भर्चुअलरुपमा संयुक्त राष्ट्रसंघीय महासभा, २५ तारिखमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

डिसी नेपाल
१ असोज २०७७ २१:३९

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७५ औं महासभा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा शुरु भएको छ। बिहीबार शुरु भएको उक्त महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि मण्डलको नेतृत्व गर्दैछन्। कोरोना महामारीका कारण यो पटकको महासभा भर्चुअल रुपमा आयोजना गरिएको छ।

प्रधानमन्त्री ओलीले उक्त महासभालाई २५ सेप्टेम्बरमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। महासभाको उच्चस्तरीय सप्ताह आज (बिहीबार) शुरु भएको छ। प्रधानमन्त्री ओलीले २१ सेप्टेम्बरमा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने पनि मन्त्रालयले जनाएको छ। यसैगरी भोली (शुक्रबार) हुने संयुक्त राष्ट्रसंघीय दिगो विकासको सभालाई र ३० सेप्टेम्बरमा हुने जैविक विविधताको शिखर सम्मेलनलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

यस्तै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आणविक हतियारहरूको पूर्ण उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा २ अक्टोबरमा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने छन्। त्यसैगरी उनी विकाशील देशहरुको बैठक र भूपरिवेष्ठित विकाशील देशहरुको बैठकमा पनि सहभागी हुनेछन्।

यस्तै नेपालले २४ सेप्टेम्बरमा सार्क मन्त्रीपरिषदको भर्चुअल बैठकको पनि आयोजन गर्ने विज्ञप्तिमा जनाइएको छ। उक्त महासभामा नेपालकोतर्फबाट परराष्ट्र मन्त्री, नेपालसरकारका उच्च अधिकारीहरु, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कुमार कार्की, राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई लगायत अन्य अधिकारीहरुले सहभागिता जनाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *