पौडेल समूहले देउवालाई भन्योः सात दिनभित्र सच्चिनुहोस् (ज्ञापन पत्रसहित)
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले एक साताभत्रि सच्चिन अल्टिमेटम दिएको छ।
विधानसम्मत् उठाएको विषयलाई समाधान गर्न गम्भिरता र तदारुकता नदेखाए संघर्ष र विरोध कार्यक्रम गर्ने पौडेल समूहले चेतावनी दिएको छ। सोमबार पौडेल समूहले सभापति देउवाले विधानविपरित गरेका गतिविधिको सूचीसहितको विरेध पत्र बुझाएको छ। सो विरोध पत्रमा सभापति देउवालाई सच्चिन समय दिइएको हो।
सोमबार पार्टी कार्यालय सानेपा पुगेर पौडेल समूहका नेताहरुले पार्टी कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेललाई विरोधपत्र बुझाएका छन्। सोमबार दर्ता गरिएको विरोधपत्रमा असोज १९ गते अघि आफ्ना मागको सुनुवाई हुनुपर्ने माग राखिएको छ। सभापति देउवाले बोलाएको केन्द्रीय समिति बैठकको मिति असोज १९ लाई समयसीमा बनाएर पौडेल पक्षले आफ्नो माग दर्ता गराएको हो। विभाग गठनमा आफ्नो पक्षको असहमति हुँदाहुदै हचुवाका भरमा पद र प्रलोभन देखाउदै विभागलाई ४७ पुर्याइएको पौडेल पक्षका नेता नविन्द्रराज जोशीले बताए।
महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग र अन्य संरचनामा नियुक्ति गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन भएकोे नेता जोशीको भनाइ छ। देउवा पक्षले महाधिवेशन प्रभावित गर्न खोज्नुले केवल पार्टी कब्जा गर्ने नियतले भएको पौडेल पक्षका अर्का नेता दीपक गिरीले बताए। समायोजन समयमा नगर्ने र महाधिवेशन पछाडी धकेल्ने गम्भीर षड्यन्त्र भएको भन्दै पौडेल समूहले विरोध पत्र बुझाएको हो।
देउवाको कार्यशैलीले लोकतान्त्रिक पार्टीमा पार्टीको परम्परा र अनुभवबाट खारिनुपर्नेमा नेतृत्व अनियन्त्रित हुँदै जानुले सिंगो पार्टीको भविष्य र भाग्य धरापमा पर्न जाने प्रबल सम्भावना भएको आशंका केन्द्रिय सदस्य डा चन्द्र भण्डारीले आंशका व्यक्त गरे।
सरकारले जनहित गरेका क्रियाकलापको संसद र सदनमा विरोध गर्नुको साटो उल्दै भाग खोज्दै पार्टीलाई कमजोर बनाएको केन्द्रिय सदस्य कल्याण गुरुङको आरोप छ।
Facebook Comment