अष्ट्रेलियामा मनाइयो नेपालको संविधान दिवस
काठमाडौं । अष्ट्रेलियामा नेपालको राष्ट्रिय दिवस एवम् संविधान दिवस मनाइएको छ । शनिबार क्यानबारास्थित नेपाली दूतावासमा एक कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको हो।
सो अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले राजदूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए। कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै राजदूत दाहालले नेपालको वर्तमान संविधानका विविध विषयहरूमा प्रकाश पारेका थिए।
कार्यक्रममा दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रिय दिवसका अवसरमा दिएको सन्देश पनि पढेर सुनाएका थिए । त्यसैगरी कार्यक्रममा अष्ट्रेलिया नेपाल पार्लियामेन्टरी फ्रेन्डसिप समूहका सह–अध्यक्ष पिटर खालिल एमपीले नेपालको राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै पठाएको अडियो सन्देश सुनाइएको थियो।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानबेराका संयोजक तथा प्रतिनिधिहरू, गैरआवासीय नेपाली संघ अनरेरी काउन्सिलका सदस्य, अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष, क्यानबेरास्थित नेपाली सामुदायिक संङ संस्थाका प्रतिनिधिहरू, क्यानेबरामा रहेका प्रबुद्ध व्यक्तित्वहरू, पत्रकार एवम् नेपाली समयुदायका सदस्यहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ।
Facebook Comment