यो वर्षको मलमास १६० वर्षपछि कै शुभ संयोगमा, के गर्न हुने के गर्न नहुने !

डिसी नेपाल
२ असोज २०७७ १०:३८

यस वर्षको मलमास अर्थात अधिकमास अन्य वर्षहरुभन्दा विशेष रहेको छ। आश्विन २ गते शुक्रबार (आज)देखि आश्विन ३० गते शुक्रबारसम्म अधिकमासको समय रहने छ ।

मलमासको सुरु र अन्त्य शुक्रबार नै परेकाले पनि याे वर्षको अधिकमासलाई विशेष रुपमा हेरिएको छ। १६० वर्षपछि शुभ संयोगमा यस्तो समय जुरेको हो। यस अघि विं सं १९१७ साल आश्विन महिनामा यस्तै शुभ संयोगमा मलमास परेको थियो भने अब विं.सं २०९६ सालमा पनि यहीँ समयमा यस्तै मलमास आउने छ।

अधिकमासमा भगवान नारायणको पूजा गरिने र माहात्म्य वा कथा श्रवण गर्ने परम्परा रहिआएको छ। मलमासको अवधिभर शुभ कार्य तथा साइतहरु नहुने भएकाले कुनै पनि प्रकारका साइत जुराएर गर्नु पर्ने शुभ कर्महरु गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत भएका पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ।

अधिकमास भनेको केहो ?

पञ्चाङ्ग गणना अनुसार अधिकमास हुनका लागि जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यस महिनालाई मलमास (अधिकमास) महिना भनेर गणना गरिएको छ।

वैदिक नियमअनुसार सूर्यको गतिअनुसार गणना गरिने मास (महिना)लाई सौर्यमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनेर वर्गीकरण गरिएको छ। सौर्यमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ।

त्यस्तै, सौर्यमासको गणनाअनुसार एक वर्षमा जम्मा ३ सय ६५ दिन हुन्छ । अर्काे चन्द्रमास अनुसार दिन गणना गर्दा ३ सय ५४ दिन मात्र हुन आउँदछ । सौर्यमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार एक वर्षमा ११ दिन बढी हुन आउँदछ ।

यसरी, गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट पुनः अर्को अधिकमास आउदछ । यस क्रमले गणना गर्दा हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौर्यमास भन्दा चन्द्रमास वढि हुन पुग्छ त्येही बढिभएको समयलाई नै अधिकमास अर्थात मलमास भनेर भनिएको हो।

सौर्यमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो । सौर्यमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुदैन।

यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट पनि अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्ने शास्त्रमा उल्लेख गरिएको छ।

अधिकमास कुनै डरलाग्दो अशुभ समय भने होईन । तिथि, मिति, घडिपला ठिकसँग मिलाउनकोलागि मलमासको गणना हुने गरेको छ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट तारिख र वर्षलाई मिलाइएको हुन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुनेहुँदा जुन महिनामा पनि पर्न सक्ने ज्योतिषविद् रिजालले जानकारी गराएका छन्।

अधिकमास परेको महिनामा के गर्नु हुन्छ ? के गर्नु हुदैन !

अधिकमास परेको महिनामा मुहुर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु वर्जित गरिएको छ । शास्त्रीय नियमअनुसार अतिरिक्त समय भएकाले यो समय अन्य समयभन्दा कमजोर हुनेहुँदा नयाँ थालनी गरिएका कार्यहरु सफलहुने सम्भावना एकदमै न्यून हुन्छ । यस्तो समयमा श्राद्ध तथा पितृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म, सप्ताह, नवाह, महारुद्रि, शतचण्डी लगाएका कुनै पनि काम्मिककर्म हरु त्येस्तै गृह, प्रवेश , नयाँ कार्यको थालनी , नयाँ यात्राको शुभारम्भ गर्न नहुने उल्लेख गरिएको छ।

नव विवाहित दाम्पत्तिहरूकालागि अधिकमास बार्नुपर्ने नियम रहिआएको छ। वैवाहिक सम्बन्धमा बाधिएपछि एक पटक सबै विवाहित महिलाहरुले अनिवार्य पहिलो अधिकमास बार्नुपर्ने नियम रहिआएको छ। यदि नबारेमा पतिलाई शारीरिक, मानसिक तथा आर्थिक कष्ट पर्ने मुहूर्तमार्तण्ड र मूहूर्तचिन्तामणि नामक ग्रन्थमा उल्लेख गरिएको छ। एकपटक बारेपछि अरु वर्षहरुमा मलमासपर्दा बारिरहनु नपर्ने पनि बताईएको छ । दैनिक रूपमा गर्दै आएका कर्महरू जस्तो नित्य पाठपूजा, नामाकरण लगाएता कर्महरु गर्नहुने भनेर पनि उल्लेख गरिएको छ ।
अधिकमासका अधिपति स्वामी भगवान् विष्णुलाई मानिएको छ । त्यसकारणले यसलाई पुरुषोत्तममास भनेर पनि भनिएको छ । पौराणीक कथाअनुसार सूर्य र चन्द्रमा बिचको सन्तुलन मिलाउनका लागि अधिकमासको गणना भएको हो ।

हरेक महिनाको मासदेवताका रुपमा नामाकरण गर्ने क्रममा अतिरिक्त रहेको महिना या मलमासको नामाकरणमा कुनै पनि देवता अधिपति हुन राजि नभएपछि ऋषि महर्षीहरुको आग्रहमा भगवान् विष्णुलाई गरिएको आग्रह पछि यस अतिरिक्त मलमासको मासदेवताका रुपमा भगवान् विष्णुलाई जिम्मा दिइएकाले पनि यसलाई यसलाई पुरुषोत्तममास भनेर भनिएको हो र विशेषगरी यस अबधिभर भगवान विष्णुको पुजा तथा आरधना गर्ने नियम रहिआएको छ।

लेखक रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *