ओली–प्रचण्ड भेट : मन्त्रिपरिषद पुनर्गठनकाे तयारी
काठमाडौं। संवैधानिक निकायमा नियुक्ती, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने र मन्त्रिपरिषद पुनर्गठनलगायतका विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायमा पदाधिकारी नियुक्ती र मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भएको हो।
बिहीबार पनि दुई अध्यक्षबीच झण्डै तीन घण्टा छलफल भएको थियो। मंगलबार बसेको सविचलाय बैठकले संवैधानिक निकायमा पदाधिकारी नियुक्ती तथा पार्टी एकताको काम चाँडो सक्ने गरी काम गर्न आग्रह गरेको थियो। नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको जनाए।
प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार दशैं अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने गरी दुई अध्यक्षबीचको छलफल केन्द्रित छ। मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुई अध्यक्ष ठोस निर्णयमा पुग्ने गरी छलफल केन्द्रित छ।
गत आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मन्त्रिपरिषद पुनर्गठनका विषयमा तीनवटा विकल्प प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री ओलीले पहिलो विकल्पका रुपमा मन्त्रीहरको सेट नै परिवर्तन गर्ने, दुई वर्ष मन्त्री भएकालाईमात्र परिवर्तन गर्ने वा कार्यक्षमताका आधारमा मन्त्री परिवर्तन गर्ने विकल्प प्रस्तुत गरेका थिए। बिहीबारदेखि दुई अध्यक्षबीच भएको छलफलमा प्रधानमन्त्रीले अगाडि सारेका विकल्पका विषयमा छलफल केन्द्रित गरेको छ।
Facebook Comment