डा महतको पुस्तक ‘नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा’ प्रकाशित

काठमाडौं। पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतद्वारा लिखित ‘नेपालको अर्थराजनीतिःपरीक्षण, कम्पन र आशा’ पुस्तक प्रकाशित भएको छ । केही महिनाअघि सार्वजनिक गरिएको डा महतको ‘ट्रियल्स, ट्रेमोर्स एण्ड होपः पोलिटिकल इकोनोमी अफ कन्टेम्पोररी नेपाल’ नामक अङ्ग्रेजी पुस्तकलाई नेपाली भाषामा प्रकाशित गरिएको हो । पत्रकार गजेन्द्र विष्टले उक्त पुस्तकलाई नेपालीमा अनुवाद गरेका हुन्।
यस पुस्तकको अङ्ग्रेजी संस्करणलाई भारतको एड्रोइट पब्लिसर्सले प्रकाशनमा ल्याएको थियो । पुस्तकलाई नेपालीमा प्रकाशित गरी नेपाली पाठकको पहुँचसम्म पुर्याइदिएकामा लेखक डा महतले मकालु प्रकाशन गृहलाई धन्यवाद दिए। प्रकाशन गृहका अध्यक्ष वासुदेव ढकालले पूर्व अर्थमन्त्री तथा काँग्रेसका नेता डा महतको पुस्तक प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्दै कोभिडको महामारी र प्रतिकूलताबीच पुस्तकलाई सर्वसाधारणको पहुँचमा पुर्याइने बताए।
पुस्तकमा विभिन्न १२ वटा अध्याय समावेश गरिएको छ । समाजवादी दृष्टिकोणको उत्पत्ति, बदलिँदो विश्व परिस्थितिमा यसको विकास र आधुनिक विश्वका विभिन्न प्रजातान्त्रिक तथा साम्यवादी मुलुकमा अवलम्बन गरिएका विभिन्न पक्षका बारेमा पुस्तकमा चर्चा गरिएको छ । पुस्तकमा नेपालको समकालीन अर्थराजनीतिका विविध पक्षहरुको यथार्थ र तथ्यका आधारमा समीक्षा एवं विश्लेषण गर्ने प्रयास गरिएको छ । विगतका विभिन्न राजनीतिक परीक्षण तथा अन्य घट्नाक्रमलाई पनि समेटिएको छ ।
Facebook Comment