५३ प्रतिशत काेराेना संक्रमित उपत्यकामा
काठमाडौं। एक महिनायत लगातार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आइतबार मात्रै देशभरका संक्रमितमध्ये ५३।३ प्रतिशत उपत्यकामा मात्र रहेका छन्। गत २४ घण्टामा नयाँ संक्रमित १५ सय ७३ रहेकोमा उपत्यकामा ८ सय ३७ जना छन्।
यसअघि पनि दैनिक कुल संक्रमितमध्ये उपत्यकामा ५० प्रतिशतको हाराहारीमा संक्रमित हुने गरेका थिए। उपत्यकाकबाहिर सबैभन्दा बढी मोरङमा १ सय ५२, चितवनमा ८३ र सुर्खेतमा ७६ र कैलालीमा ५६ जना संक्रमित छन्।
तथ्यांकअनुसार शनिबार उपत्यकामा ७ सय २४ जना र शुक्रबार ५ सय ५५ जना संक्रमित थिए। उपत्यकासहित आइतबार २४ घण्टाभित्र १५ सय ७३ जना नयाँ संक्रमित थप भएका हुन्। थपसहित नेपालमा कुल संक्रमित संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। तीमध्ये ४ सय ७७ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो।
कुल संक्रमितमध्येमा ०।६५ प्रतिशतको मृत्यु भएको छ। संक्रमितमध्ये हालसम्म ५३ हजार ८ सय ९८ जना निको भइसकेका छन्। हालदेशभरिमा १९ हजार १९ जना संक्रमित छन्। त्यसमा गम्भीर समस्या भएका २ सय २५ जनाको आइसियु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
उपत्यकाबाहिर बढी संक्रमणको जोखिममा रहेका जिल्लामा मोरङ, रुपन्देही, चितवन र सुर्खेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।
Facebook Comment