्छ, खोजी कार्य अहिल्यै रोकिन्न”, उनले भने।

खोलाको सतह घटेपछि बुधबार तीन र मङ्गलबार दुई शव फेला पार्न सकिएको उनको भनाइ छ। प्रहरीले छिमेकी गुल्मी जिल्लाको बडिगाड खोलासम्म पुगेर शवको उद्धार गरेको थियो। बाढीले शव बगाएर कैयौँ किलोमिटर तलसम्म पुर्याएको प्रहरी निरीक्षक भण्डारीले बताए।

बाढीको घटनालगत्तै नेपाली प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी खोजी र उद्धारमा खटिएका थिए । ढोरपाटन नगरपालिका–९ मा खसेको पहिराले भूजीखोला थुनिँदा बाढीको रूप लिएको थियो । सोही वडामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । वडा नं. ७ र ८ पनि बाढीबाट प्रभावित छन् ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा वडा नं ९ का २१ वर्षीया टेकमाया विक, १५ वर्षीय समुन्द्र विक, एक वर्षीया तिर्सना विक, १५ वर्षीया मनिषा विक, नौ वर्षीय रोशन विक, चार वर्षीय रवि विक, छ वर्षीया प्रतीक्षा विक र ३१ वर्षीय जीतबहादुर विक रहेका छन्।

यस्तै सोही वडाका २२ वर्षीया मनकुमारी विक, छ वर्षीया प्रकृति पुन, १० महिने शिशु उमिसा विक, ३८ वर्षीया हस्तमाया विक, ५६ वर्षीया कौशिला पुन, २१ वर्षीय विशाल पुन, आठ वर्षीय मोहन विक र ६५ वर्षीया तुलमती घर्ती बेपत्ता छन्।

बाढीले ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । सडक, पुल, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत् आयोजनालगायत सयौँ भौतिक संरचनामा क्षति पुगेको छ ।

बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि देशविदेशबाट स्वःस्र्फूत रूपमा सहायता जुट्ने क्रम जारी छ । सङ्घ र प्रदेश सरकारले मृतकका परिवारलाई राहत रकमसहित क्षतिग्रस्त घर पुनःनिर्माणमा सघाउने भएको छ ।

सरकारी निकायसँगै जनस्तरबाट समेत राहत सङ्कलनमा सक्रियता बढेको छ । सङ्कलित राहतलाई एकद्वार प्रणालीमार्फत बाढी प्रभावित परिवारलाई हस्तान्तरण गरिने ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बताइन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *