बिक्री गर्न योग्य र म्याद गुज्रेर बिक्रीका लागि अयोग्य खाद्य सामान एकै ठाउँमा

डिसी नेपाल
२८ भदौ २०७७ १२:५६

काठमाडौं। काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान राख्न छुट्टै ठाउँ भेटिएन। महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा यो अवस्था देखिएको हो।

दालका रुपमा प्रयोग गरिने कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ गरेको, उपभोग्य मितिका विषयमा केही पनि उल्लेख गरिएको छैन। चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या छन्।

यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको नदेखिएको जनाइएको छ। सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने देखियो। त्यसमा लेखिएको सामान्य विवरण हेरेर खरिद गर्ने गरिएको देखिएन। भदौ २७ र २८ गते चावहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनका क्रममा भेटिएको साझा समस्या हो। उपभोक्ताले खरिद बिल नलिने अर्को समस्या देखिएको छ।

चावहिल चोककै छेउमा एउटै पसलमा दुईटा बोर्ड छन्, मजिन स्टोर र सावरिया होलसेल मार्ट। एउटा सटमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिन्छ। यसका सञ्चालकले छेवैका दुईवटा घरमा दुई वटा फ्लाट लिएर सामान भण्डारण गरेका छन्।

भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा छन्। भण्डारण गरिएका कोठामा सूर्यको प्रकाश छिर्दैन। भित्र अँध्यारो छ, पुतली उडिरहेका छन्। ढोका खोलेर भित्र छिर्दा केही गनाएको महसुस हुन्छ। गोदाम प्रमाणित गरेको छैन।

पसलमा मूल्य सूची छैन। खानेकुरासँगै झिँगा, लामखुट्टे र साङला मार्ने बिषादि पनि बेच्न राखिएको छ। पसलको यो अवस्थाले उपभोक्तालाई कुनै असर गर्दैन। उपभोक्तालाई हतार छ। पैसा तिरेर लिएको सामान कस्तो छ? हेर्ने फुर्सद पनि देखिँदैनथ्यो।

यो जस्तै जयबागेश्वरी स्टोरलगायतका स्टोरमा खाद्य सुरक्षाका दृष्टिले भण्डारण असुरक्षित थियो। वडामा दर्ता गर्न नजानु, नापतौल अद्यावधिक नगर्नु पसलका अरु समस्या हुन्। मित्र पार्कमा रहेको ठूलो होलसेल जय भोले ट्रेडर्समा पनि ट््याग नभएका दाल र गेडागुडीका प्याकेज थिए। भण्डारण अस्तव्यस्त थियो।

अनुगमन समितिले खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाण पत्र, गोदाम प्रमाणिकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि विभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *