संस्मरण : बासुले हेर्न भनी बन्दुक मागे अनि साथीको हत्या गरे
बहुचर्चित झापा काण्ड एक प्रकारबाट समाप्तप्राय भइसकेजस्तै भए पनि यसको धंगधङ्गी भने पूर्वका केही पाहाडी इलाकामा छँदै थियो । झापा काण्डको उद्गमस्थल आठराई नै भएको हुँदा उग्र वामपन्थी कम्युनिष्टको प्रभाव ताप्लेजुङ्ग, तेह्रथुम, धनकुटा र सँखुवासभाका ग्रामिण इलाकामा राम्रैसँग परेको थियो ।
यसै सन्दर्भमा २०३३ सालमा चैनपुरमा उग्रवादी कम्युनिस्ट समूहले सन्चालन गरेको वर्ग शत्रु सफाया अभियान अन्तर्गतको कार्यक्रमकै निरन्तरता स्वरुप पूर्वी पाहाडका धनाड्य परिवारका युवा व्यक्ति गोपाल श्रेष्ठको दुरदराजको जंगलमा चैनपुरकै उग्र कम्युनिस्ट समूहका वासु शाक्यले गोली हानी निर्ममतापूर्वक हत्या गरेका थिए।
यो हत्याकाण्ड पूर्वी पहाडमा पञ्चायती शासनविरुद्ध ठूलो चुनौती बन्यो। गोपाल श्रेष्ठ चैनपुरका ज्यादै धनाढ्य व्यक्ति शंकरमान श्रेष्ठ र भोलामान श्रेष्ठ परिवारका वारिसे व्यक्ति साथै चैनपुर गाउँ पन्चायतका वार्ड सदस्य पनि थिए भने उनलाई गोली ठोक्ने वासु शाक्य पनि चैनपुर बजारकै शाक्य परिवारका व्यक्ति थिए।
दुवैजना चैनपुर हाई स्कुलमा पढ्दाका साथी साथी पनि रहेछन्। राजनीति कति क्रुर निर्दयी हुन्छ यसले सहपाठी र नातेदार पनि भन्दैन भन्ने कुरालाई चतिरार्थ गरेको यो घटना पूर्वी पहाडका लागि एउटा सनसनीपूर्ण घटनाका रुपमा प्रस्तुत भएको थियो त्यो बेला।
व्यक्तिगत लगाइं झगडामा मान्छे काटिनु, मारिनु, मेलाबजारमा झगडा हुँदा मान्छेको मृत्यु हुनु अलग कुरा थियो तर राजनीतिकै कारण मान्छे मारियो भने त्यो ठूलो विषय हुन्थ्यो। अहिलेजस्तो जसले जसलाई मारे पनि शक्तिशालीहरुलाई केही नहुने अराजक स्थिति आइसकेको थिएन त्योबेला।
गोपाल श्रेष्ठ गाउँको आफ्नो खेतीमा गई केही दिन उतै बसेर काम सकेर घर फर्कँदै रहेछन्। सायद उनको हत्या गर्ने योजना पहिले नै बनेको थियो होला। यसबारे बासु शाक्यले कतै केही खुलासा गरेका छन् कि मलाइ थाहा भएन । तर, त्यो दिन एउटा साथीको विश्वास लिएर शाक्यले आफ्नै साथीमाथि प्रहार गरेका रहेछन्।
पहाडको ठाउँ जंगलको बाटो हिड्नु पर्ने वाध्यता नै थियो। गोपाल हिँड्ने बाटो पत्ता लगाएर बासु शाक्य जंगलमा ढुकी बसेका रहेछन्। सुरक्षा चुनौती नै पनि थियो होला वा जंगली जनावरको डरबाट बच्न पनि हुनसक्छ गोपालले आफूसँग एउटा बन्दुक बोक्ने गरेका रहेछन्। पहाडतिर दौरा सुरुवाल लगाइसकेपछि पटुकीमा खुकुरी भिरेर हिड्ने त त्यसबेलाको सामान्य चलन नै थियो।
गोपाल भने भरुवा बन्दुक बोकेर हिड्दा रहेछन् बरुद भरेर। साथीको साइनोको आडमा गोपाललाई विश्वासमा लिई गोपालले आफ्नो सुरक्षाको लागि बोकेको बन्दुक हेर्न मनलाग्यो भनी वासु शाक्यले बन्दुक आफनो हात पारेर गोपाल श्रेष्ठलाई उनकै बन्दुकले हत्या गरिदिएका रहेछन् बासु शाक्यले । साथीको हत्यापछि वासु शाक्य फरार भए।
२०१९ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागू गर्दा नै ६ वर्ष पुगेपछि निर्दलीय व्यवस्थालाई निरन्तरता दिने वा नदिने भनी जनतासंग राय लिइनेछ भन्ने बचन दिएका थिए। सोहीबमोजिम २०२५ सालमा राजाले निर्दलीय पञ्चायतलाई नै निरन्तरता दिने कि यसको विकल्पमा अर्को कुनै ब्यबस्था हुन सक्छ भनेर त्यसबेलाको संसद राष्ट्रिय पञ्चायतलाई निर्णय लिन अधिकार दिए।
शाक्य त भागे र यो घटनापछि पञ्च र पञ्चायती व्यबस्थाको जिम्मेवारी सम्हाल्नेहरु भने मुस्किलमा परे संखुवासभा र पुर्वी पहाडमा । यस घटनाले चैनपुरमा ठूलै आतंकको माहोल श्रृजना गरिदियो। सरकार सन्चालनको जिम्मा लिएर बसेका व्यक्तिहरुको कतिपय गैह्र जिम्मेवारी कृयाकलापले गर्दा अर्थात आफ्नो काम प्रति पूर्णरुपमा समर्पित नहुनाले गर्दा यस्ता घटनाहरु हुनेगरेको निष्कर्ष निकाल्ने पञ्चहरु पनि थिए।
यो हत्याकाण्ड पनि यस्तै लापरबाहीकै कारणले गर्दा हुन सम्भव भएको थियो भन्ने कुराले ठूलो चर्चा पायो त्यसबेला । वास्तवमा त्यसवेला नेपालको सुदूर पूर्वी पाहाडी इलाकामा बढ्दै गएको अर्ध शिक्षित बेरोजगार युवाहरुको जमातलाई माओ विचारधाराबाट प्रभावित एवं प्रशिक्षित केही शिक्षित समूहबाट योजनाबद्ध रुपमा परिचालित गरिएको छ भन्ने सत्य तथ्य प्रमाणहरु सहितका घटनाहरु उजागर भइसकेको र कतिपय स्थानमा सरकारले कारबाही गरी त्यस्ता गतिबिधिलाई निस्तेज पारेको पनि थियो।
यसै सिलसिलामा चैनपुर क्षेत्रमा वासु शाक्यको नेतृत्वमा उग्रवादी माओवादी एउटा समूह सकृय छ भन्ने जानकारी स्थानीय प्रशासनलाई थियो । तर प्रशासनले समयमा सचेतता नअपनाउँदा सो घटना गराउन कम्युनिष्टहरु सफल भएका थिए भनेर कमजोरी केलाउने प्रयास पनि भएको थियो ऊ बेला।
र, यो घटना लगतै सो क्षेत्रमा सरकारले थप सुरक्षाकर्मीहरु परिचालित गरेका कारण थप घटनाहरु भने हुन सकेनन्। बेला बखत आगोको झिल्कोका रुपमा देखिने यस्ता घटनाहरुले देशमा भित्र भित्रै वामपन्थी राजनीति सकृय हुँदै गएको र वाहिरी सतहमा पनि जनपक्षीय राजनीतिको नाममा सर्वसाधारण साथै शिक्षक एवं विद्यार्थीहरुमा पनि प्रगतिशिल समूह भनि कम्युनिस्ट विचाधाराले प्रभाव पार्दै लगेको थियो। अर्कोतर्फ काँग्रेस समर्थक सर्वसाधारण जनता तथा शिक्षक एवँ विद्यार्थीहरु प्रजातन्त्रवादी समुह भनी परोक्षरुपबाट काँग्रेस बिचारधारालाई फैलाइरहेका थिए।
२०१९ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागू गर्दा नै ६ वर्ष पुगेपछि निर्दलीय व्यवस्थालाई निरन्तरता दिने वा नदिने भनी जनतासंग राय लिइनेछ भन्ने बचन दिएका थिए। सोहीबमोजिम २०२५ सालमा राजाले निर्दलीय पञ्चायतलाई नै निरन्तरता दिने कि यसको विकल्पमा अर्को कुनै ब्यबस्था हुन सक्छ भनेर त्यसबेलाको संसद राष्ट्रिय पञ्चायतलाई निर्णय लिन अधिकार दिए।
त्यसबेलाको राष्ट्रिय पञ्चायतले निर्दलीय पञ्चायती व्यवस्थालाई नै निर्विकल्प व्यवस्था भनी यसैलाई नै निरन्तरता दिने गरी सर्वसम्मतिले निर्णय लियो । यसपछि पन्चायती व्यवस्थालाई निर्विकल्प व्यवस्था भन्न थालियो ।
त्यसपछि व्यवस्थालाई झन कडाइका साथ लागु गर्न थालियो ।व्यवस्था मजवुत हुँदै गएको महसुस गरी पन्चायती व्यवस्था उदार पनि छ भन्ने संकेतस्वरुप २०२५ सालमा वी.पी.कोइरालालाई राजाले जेल मुक्त गरिदिए । जेल मुक्त भएको केही समयपछि नै वीपी भारतमा स्वनिर्वासनमा गए।
सो समयमा सवै राजनीति पार्टीहरु प्रतिबन्धित भएका थिए तर कलेज र विश्वविद्यालयमा आ–आफ्नो राजनीतिक विचारधाराबमोजिमका विद्यार्थीहरुका गुटहरु भने देखिन्थे । वामपन्थी खेमाका विद्यार्थीहरु आफूलाई प्रगतिशील पक्षका भन्थे भने नेपाली काँग्रेस पक्षकाहरु आफूलाई प्रजातन्त्रवादी समूहका भन्थे।
पञ्चायत समर्थक विद्यार्थीहरुको समूहलाई विद्यर्थी मण्डल भनिन्थ्यो । त्यस समयमा एउटा मात्र विश्वविद्यालय थियो भने कलेज पनि थोरै थिए।काठमाण्डूमा ६ वटा कलेज थिए भने राजधानी बाहिर १०–१२ वटा कलेज थिए होलान् ।
कलेज र युनिभर्सिटीमा हुने विद्यार्थी युनियनको चुनावमा भएको हार जितबाट समग्र देशको पार्टीगत राज नीति अबस्थाको आँकलन गरिन्थो । २०२४–२५ साल देखि नेपालको पूर्वी पाहाड खासगरी तेह्रथुम आठराईमा देखा पर्नथालेको वामपन्थी राजनीतिको प्रभाव द्रुतगतिले फैलदै गएर २०२८ सालसम्ममा झापा काण्डसम्म गर्न आइपुगेपछि झापा काण्डलाई सरकारले निर्ममतापुर्वक दमन गरेको थियो।
२०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहण भएपछि राजा वीरेन्द्रको निर्दलीय पन्चायत व्यवस्थाप्रति राजा महेन्द्रको जस्तो स्पस्ट अवधारणा भने बनी नसकेको भन्ने राजनीति वृत्तमा चर्चा हुने गरेको सुनिन्थ्यो।
पन्चायती घेराले राजा वीरेन्द्रलाई पन्चायती व्यवस्थालाई पूर्णरुपमा आत्मासात गराउन भगिरथ प्रयत्न गरिरहेको थियो । पन्चायत व्यवस्थाका माहारथीहरु यो व्यवस्थामा राजाको भुमिकालाई लिएर दुई धारमा बिभक्त हुन पुगे । एउटा पक्षका पन्चहरु राजाको नेतृत्व गौणरुपमा हुनुपर्छ भन्ने पक्षमा थिए भने अर्को पक्षका पन्चहरु राजाको सकृय नेतृत्व हुनुपर्छ भन्ने चाहान्थे ।
बाह्य संसारमा राजा बीरेन्द्रको छवि राम्रै बन्दै गएको भए पनि पन्चहरुको आपसी खिचातानीले गर्दा व्यवस्थाप्रति सर्वसाधारण जनतामा भने नैराश्यता बढ्दै गएको पाइन्थ्यो । पञ्चहरुबीच खिचातानी व्यापक हुन थाल्दा पञ्चायतविरोधी भूमिगत पार्टीहरुलाई विद्रोहका घटनाहरु बढाउन मद्धत पुगेको थियो । यही सेरोफेरोमा बासु शाक्यले आफ्नै साथीको हत्या गरेको घटना पनि त्यो बेला चर्चामा थियो ।
२०३३ साल पुस महिनामा वीपी कोइराला भारतबाट बिनासर्त नेपाल फर्केपछि उनलाई सरकारले पक्राउ गरी थुनामा राखी विशेष अदालतमा मुद्दा चलायो । यो समयमा अनुदारवादी खेमाका पन्चहरुले वीपीलाई फाँसीको सजाय दिनुपर्छ भनेर नारा जुलुस गर्नसम्म पनि भ्याएका थिए ।
तर दिन परदिन पन्चायत व्यबस्था बिरुद्ध हत्या हिँसाका घटनाहरुले निरन्तरता पाइरहनुले गर्दा राजा वीरेन्द्रले स्वविवेक प्रयोग गरी २०३६ सालमा ‘निर्दलीय पन्चायती व्यवस्था र बहुदलीय व्यवस्था’ मध्ये एक छान्ने भनी जनमत सँग्रह गराइयो ।
जनमत संग्रह गर्ने घोषणा पश्चात सबै प्रकारका राजनैतिक व्यक्तिहरुलाई लागेका राजनैतिक अपराध भनिएका सबै मुद्दाहरु सरकारले फिर्ता लिई आममाफी दिएको थियो।
जनमत संग्रहको परिणाम पन्चायतकै पक्षमा आए पनि बीसलाख नेपालीले पन्चायत व्यवस्थाको बिपक्षमा आफ्नो मत जाहेर गरेका थिए । यो सँख्याले बहूदलवादीहरुका लागि ठूलो महत्व राख्थ्यो।
२०१९ सालमा पन्चायत व्यवस्थ लागु गरिएपछि २०३५ सालसम्म पन्चायत व्यवस्थाको बिरोधमा भए गरेका बिभिन्न खाले राजनैतिक गतिविधिको परिणाम थियो २०३६ सालको जनमत संग्रह । यो सोह्र बर्षको अबधिमा पन्चायत व्यवस्थाले भोगेका साना ठुला थुप्रै चोटहरु मध्ये चैनपुरमा भएको गोपाल श्रेष्ठको हत्या काण्ड पनि एउटा चोट थियो।
हुन त निर्दलीय व्यवस्था समाप्त भैसकेको ३१ बर्ष बितिसकेको मात्र होइन राजतन्त्र नै समाप्त भएको पनि ११ बर्ष भइसकेको अबस्थामा यस्ता घटनाको के नै महत्व हुन्छ होला र ! तर आज हामीले स्वीकार गरेको राजनीति व्यवस्थाको औचित्यलाई पुष्टि गर्न जनमत संग्रह लिने हो भने ५१—४९ हुने सम्भावनालाई भने नकार्न नसकिने अबस्था बन्दै गएको छ।
किनकि व्यबस्था फेरियो, शासक फरिएका छन् तर शासन शैली उस्तै छ, बेथिति र विसंगति समयअनुसार बग्रेल्ती छन्। खोक्रो पेटले गणतन्त्रको सारङ्गी कहिलेसम्म बजिरहनसक्छ र ? आखिर शासन जोगाउने वा भत्काइदिने त जनता नै हुन्।
Facebook Comment