पुरानै अवस्थामा फर्किएको रानीपोखरी

तर्कबहादुर थापा
५ असोज २०७७ ८:२१

काठमाडौँ। करिव ५ वर्षको प्रतिक्षापछि रानीपोखरीले पानी पाएको छ। पोखरीमा हालसम्म २ करोड ७५ लाखलिटर पानी भरिएको छ। जम्मा ३ करोड २२ लाख पानी आवश्यक पर्ने रानी पोखरीमा ३ दिन लगाएर २ करोड ७५ लाख पानी भरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका धरहरा र रानीपोखरी हेर्ने विज्ञ राजुमान मानन्धरले जानकारी दिए।

‘पानी हामीेले बिहीबारबाट भर्न सुरु गरेका हौं। शनिबार साँझ बन्द गर्यौं,’ मानन्धरले डिसी नेपालसँग भने, ‘शनिबार साँझसम्म करिव २ करोड ७५ लाखजति पानी भरेका छौं। महानगरपालिका कै बोरिङबाट निकालिएको पानी हाल्यौं। त्यो पानी कमी भएपछि मेलम्चीको पानी आउने पाइपलाइनमा बागमतिको पानी ल्याएर हाल्यौं।’

पानीमा लाग्ने लेउलाई खान माछा ल्याएर पाल्ने योजना भएको पनि मानन्धरले जानकारी दिए। उनले भने, ‘क्याटफिस बाहेकका माछाका जाति ल्याएर पाल्ने कुरा भएको छ। क्याटफिसले आफूमात्र राज गर्ने र अरु माछालाई आहारा बनाउने भएकाले त्यस्ता माछा नल्याउन सुझाव दिएका छौं। विज्ञ भएका नाताले मैले नागपोखरी बनाएको अनुभव छ। त्यहाँ पनि क्याटफिस राखेका छैनौं।’

२०७२ सालाको भूकम्पले भक्ताएको रानीपोखरी र वालगोपालेश्वरको मन्दिर पुनःनिर्माण गरी ७७ सालको वैशाख १२ गते नै उद्घाटन गर्ने कार्यक्रम थियो। चैत ११ गतेदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी गरेको लकडाउनका कारण काम ठप्प भएपछि भनेको समयमै उद्घाटन हुन सकेन।

हरेक वर्षको भाइटिकाको दिनमा खुल्ने वालगोपालेश्वरको परम्परा रहेको छ। तर, विगतका ४ वटाभाइ टिकामा नखुलेको बालगोपालेश्वरको मन्दिर यो भाइटिकामा खुल्ने पक्का भएको छ।

प्राधिकरणले पुनः असोज ३ गते संविधान दिवको अवसर पारेर उद्घाटन गर्ने सोच राख्यो। उक्त दिन पनि गजुरमा सुनको जलप लगाउने पर्ने काम नसकिएका कारण संभव भएन। अब भने दशैंसम्म राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरीको उद्घाटन गराउने मानन्धरले जनाए।

उनले भने, ‘हामीले बैशाख १२ गते नै उद्घाटन गर्ने कुरो गरेका थियौं। कोरोनाले हुन दिएन। अनि असोज ३ गते संविधान दिवसको अवसर पारेर गर्ने भनेको त्यो पनि भएन। बालगोपालेश्वरको मन्दिरको गजुरमा सुनको जलप लगाउने काम सिद्दिएको छैन। अहिले पनि दरवार हाइस्कुलभित्र गजुरमा सुनको जलप लगाउने काम पूर्ण सुरक्षाका साथ भएको छ।’

५ वर्ष पहिला २०७२ सालको वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी पुनःनिमार्णको लागि सोही सालको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन्।

काठमाडौं महानगरपालिकाले पुनःनिमार्णको जिम्मेवारी पाएको रानीपोखरीमा कंक्रिट भरिएको भन्दै सर्वत्र विरोध भएको थियो। रानीपोखरीलाई पुरानै शैलीमा बनाउनुपर्ने भन्दै विवाद भएको थियोे। मल्लकालीन राजा प्रताप मल्लले आफ्ना माइला छोराको मृत्यु वियोगमा रहेकी रानीलाई सान्त्वना दिन रानीपोखरीको निर्माण गर्न लगाएको मानन्धरले बताए।

उनले भने, ‘हामीले पढ्दै आएको कुरा यो हो। तर, पनि पुरानो चलनअनुसार रानीपोखरीको पश्चिम मात्र शहर थियो। अनि रानीपोखरीमा पानी जम्मा हुने र त्यसबाट जाने रहेछ। त्यो पानी जाने ठाउँको अवशेष पनि हामीले पुनःनिर्माण गर्नका लागि खन्दै गर्दा भेटेका छौं र फोटो समते खिचेर राखेका छौं।’

पोखरी ६२ रोपनी १३ आना बनाइएको छ। १ सय ८० मिटर लम्बाई र १ सय ४० मिटर चौडाइ रहेको रानीपोखरीको बीच भागमा बालगोपालेश्वरको मन्दिर छ। दाजुभाइ र दिदीबहिनी नभएकाले बालगोपालेश्वरमा भाइटिका लगाउने परम्परा छ। ५ वर्षपछि बालगोपालेश्वरको मन्दिर पनि खुल्ने रानीपोखरीका विज्ञ मानन्धरले जानकारी दिए।

हरेक वर्षको भाइटिकाको दिनमा खुल्ने वालगोपालेश्वरको परम्परा रहेको छ। तर, विगतका ४ वटाभाइ टिकामा नखुलेको बालगोपालेश्वरको मन्दिर यो भाइटिकामा खुल्ने पक्का भएको छ।

‘चार धामको पानी ल्याएर रानीपोखरीमा हालिएको भन्ने किम्बदन्ती रहेको छ,’ मानन्धरले भने, ‘अब त्यो अहिले सम्भव हुन्छ÷ हुँदैन तर साखुँबाट कलशयात्र भने हुनेछ।’
कंक्रिट प्रयोग नगर्न पुरातत्वविदको आग्रहपछि अहिले पुरानै शैलीमा पोखरीको निर्माण भएको छ। सुर्की (इट्टाकै धुलो), चुना, वालुवा र कालोमाटो मिलाएर बनाएको गारोबाट रानीपोखरीका इट्टाहरु जोडिएका छन्।

मानन्धरले भने, ‘रानीपोखरीमा प्रयोग भएका इँट्टाहरु बाहिर पाइँदैनन्। एउटा इँट्टालाई करिव १३ सय मूल्य पर्न आउँछ।’ ‘पुरै रानीपोखरी भरी गरी त्यस्तै १२/१३ थरी बुट्टाभएको इँट्टाहरु प्रयोग भएका होलान, ’ मानन्धरले थपे, ‘संख्या त अहिले अनुमानगर्दा झण्डै ३५/४० लाखको हाराहारीमा इट्टाहरु प्रयोग भएका होलान्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *