रोजगारीको लागि इजरायल पठाइदिने भन्दै दलालको बिगबीगी

डिसी नेपाल
६ असोज २०७७ १२:५४

काठमाडौं। वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी धन्दा हुन थालेको छ। इजरायल रोजगारको नाममा ठगी धन्दा मौलाइरहेको चाल पाएपछि तेल अबिबस्थित नेपाली दूतावासले सार्वजानिक रुपमै सूचना जारी गरेर सचेत रहन आग्रह गरेको छ।

‘इजरायल जान चाहनेहरुले आफूलाई सम्पर्क गर्नुहोला’ भन्दै ठगी गर्ने कुत्सित मनसायका साथ सामाजिक सञ्जालमा केही व्यक्तिले गलत सूचना फैलाएको भन्दै दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

दूतावासका अनुसार इजरायलको नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपाली केयरगिभर लैजाने सम्बन्धमा निकट भविष्यमै नेपाल र इजरायलबीच सरकारी स्तरमा सम्झौता हुँदैछ। पहिलो वर्ष नेपालबाट ५ सय जना नर्सिङ क्षेत्रका कामदार लैजाने इजरायलको प्रस्ताव छ।

दूतावासका अनुसार ‘जी टु जी’ (सरकार – सरकारबीचको सम्झौता) अनुरुप नेपाली कामदार इजरायल जान पाउनेछन् तर,अहिले इजरायलले लैजाने नेपाली यसअघिको जस्तो घरभित्र काम गर्ने कामदार भने होइनन् ।

छनौट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकोले कुनैपनि हल्लाका पछाडि नलाग्न आग्रह गरिन्छ

दूतावासका अनसार नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका (अनमी वा अन्य त्यस्तै शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी ३ महिने केयरगिभर तालिम लिएका व्यक्तिहरु, अंग्रेजी भाषा उत्तीर्ण (लिखित तथा अन्तर्वाता दुवै) निश्चित उमेर, तौल, उचाइ, निरोगी भएको मेडिकल सर्टिफिकेट, अपराधमा संग्लन नभएकोलगायतका योग्यता पुगेका व्यक्तिहरु स्वच्छ प्रतिस्पर्धाबाट छनौट भइ जान पाउने छन्।

छनोट प्रक्रिया श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागको मातहतमा हुने दूतावासले स्पष्ट पारेको छ। ‘छनौट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकोले कुनैपनि हल्लाका पछाडि नलाग्न आग्रह गरिन्छ,’ दूतावासले सार्वजानिक सूचनामा भनेको छ। इजरायल रोजगारी सम्बन्धमा दूतावासले उपयुक्त समयमा सूचना प्रकाशन गर्ने पनि सूचनामा बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *