सम्झना : गणेशमानजीको चर्पी र हाम्रो फोटो

डिसी नेपाल
३ असोज २०७७ ८:२८

त्यतिबेला मसँग शायद यही एउटामात्र पाईन्ट थियो क्यारे! १७—१८ वर्षको बढ्दो उमेर भएकोले छिट्टै त्यो पनि छोटो भएको थियो। चप्पल र पाइन्टको बीचको दुरीले त्यो कुरा स्पष्टै देखिन्छ।

पाइन्टमात्रै होइन, बाँकी अरु कपडाहरु पनि एकै जोर थिए त्यो बेला। धुनु पर्यो भने घाम लागेको बेला बिहानै धोएर सुकाएर दिउँसो सुकिसक्ने गरी योजना बनाउनु पर्थ्यो। यद्यपि त्यस बेलाको मेरो त्यो अभाव अहिले सम्झँदा निकै गर्व लाग्छ।

गणेशमानजीलाई प्रजातन्त्रका पिता, लौह पुरुषजस्ता उपनामले चिन्थ्यौ त्यसबेला हामीहरुले। ती दुवै उपनामको पछाडि विशेष अर्थ थियो। जीवनभर प्रजान्त्रको लागि लडेका र राणा, राजा र पञ्चायतले मरुन्जेल कुट्दा पनि जिउँदो रहन सफल भएको भएर लौह अर्थात फलामे पुरुष भनिएको थियो उहाँलाई।

फलामे पुरुष भनिए पनि उहाँको शरीर थिलोथिलो भएको थियो। सामान्य चर्पीमा बसेर दिसा गर्न सक्नुहुँदैनथ्यो उहाँ। त्यसले घरबाहिर नयाँ ठाउँमा जाँदा अस्थायी चर्पी बनाउनु पर्थ्यो, काठको कुर्सीलाई बीचमा प्वाल पारेर त्यसैमा बसेर दिसा गर्न मिल्ने गरी काटेर बनाउनुपर्थ्यो ।

त्यसैले त्यो चर्पी घर बाहिर नै खुला ठाउँमा राख्नुपर्ने भएकोले अस्थायी रुपमा बोरा वा अन्य कपडाले बारेर तयार गर्नुपर्थ्यो । यस फोटोमा हामीहरु पछाडिको बोराले बारेको त्यो सानो झुप्रो त्यै गणेशमानजीको अस्थायी चर्पी थियो। र त्यसबेला म वहाँलाई चर्पीमा लान ल्याउन सहयोग गर्ने एउटा सहयोगीको भूमिकामा थिए।

कुटाइ खाएर थिलोथिलो भएको शरीरको पीडा कस्तो हुन्छ भन्ने कुरा मलाइ त्यो बेला अलिकति पनि यादै थिएन जुनबेला उहाँलाई काठको कुर्सी काटेर तयार पारेको अस्थायी चर्पीमा लाने ल्याउने गर्थे मैले। मैले त यति पीडा भोग्नुपर्यो भने गणेशमानजीले कति पिडा भोग्नुभयो होला भनेर अहिले सम्झिदा पनि आङ्ग सिरिङ्ग हुन्छ ।

बीपीको राजनैतिक चिन्तन र नेपाली काँग्रेसको प्रजातान्त्रप्रतिको योगदानको प्रेरणाले सानै उमेरमा राजनीतिमा होमिएको म पञ्चायतकै पालामा ४५ दिन जेल पनि परे। पञ्चायतको, तत्कालीन एमाले र माओवादी सबैको कुटाइ खाएँ। माओवादीको कुटाइले त म करिब करिब अपांग नै हुनपुगेँ।  दुईपटक त ढाडको अपरेशन नै गर्नुपर्यो। झन्डै छ वर्ष त व्हिलचियरमै भर पर्नुपर्यो। तर अहिले भने सतर्कतापुर्वक मजाले हिड्न सक्छु।

गणेशमानजीको अघि मेरो योगदान र क्षति शुन्य बरावर हो। तर पनि यो कुरा किन उल्लेख गर्दैछु भने, कुटाइ खाएर थिलोथिलो भएको शरीरको पीडा कस्तो हुन्छ भन्ने कुरा मलाइ त्यो बेला अलिकति पनि यादै थिएन जुनबेला उहाँलाई काठको कुर्सी काटेर तयार पारेको अस्थायी चर्पीमा लाने ल्याउने गर्थे मैले।

मैले त यति पीडा भोग्नुपर्यो भने गणेशमानजीले कति पिडा भोग्नुभयो होला भनेर अहिले सम्झिदा पनि आङ्ग सिरिङ्ग हुन्छ । आफूले बलात्कार नभोगेकी महिलाले अर्की महिलाले भोगेको बलात्कारको पीडा शायद धेरै नजिकबाट महशुस गर्न सक्दिनन् होला। त्यसैगरी मैले भोगेको शारीरिक पीडाको अनुभूतिले गणेशमानजीको शरीरको त्यो बेलाको पीडालाई त्यसपछि बल्ल धेरै नजिकबाट आत्मसात गर्नसक्ने भएको छु।

गणेशमानजीकाे चर्पी अगाडि हामी।

त्यस्तैगरी राणाको र पञ्चायतको पालाको त्यो निर्मम यातना कसरी भोग्न सक्यो होला उहाँको शरीरले भनेर सम्झदामात्र पनि मलाई असह्य पीडा हुन्छ। तर पनि त्यो फलामे शरीर प्रजातन्त्रका लागि निरन्तर लडिरह्यो, लडिरह्यो । अनि जव उनैको नेतृत्वमा प्रजातन्त्र आयो, उनलाई प्राप्त प्रधानमन्त्रीको पद पनि स्वास्थ्यको कारण देखाएर स्वीकार गरेनन उनले । त्यसैबाट स्पष्ट हुन्छ कति इमान्दार थिए उनी भनेर।

तर यदि आजका कुनैपनि नेताले गणेशमानलाई चिनेका र सम्झेका हुन्थे भने शायद उनीहरुलाई कति कुरीकुरी लाग्थ्यो होला। तर दुर्भाग्य मजस्ता एकाध सामान्य मान्छेबाहेक पदमा आसिनहरु कसैले पनि चिन्दैनन उनलाई। किनकि आजको राजनीति गणेशमानजीको आदर्शभन्दा धेरै टाढा छ। जसरी होस् पद चाहियो।

गणेशमानजी जस्ता महान सपुतलाई उचित सम्मान गर्न नसकेको परिणाम नै आजको अनैतिक र भद्रगोल अवस्थाको परिणाम हो। पदका लागि नैतिकता बेच्नेहरुका लागि भनेर गणेशमानजीले त्यत्रो योगदान गर्नुभएको थिएन। वहाँको आत्माले तिमीहरुलाई अवश्य धिक्कार्ने छ। तर मलाई गर्व छ वहाँको नजिक रहेर थोरै भएपनि सेवा गर्ने मौका पाएकोमा ।

मेरो त्यो छोटो पाइन्ट र चप्पल मेरो गर्वका पहिचान हुन। र मेरो त्यो पहिचान सम्झाइ दिने श्रेय सदा सदाको लागि गणेशमानजीलाई जान्छ। आजको राजनैतिक चुरीफुरीभन्दा म निकै टाढा छु र पनि म त्यही छोटो पाईन्ट र लामो चप्पलवाला हैसियतमा गर्व गर्छु, जुन हैसियतमा कुनैबेला म गणेशमानजस्ता महान नेताको सेवक थिएँ।

गणेशमानजीको २३ औ स्मृति दिवसको उपलक्ष्यमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *