बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

डिसी नेपाल
४ असोज २०७७ ७:४०

बागलुङ । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो।

बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु १९ हजारका दरले किरिया खर्च र प्रतिमृतक रु पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिए। “पाँच सदस्य गुमाएको परिवारले रु ४४ हजार राहत रकम पाउनुभएको छ”, उनले भने। बाइस मृतक परिवारले कुल रु छ लाख १३ हजार राहत रकम पाएका हुन् ।

यस्तै घाइते दुई जनालाई रु १०/१० हजार र बाढीले पूर्ण क्षति पुर्याएका ५५ घरका परिवारलाई रु आठ हजारका दरले राहत प्रदान गरिएको हो । आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले रु चार हजार र अन्यले रु एक हजारका दरले राहत बुझेका थिए। बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्रीसमेत वितरण गरिएको गलकोट युसबी सेवा प्रालिका अध्यक्ष केशवविक्रम सिंहले बताए।

“बाढी प्रभावितका लागि सेनिटाइजर, मास्क, साबुनलगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ”, उनले भने। बाढीको घटना थाहा पाउनसाथ तीनै संस्थाका युवाहरु मिलेर राहत अभयिान थालेका थिए । देश–विदेशबाट रहेका नेपालीहरुबाट सहयोग जुटेको युसबी सेवाका अध्यक्ष थापाले बताए। लक्जम्बर्गमा रहनुभएका व्यवसायी जितु थापाको पहलमा रु दुई लाख राहत रकम सङ्कलन भएको थियो।

बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले स्वतःस्फूर्त रूपमा सहयोग गरेका थिए । तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकाका पहिरो प्रभावितलाई पनि राहत बाँड्ने योजना रहेको अध्यक्ष थापाले सुनाए। राहत अभियानमा अध्यक्ष थापा, अध्यक्ष सिंह, इन्साइड बागलुङका संस्थापक राजकुमार श्रेष्ठ, सदस्य जीवन मल्ल, डिकु ठकुरी, धु्रव शेरचन, दीपेन्द्र श्रेष्ठ, यामु पौवी, राजकुमार रसाइली, भीमु क्षत्री, दिलीप खत्री, उपेन्द्रबम मल्लगायत सक्रिय थिए।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९ का २१ र गलकोट नगरपालिका–४ का एक जनाको ज्यान लिएको थियो । १६ जना अझै बाढीमा बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् । बाढी प्रभावितको पुनःस्थापनाका लागि देश–विदेशमा सहयोग अभियान चलाइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *