नेकपा विवादमा बाबुरामले कसलाई भने तरबार बेच्ने?
काठमाडौं। सत्तारुढ दल नेकपाको आन्तरिक विवादमा बिहीबार पार्टी स्थायी कमिटीको बैठक सकिएसँगै विराम लागेको छ। नेकपाका नेताहरुले बिहीबारको बैठकलाई उत्साहपूर्ण भनेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा पार्टी प्रचार विभाग उपप्रमुख सुर्य थापा, परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली र प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले बिहीबारको बैठकले पार्टी भित्रको विवाद सकिएको भन्दै उत्साहपूर्ण बैठक भएको बताएका छन्।
उनीहरुले सामाजिक सञ्जालमार्फत पार्टी नेता तथा कार्यकर्ताहरुलाई बधाई तथा धन्यावादसमेत दिएका छन्।
गएको असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समुहले कुनै एक पद छोड्न भनेपछि नेकपामा विवाद भएको थियो। असाढ १० देखि भदौ २६ सम्म आइपुग्दा उनीहरुको माग त पुरा भएन तर, नेकपाको लामो रडको सकिएको छ।
यही विषयमा सामाजिक सञ्जालमा विभिन्न दलका नेताहरुले प्रतिक्रिया दिइरहेका छन्। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपाको विवादलाई तरबार बेच्ने र घिउ बेच्नेबीचको विवाद सकिएको भनि टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘तरबार बेच्ने र घिउ बेच्नेको महिनौंदेखिको गलफत्ति युद्धविराममा टुंगिएछ। युद्धविराम युद्धको अन्त्य हुँदैन नयाँ युद्धको तयारी हुन्छ। केही समय कसले कसलाई ठग्यो वहस हुनेछ। जनताका एजेण्डा कतै सुनिएन, सुनिनेछैन। छिटै अर्को राउण्डको छलछाम शुरू हुनेछ। जसले जसलाई ठगे पनि अन्तमा जनतै ठगिने हुन्।’
तर, उनले कुन पक्षलाई तरबार बेच्ने र कुन पक्षलाई घिउ बेच्ने भनेका हुन् त्यो भने खुलाएका छैनन्।
तरबार बेच्ने र घिउ बेच्नेको महिनौंदेखिको गलफत्ति युद्धविराममा टुंगिएछ! युद्धविराम युद्धको अन्त्य हुँदैन नयाँ युद्धको तयारी हुन्छ!केही समय कसले कसलाई ठग्यो वहस हुनेछ।जनताका एजेण्डा कतै सुनिएन,सुनिनेछैन!छिटै अर्को राउण्डको छलछाम शुरू हुनेछ।जसले जसलाई ठगे पनि अन्तमा जनतै ठगिने हुन्!
— Baburam Bhattarai (@brb1954) September 11, 2020
Facebook Comment