नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

डिसी नेपाल
२६ भदौ २०७७ ११:५६

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भइरहेको छ।

गत सोमबार बिहान अध्यक्षद्वय ओली र दाहालबीच गत साउन १३ गते स्थगित भएको बैठक भदौ २६ गत का लागि बोलाउने सहमति भएको थियो। उनीहरुले बुधबार बैठकका लागि पार्टीको विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गरेका थिए। स्थायी कमिटीमा पेश गर्नका लागि तयार पारिएको प्रस्तावमा एक महिनाभित्र पोलिटब्युरो गठन गर्ने उल्लेख छ।

बैठकमा पार्टी एकताका बाँकी रहेका कामहरू आगामी असोज महिनाभित्र सम्पन्न गर्ने, आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्दा निश्चित मापदण्ड तय गर्नुपर्ने प्रस्तावका विषयमा छलफल भइरहेको छ।

त्यसैगरी, सरकार र अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेसनबीच भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता (एमसिसी) परिमार्जन र संशोधन गरेर पारित गर्नुपर्ने लगायतका विषयमा पनि छलफल भइरहेको छ।

पार्टीको आन्तरिक विवाद मिलाउन महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएका प्रतिवेदनबारे भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो। गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको थियो।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नेकपा महासचिव विष्णु पौडेल,नेकपा (प्रवक्ता) नारायणकाजी श्रेष्ठलगयातका स्थायी कमिटी सदस्य सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *