समाजवाद उन्मुख संविधान र वर्तमान सरकार

डिसी नेपाल
९ असोज २०७७ १२:२०

धेरै विद्वानहरुले अलग अलग मत राखेर समाजवादलाई परिभाषित गरेका छन्। तर सामान्य जनताले बुझ्ने भाषामा भन्दा सबैको सबै कुरामा बराबर पहुँच अथवा देशमा उपलब्ध हुने सबै अवसरमा सबैको बराबर अधिकार र कर्तव्य नै समाजवाद हो।

देशमा उपलब्ध स्रोत, साधन वा अवसरमा पहुँच नहुनेहरुको लागि ती सबैसम्म पहुँच पुर्याउने उत्तरदायित्व राज्यले लिएर उनीहरुको पहुँच सुनिश्चित गर्नु नै समाजवाद हो। समाजवादमा हरेक क्षेत्रमा सबैको बराबरी हिस्सा भन्ने बुझिन्छ।

कमजोर वर्गको लागि राज्य र सम्पन्न वर्गले नै साधन र स्रोतसम्म पहुँच सुनिश्चित गरिदिन्छन्। अर्थात कमजोर वर्गले विशेषधिकार समेत पाउँछन् र सक्पन्न वर्गको काँधमा थप जिम्मेवारी र कर्तव्य समेत थपिन्छ।

शायद यही विषयलाई बुझेर नेपालको संविधान २९७२ लाई समानवाद उन्मुख भनिएको छ। तर, व्यवहारमा सत्तासीन, शक्ति र पहुँचवालाको बोलवाला रहेको देखिन्छ । आफ्नो छोरी, बुहारी, ज्वाइँ, साला, साली, श्रीमतीलाई, ठाउँमा पुर्याउने र चाकडी गर्नेलाई मात्र अवसर दिने चलन बसिसकेको छ।

छोटकरीमा भन्दा परिवारवादको संजालमा देश डुबिसकेको छ। चाकडी गर्ने तथा गुणगान गाउनेलाई नै मौका मिलेको छ। यो विकृति राजतन्त्रदेखि पंचायत हुँदै प्रजातन्त्रसम्म चल्यो र अहिलेसम्मका राजनैनिक घटनाक्रमहरु हेर्दा यो प्रचलन अझै चलिरहने सम्भावना उच्च देखिन्छ।

अहिले हेर्दा लाग्छ राणा शासन फेरि पनि आएको हो कि? स्वतन्त्र अभिव्यक्ति राख्न नपाउने अवस्था आएको छ समाजबादको नाममा। सत्याग्रह बस्नेलाई पुलिसले जबरजस्ती गलहत्याएको छ। यो समाजवादको नाममा अतिवादको ज्वलन्त उदाहरण हो। यस्ता शासकबाट समृद्ध नेपाल र सुखी नेपालीको नारा सुन्दा कानलाई भने आनन्द मिलेको छ, आँखा बन्द गरेर सुन्नलाई। यस्तै हो भने अबको ३ वर्षमा देशमा कायापलट भएर छोड्ने पक्का छ।

यो सबै विकृतिको अन्त्य गरी सभ्य र सुसंस्कृत समाज र देश निर्माण गर्न साम्यवाद र समाजपादको नारा दिएर विभिन्न समयमा गरिएका आन्दोलन तथा १० वर्षे जनयुद्धबाट मुलुकमा आएको गणतन्त्रमा पनि त्यही पुरानो पूँजीवाद, परिवार र आफन्तवाद झन उदीयमान भएर आयो। जसले गरिब निमुखाहरुलाई देखाइएका सपनाहरुमाथि तुषारापात भयो। जातीय नारा दिएर भाइचारमा रहेको समाजमा विखण्डन उत्पन्न गराइयो। समाजमा नागरिकहरुलाई आफू–आफूमा लडाई सत्ता र शक्तिमा पुग्ने अभ्यास हुन थाले। सत्ता र शक्तिमा गएकाहरुले आफ्नो बाचा बिर्सिएर समाजवादको नारालाई बेवास्ता गरी आफ्ना र आफूमा केन्द्रित भए।

देशमा भ्रष्टचारी, व्यभिचारी र आपराधिक क्रियाकलापले प्रश्रय पायो। बलात्कारी र ज्यान मार्ने उद्योग गरेका मानिसहरु राजनीतिक संरक्षणमा उन्मुक्ति पाउने अवस्थाको विकास हुन लाग्यो। समाजवादको नाममा धनी, बिचौलिया, दलाली र विदेशी एजेन्टले प्रश्रय पाउन थाले। गरिब जनता झन गरिब भएर गए भने मौका र संरक्षण पाएकाहरु दिन दोगुणा रात चौगुणा भन्ने उखान जस्तै गरी धनी भएर गए।

हिजो बिहान बेलुका हात मुख जोड्न नसक्नेहरु आज अरबपति भए। हिजो समाज परिवर्तन गर्ने भन्दै समाजवादको नारा दिएर हिँडेकाहरु नै आज देश र जनताको रगत र पसिनाबाट उठाएको करलाई आफ्नो बिर्ता सम्झेर रजाई गरेका छन्।

विद्वान, पढेलेखेका, राम्रो काम गर्ने र देशका लागि केही गरौं भन्ने भावना भएका मानिसहरु ओझेलमा पर्ने र अवसरबाट बञ्चित गरी विदेशिन बाध्य बनाइयो। समाजवादको सामान्य परिभाषा र संविधानको मर्म विपरित आफ्नो हात जगन्नाथ भनेझैं आफ्नोलाई काखी च्यापेर बाँकी जनताको मत र भावनालाई लत्याएर हिँड्ने संस्कारको परिपाटी जो समाजबाद र जातीयताको ढोल पिट्नेबाट नै गरियो।

आफ्नो धर्म संस्कृतिलाई अफीम हो भनी डलर दिनेको धर्म र संंस्कृतिलाई अपनत्व ग्रहण गरियो। राजनीतिक पार्टीदेखि कर्मचारी, शिक्षक, मजदूर सबै ठाउँमा साम, दाम, दण्ड, भेद चार अस्त्र प्रयोग गरी सत्ता र शक्तिमा रमाउन थाले।

समाजवादमा सबैको कर्तब्य र अधिकार बराबर हुने भन्ने मान्यताको विपरित आफ्नो भन्ने भावना हावी गराइयो। एउटा सामान्य प्रतिष्ठानको जागिरको लागि दरखास्त फाराम भराई राजश्व लिएर परीक्षा पनि नलिइकन आफ्नो मान्छे भर्ती गर्न मन्त्रालय नै अग्रसर भएको देशमा जनतालाई भेडो बनाएर समाजवादको लहरेखोकी निकाल्नेहरु समाजका धमिरा हुन् भन्ने कुरा जनताले प्रष्ट थाहा पाएका छन्। यस्तो हरकत गर्ने राजनीतिक पार्टी, सरकार, कर्मचारीहरुबाट समुन्नत नेपाल सुखी नेपाली बन्छ भन्नु नै हवामा तीर छोड्नु बराबर हुने छ।

विश्वविद्यालयले गर्ने काममा रोक लगाई आफ्नो मान्छे भर्ती गर्ने अखाडा बनाइ तलब खुवाउने काम गरिएको छ। विश्वविद्यालयले कलेज संचालको लागि दिने सम्बन्धन पनि दबाबमा पारी आफन्तलाई मात्र दिने गरी माफिया खडा गरिएको छ।

नियम, कानून र सबै कुरा पूरा गरी तयारी अवस्थामा बसेका आफ्नो मान्छे नभएकाहरु आफ्नो लगानी डुबाई बस्न बाध्य बनाउने राजनीतिक पार्टी, सरकार तथा माफियाको झुण्डबाट समाजवादको परिकल्पना गर्नु अभिशाप मात्र हो। यो देशमा साम्यवाद र समाजवादको नारा दिने कम्युनिष्टहरुले बीपी कोइरालाको समजवादसम्म पुग्ने हिम्मत राखे भने मात्रै ठूलो उपलब्धि हुनसक्छ।

भ्रष्टाचार गर्न नदिने भन्ने प्रधानमन्त्रीको भाषण धेरै सुनिसकिएको छ तर एउटा पनि भ्रष्टाचारी समातिएको छैन। मलाइ यो कुरा सुन्दा र लेख्दा बीपी कोइरालाको जीवनीको एउटा कुरा याद आयो – बीपीले आफ्नो पीएलाई महंगो कलम बोकिस् कहाँबाट किनिस् तेरो यत्रो कलम किन्ने हैसियत त छैन भनी पीएलाई निकालिदिएका थिए रे। यहाँ अहिले त लाखौं जनता सडकमा भ्रष्टाचार भयो भनी निस्किँदा पनि सरकार कानमा तेल हालेर बसेको छ। अनि न भ्रष्टाचार गर्छु न गर्न दिन्छु भनी भाषण मात्र दिने सरकारसँग नेपाली जनताले समाजवादको के आश गरुन् ? के देशको विकास होला भनी आशा र भरोसा गर्नु?

अहिले हेर्दा लाग्छ राणा शासन फेरि पनि आएको हो कि? स्वतन्त्र अभिव्यक्ति राख्न नपाउने अवस्था आएको छ समाजबादको नाममा। सत्याग्रह बस्नेलाई पुलिसले जबरजस्ती गलहत्याएको छ। यो समाजवादको नाममा अतिवादको ज्वलन्त उदाहरण हो। यस्ता शासकबाट समृद्ध नेपाल र सुखी नेपालीको नारा सुन्दा कानलाई भने आनन्द मिलेको छ, आँखा बन्द गरेर सुन्नलाई। यस्तै हो भने अबको ३ वर्षमा देशमा कायापलट भएर छोड्ने पक्का छ।

यहाँ हनुमान र हनुमान भक्तहरुलाई भने समाजवाद आएको महसूस जनताले गरेका छन् किनकि सबै अधिकार पदमा उनीहरुको बोलवाला र पहुँच समान हिसाबले मिलेको छ। बाँकी जनता भाडमा जाउन् भन्ने हिसाबले अघि बढेको शासकप्रति जनताले अहिलेका प्रधानमन्त्रीलाई पहिला ९ महीना शासन चलाएझै चलाउँछन भनेर झन्डै दुइतिहाइ मत दिएर पठाएको परिणाम २ बर्षमैं देखिसके।

हरेक सत्य कुरालाई दबाएर कहिलेसम्म झुठको खेती गरी टिक्ने? फेरि जनतामा नजाने हो भने त अहिलेको समाजवाद विश्वको उत्कृष्ट समाजवादको रूपमा चित्रण गरी आसेपासेको मात्र गुण गान सुन्न तल्लीन प्रधानमन्त्रीको रवैया जनतालाई सम्झिन गाह्रो न होला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *