परराष्ट्र मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता तोकियो
काठमाडौं। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्ता तोकिएको छ। सञ्चार तथा प्रविधिमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने प्रचलन भए पनि हाल सो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैसँग भएकाले मन्त्री ज्ञवालीलाई प्रवक्ता तोकिएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्ता तोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
मन्त्री ज्ञवाली वर्तमान मन्त्रिपरिषदमा रहेका सदस्यहरु मध्ये निकै मृदुभाषी मानिन्छन्। निकै सरल र मिजासिलो स्वभाव भएका मन्त्री ज्ञवाली भरसक कसैलाई भनेर नबिराउने स्वभावका छन्। साथै उनी कुनै विषयमा बोल्नु परे पनि निकै सचेत भएर बोल्ने स्वभावका छन्।
त्यतिमात्र होइन, प्रवक्ताको सम्बन्ध पत्रकारसँग बढि हुने भएकाले पनि उनी यो जिम्मेवारीमा सफल हुने देखिएको छ। किनकी उनी पत्रकारसँग पनि सहज हुने व्यक्ति हुन्। उनी राम्रो कम्युनिकेटरसमेत हुन्।
मन्त्री ज्ञवालीका यी स्वभावले पनि प्रधानमन्त्री ओलीले उनलाई प्रवक्ताको जिम्मेवारी तोकेको बुझिएको छ। सरकारको प्रवक्ताको भूमिका सरकारको बोल्ने मुखका रुपमा लिइन्छ। त्यसैले पनि प्रवक्ताले निर्वाह गर्ने भूमिका सरकारको सफलतासँग पनि जोडिएको हुन्छ।
सांसद नभएको व्यक्ति मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार सञ्चार मन्त्रालयकोसमेत कार्यभार सम्हालेर प्रवक्ताको भूमिका पनि निभाइरहेका डा. युवराज खतिवडाले यही भदौ १९ गते पदबाट राजीनामा दिएका थिए। उनी सांसद नभएरै मन्त्री भएको ६ महिना पुग्न लागेपछि उनले राजीनामा दिएका थिए। सांसद नभएको व्यक्ति ६ महिनाभित्र सांसद नभए मन्त्री पद स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ।
Facebook Comment